Friday, January 24, 2025

लघुकथा (अङ्क २० मा प्रकाशित)


'हे
ल्लो सरिता सुत्यौ र ?'

'भरखर पल्टेको निदाएको छैन । हजुर, भन्नुस् न किन यति बेला फोन गर्नु भयो र ? हजुरलाई सन्चै त छ ? खाना खाइसक्नुभा हो?' मोबाइलमा श्रीमान्‌को थाकेको उदास आवाज सुनेर भएभरको जिज्ञासा एकैचोटि पोख्छिन् सरिता ।

'सरिता म त जागिर सागिर छोडेर घर पो आउँकी जस्तो लाग्यो । गरिखाने बाटो पनि हुन्छ देशको सेवा पनि हुन्छ भनेर पुलिसको जागिर खाको, हेर्नु न मलाई त निल्नु न ओकल्नु जस्तो पो भो त । छ महिनादेखि हाकिमको घरको नोकर पो भैरा’छु । बिहान झिसमिसेमा उठेर सरसफाइ गर्ने, जुठो भाँडा माझ्ने, हाकिमको खुट्टा मिच्ने जुत्ता पालिस गर्ने देखि लिएर  आधिरातसम्म आँखाले देख्या जति काम गरिरहनु पर्‍या छ । 

यतिसम्म त ठिकै छ मन त्यति बेला दुख्छ हाकिमकी श्रीमतीको सारी पेटिकोट समेत धुनु पर्छ । घरमा तिमी मलाई एकजोर मोजा पनि धुन दिन्नौ । यति गरेर पनि जस दिने हुन र ? हामी त मान्छे नै होइन जस्तो व्यवहार गर्छन्, अपशब्द बोल्छन् । गल्ती गर्नै पर्दैन गाली खानु पर्छ । मलाइ त धैर्य गर्नै गाह्रो भैसक्यो, घरमा साग र सिस्नु मात्र खानु परे पनि जागिर छोडुं जस्तो लाग्यो ।’

श्रीमान्‌को कुरा सुनेर सरिता पनि भकानिन्छिन् । तैपनि आफूलाई सम्हाल्दै भन्छिन– 'कति दुःख गरेर बल्ल पाएको सरकारी जागिर त्यसै छोड्नु हुन्छ र भन्या ? एक्लै बस्न मलाई मात्र कहाँ मन लाग्या छ र ? हजुरले भन्नुभा होइन दुईटा छोरालाई राम्ररी पढाउनु पर्छ, लामो बिरामी भएर बुबा बित्दाको ऋण तिर्नु पर्छ भनेर । खेतीले खान पुग्ने होइन ……..देशकाल सधैं एकनास हुँदैन कर्मचारीलाई घरको काममा लगाउन पाईंदैन भनेर बोल्ने मान्छे पनि त कोही आउला नि कुनै दिन । हाम्रो पनि दिन फिर्ला, सधैं  हजुरको ड्युटी त्यहिं मात्र पनि त नहोला । म हजुरलाई यसै गर्नुस् भन्न सक्दिन जे निर्णय लिंदा पनि घर र बच्चाहरूको भविष्यलाई ख्याल गरेर निर्णय लिनुस् । अरु म के भनूँ ?’

'हुन्छ सरिता ! बच्चाहरुको भविष्यको लागि त यति दुःख गरिराछु नि आफ्नो पेट मात्र पाल्नलाई भए किन यसरी बस्थें ? लौ ढिलो भयो तिमी पनि थाकेका होलाउ सुत बाई !

हवस्, हजुर पनि थाक्नु भो होला, पीर नगर्नुस्, आमालाई पनि जाती नै छ अहिले । सुत्नू होला । बाई……….!’

- भक्तपुर


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment