'ए तँ पहिला आफ्नो ब्यवहार सुधार । म घर आएको बेला कहिल्यै हाँसेर मीठो बोलेकी छेस् ?’
कर्कस ध्वनिसहित दाजुले भाउजूतिर औंला तेर्स्याउनुभयो ।
'विहे गरेर आएपछि मलाई कहिल्यै सुख दियौ ?’ भाउजूले उसैगरी प्रतिउत्तर लाउनुभयो ।
दाजुभाउजूको दोहोरो वाकयुद्धमा म र मेरी आमा साक्षी थियौं । तीनदशक वैवाहिक जीवनको समीक्षा दाजुभाउजू भनाभन गरेर गरिरहेका थिए । सम्बन्धको असन्तुष्टीको मिसाइल नजिकै बसेर एकअर्काको मन छेदन हुने गरी हानाहान गर्दैथे । मलाई रिंगटा लाग्यो, दिमाग उस्तै शून्यशून्य । आमाको नयन सागर बादलले ढाकेर टिलपिलाउँदै थियो ।
आमालाई सम्झाइसकेथें 'म आएको छु, अब सब ठीक हुन्छ ।’ दाजुहरुको एक्लीबहिनी म विवादमा अभिभावकत्व लिएर उभिनु पर्दा असहज महसुस भएको थियो । दाजुको बाहिरी सम्बन्धको बारेमा बोल्नु बिना अक्सिजन सगरमाथा आरोहण गर्नु जतिक्कै कठीन कुरा थियो । आजसम्म दाजुहरुसँग ठूलो स्वरले नबोलेकी म विवाद मिलाउन कसरी सकुँला? दाजुको कर्मप्रति म शर्मिन्दा थिएँ । भाउजूको मन मष्तिष्कमा चलेको तुफानको बेग अनुभूति गरिरहेको थिएँ । भाउजूलाई शान्त गराउन नसके जिन्दगीसँगै घर उजाड हुने निश्चितप्रायः थियो ।
मैले दुबैलाई सम्झाइबुझाइ गरें । एकअर्कालाई बुझ्न अनुरोध गरें । एकअर्कालाई दोषारोपण गर्नु समस्याको समाधान होइन भन्ने कुरा बताएँ । दाजुले आजसम्मका कुराको निम्ति माफी माग्नु भो । अघिल्लो दिनसम्म छटपटी र रुवाइमा समय बिताएकी भाउजूको मनको आकाश उज्यालियो । उहाँहरुको मिलापले मेरो मन प्रफुल्लित भएर युद्ध विजेता सिपाहीजस्तो भएँ । बुवाको अभिभावकत्व धेरै मिस गरें । बुवा हुनु भएको भए दाजुभाउजूको यो तिक्तता आउने थिएन कि? अनि मैले उनीहरुको बेमेललाई मिलाउनुपर्ने थिएन कि? बुबा, आज मैले तपाईंको जिम्मेवारी पुरा गरें कि? सपनीमा भएपनि खुसुक्क भनिदिनुस् है…..।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment