Friday, January 24, 2025

लघुकथा (अङ्क २० मा प्रकाशित)


"सात, सात जना छोराछोरी कसरी हुर्काए हुँला ? आफ्नो नाउँमा केही थिएन, ऐलानी जग्गामा सानो कटेरो हालेर बसेँ । मेलापात, घाँसदाउरा, दुःख र सङ्घर्ष त कति हो कति ?’’ पुतलीले कमलीसँग दुःख बिसाई ।

कमली र पुतली सानैदेखिका मिल्ने साथी थिए । सँगै पढे, सँगै बढे । बिहेपछि उनीहरूको भेट भएको थिएन । लामो समयपछि आज संयोगले भेट भएको अवस्थामा उनीहरू दुःख सुख साट्दै थिए ।

पुतलीका कुरा सुनेपछि कमलीले उसको घाउमा मलहम लगाउने प्रयास गरी, ’’घरका लोग्ने मानिसले स्वास्नीको दुःख नबुझेपछि आइमाईलाई बाँच्नै गाह्रो हुने रहेछ ।’’

’’आफ्नो त लोग्ने भन्नु कि शत्रु ? घरको केही मतलब राख्दैनथे । आफैं कमाउने आफैं रमाउने पाराका थिए । दिउँसै झ्याप हुने, कानो गोरुलाई औंसी न पूर्णे भनेजस्तो सम्झाएको नलाग्ने थियो । तिनको बानीले गर्दा नि होला, मलाई सबैले हेप्थे ।’’

कमलीले जिज्ञासा राखी, ’’यसरी बिग्रेका लोग्नेलाई तैँले विदेश पठाइनस् ? पसिना बगाउनु परेको भए चेत खुल्थ्यो नि !’’

विगत सम्झिदै उसले भनी, ’’छोराछोरी पनि सानै थिए । घरमा ऋण लागेर हैरान भएँ । यसै ऋण, उसै ऋण भन्ने लाग्यो अनि ऋण खोजेरै उनलाई कुवेत पठाएँ ।’’

कमलीले खुसी भएर भनी, ’’बुझकी नै रहेछन् त ! कमाइ पनि त पठाए होलान् ?’’

’’लोग्नेसँगको विछोड भए पनि केही वर्ष त खर्च सजिलै भयो । केटाकेटी पनि अलअलि पढ्न पाए तर फर्किएपछि उहीँ पुरानै चाला ! सुध्रिने भएनन् । म के गरौँ ?’’

पुतलीको व्यथा सुनेर कमलीको मन भारी भयो । शब्दले सम्झाउन उसले हरतरहले प्रयास गरी ।

पुतलीले भनी, ’’ल, बिदा मागेँ । मलाई पनि अस्पताल पुग्नु छ । एउटा धनाढ्य व्यक्ति मृगौला फेल भएर आइसियूमा छ रे !’’

उसले आत्तिएर सोधी, ’’के, किन ?’’

मलिन भएर पुतलीले भनी, ’’मलाई बाँच्नका लागि दुईवटा किडनी किन चाहियो र ? एउटै भए पुगिहाल्छ नि !’’

- गैंडाकोट ४, नवलपुर

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment