Thursday, January 23, 2025

लघुकथा (अङ्क २० मा प्रकाशित)


रिताले धेरै दिनदेखि केही लेख्ने प्रयास गरिरहेकी थिइन् तर लेख्न सकिरहेकी थिइनन् । उनलाई साहित्यकार हुन रहर लागेको थियो ! उनका छोराछोरी हुर्किसकेका थिए । उनका पति कुनै सरकारी कार्यालयको ठूलै हाकिम थिए ! पुर्ख्यौली धन पनि निकै थियो । त्योभन्दा बढी उनका हाकिम पतिले कमाएका थिए । त्यसैले उनलाई नपुग्दो केही थिएन ।

उनका केही साथीहरू कवि, लेखक थिए । प्रसिद्धि कमाइरहेका थिए । जताततै चिनिएका थिए । सरिताको यत्रोविधि सम्पत्ति भएर पनि उनलाई कसैले चिन्दैनथे । उनलाई पर्नु पीर परेको थियो । जताततै चिनिन मन थियो । फिल्म क्षेत्रमा लाग्न रुपले साथ दिएन । गायनमा लाग्न पनि गलाले साथ दिएन । उनलाई जसरी पनि चर्चित हुन रहर लागेको थियो । चर्चित हुने सबैभन्दा सजिलो बाटो उनलाई साहित्य नै लाग्यो । तर ठ्याम्मै केही पनि लेख्न सकेकी थिइनन् । उनले के लेख्ने र कसरी लेख्ने भन्ने भेउ पाउन पनि सकेकी थिइनन् ।

धेरैदिन भैसक्यो, उनले केही लेख्नै सकिनन् । उनका साथी लेखकहरु पुरस्कार पाएको फोटो फेसबुकमा हाल्थे । नयाँ किताब विमोचन गरेको फोटो फेसबुकमा हाल्थे । यो देखेर उनको मन चसक्क हुन्थ्यो । उनी चिन्ताले ग्रस्त थिइन् । उनलाई खाना पनि रुच्न छोडेको थियो । उनको अवस्थाले उनका पतिलाई पनि चिन्तित बनायो ।

साहित्यको किताब निकाल्न मन लागेको कुरा उनले पतिलाई भनिन् । उनका पतिले आश्चर्य प्रकट गर्दै भने, “किताब निकाल्न त पहिले लेख्नु परो नि डियर !’’

“अचेल किताब निकाल्न लेख्नै पर्दैन नि बुढा ! पैसा भएपछि लेखाउन पाइहालिन्छ नि !’’ उनले युद्ध जितेको सिपाही झैं प्रफुल्ल हुँदै भनिन् ।’’

“ठीक छ त उसो भए ।’’ उनको योजनामा उनका पति पनि सहमत भए ।

“धन्यवाद प्यारो बुढा ! मेरो नाउँमा उपन्यास लेखिदिनु भनेर म आजै भूत लेखकलाई दुई लाखको चेक दिन्छु ।’’

सरिताको अनुहार खुसीले धपक्क बल्यो ।

- वागमती ११, कर्मैया, सर्लाही

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment