भट्भटे घरको पिँढीमा बसी बाबुको कुरा सम्झेर झस्किँदैछ ।
ए भात भतुवाँ ! ए सङगारे ! अझै मुन्टी राखेछस् त्यो कालरात्रीको पछ्यौरीमा ।
बाबुको अनगिन्ती अपशब्द सुनेपछि ! सिरकले मुख ढाक्दै, सूर्यको लाली पर्खंदै, अँगेनामा पाकेको भात थालमा बजार्दै । आमाबुबाको कामप्रति कुनै समन्वय नगरी बाबुको पसिना छिनभरको हाँसो सम्झेर । आमाको थैलाबाट हरियो नोट लिई साथीहरूको लैलैमा चिउरा, छोइला, अय्लाको स्वादले आज उसको पेट पोल्दैछ ।
हैन हो ! अबको बाँकी जिन्दगी पनि यसैगरि आँगन हेरेर बिताउने बिचार हो कि के हो ?
गाउँमा खेतालाको कमी छ ! यसो कोदाली समाए त दुई चार पैसा आउँथ्यो ! घर खर्चमा टेवा पुग्थ्यो ।
हैन ! म एक्लैले बच्चाको स्कुल फि, यो घरखर्च अनि यो फुस फुस उडाउने चुरोट खर्च ! म कतिञ्जेल सम्हालौंला हँ?
पुतली सधैंझैँ आफ्नो सल्लाहमा नआएका भट्भटे श्रीमान् माथि रीस पोख्दै बिहानको भान्छा सम्हाल्छिन् ।
भट्भटेलाई आज निकै पछुतो लागिरहेछ । साथीभाइ सबैले छाडेका छन् । बादलको सिरकमुनी ठूलाठूला सपनामा बरालिँदै साथीहरूको लहलहमा मुस्कुराएको उसको हाँसो ! आज डाँडाको पहराहरूले फिर्ता गर्न छाडिसकेका छन् । गोरेटोमा ओहोर–दोहोर गर्दा लगाएका छालाको बुट जुत्ता डाँडामा पहिरो गए जस्तै च्यातिसकेको छ । छोराछोरीको हेराईमा आफूलाई अपराधी जस्तै लाग्दै छ ।
सँगैका दौतरी !
पल्ला घरे साइलाले आफ्नो पढाइको कारण सहरमा सरकारी नोकरी पायो रे ! बुढेसकालमा पेन्सनले उसको जिन्दगी गुजारा हुने भयो रे ! गाउँभरि शुभकामना आदानप्रदान हुँदैछ । पुतलीको सल्लाह भट्भटेलाई बर्खा मासामा लामखुट्टेको आवाज जस्तै लाग्थ्यो । पारिवारिक जिन्दगी कारागारको जन्जिर जस्तै लाग्दथ्यो । मानौ जिन्दगीमा उसले निकै ठूलो फड्को मार्दै थियो ।
आज बाबुको अधियाँ बिर्सदा अलङ्कारको बिजनमा आफै जल्दै छ । पुतलीको गुनासो अँधेरी रातमा जति बादल फाटौलाजस्तै गरी चम्किए तापनि, जूनको बुट्टाले पुतलीको पछ्यौरीमा बास लिए तापनि, समयको उत्तराधिकारी ऊ बन्न नसक्दा, आज उसको शिरपोस तातिरहेको छ । उसको आफ्नो मन्दबुद्धिको कारण जिन्दगीको थकाई कुन चौतारीमा बिसाउने हो ? ऊ आज आफ्नो जिन्दगीको जन्ती आफै बन्दै छ । आफ्नो अनियत्रित ढङ्गले ।
- महालक्ष्मी–३ इमाडोल, ललितपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment