Saturday, January 25, 2025

पुस्तक समीक्षा


घुकथाकार सुरेशकुमार पाण्डेको जेईको सम्झना नामक लघुकथासङ्ग्रह २०८० मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका समाजसेवी, उपचार, छुवाछुत, ठक्कर, मानसिकता लगायत विभिन्न शीर्षकका ५४ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ५४ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्‌ । 

यस सङ्ग्रहभित्रको समाजसेवी शीर्षकको पहिलो लघुकथामा ठूलो टेन्टले धेरै जग्गा ओगटेको थियो । त्यो भित्र थुप्रै कुर्सीहरु बिच्छाइएको थियो । भित्र मञ्च खुबै सजाइएको थियो । हलमा बसेका विभिन्न वर्गका महिला पुरुषहरुको निकै ठूलो सङ्ख्या थियो भनिएको छ । यस कृतिको नामसँग जुधेको जेईको सम्झना शीर्षकको लघुकथामा हाम्री आमाले आज एकासी वर्ष पूरा गरेर बयासी वर्षमा पाइला टेक्नुभयो । यो बेला आमाको स्याहारसुसार गर्ने हाम्रो कर्तव्य हुन्छ भनिएको छ । 

लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अङ्ग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । परिश्रम शीर्षकको लघुकथामा छोरा हामी कसरी गुजारा गरौंला ? अहिले जम्मा चार पाथी गहुँ भित्रियो । छ जनाको ठुलो परिवार छ । निमेक नगरी परान झुण्डाउनै गाह्रो छ भनिएको छ । यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार सुरेशकुमारले मनन गरेका छन् । महसुस शीर्षकको लघुकथामा बाबु मेरा यिनी करङ्गहरु दुख्छन् सास फेर्न मिल्दैन । सेतेले ढाडस दिदै भनेको छ । यसभित्र ५४ वटा लघुकथा गाँसिएका छन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । राजनीतिक, विसङ्गति, सामाजिक बिडम्बना, आर्थिक विपन्नता, बौद्धिक दयनियता, सांस्कृतिक विचलन जस्ता कुराहरुमा सुरेशकुमारका लघुकथाहरुले व्यङ्ग्य गरिएको छ । भाषा सरल छ । कसिएको छ । प्रस्तुुति मिठो छ । सुुरम्य छ । लघुत्व छ । सङ्क्षिप्त छ । पढ्दा निकै आनन्द आउँछ । 

सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन्‌् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नुनै पर्छ । ढोँग शीर्षकको लघुकथामा मिर्गौली घाँसको भारीसँग भिरबाट गुल्टेर आफ्नो दुःखैदुःखले भरिएको प्राण त्यागी । केही वर्षदेखि बसोबास गरेका छोराबुहारी पनि ऊ मरेको सुनेर एक छोरा अमेरिकाबाट फर्कियो, रुँदै चिच्याउँदै भनिएको छ । 

प्रवासी मजदुर शीर्षकको लघुकथामा लामो सङ्घर्षपछि बल्ल पछिल्लो महिना भिसा लाग्यो । पहाडमा भएको खेतबारी बेचेर मेनपावरलाई रकम बुझाएपछि यो कतारमा परिश्रम गर्न पाएँ भनिएको छ । आत्मीयता शीर्षककोे लघुकथामा कति छिट्टै आइपुगिस् त्यति टाढाबाट, खाना त खाइस् तैँले ? आमाले सतिशको टाउकामा हातले सुम्सुमाउँदै सोधिन् भनेर सुरेशकुमारले लेखेका छन् । उनले लेखेका लघुकथामा व्यङ्ग्यचेत प्रखर भएर आएको देखिन्छ । समाजका बिसङ्गति–असङ्गति तथा विकृति माथि व्यङ्ग्य प्रहार गर्नु प्रमुख अभिध्यय रहेको छ । प्रस्तुत लघुकथा सङ्ग्रहका देश, काल र परिस्थितिहरु समसामयिक समाज मैत्री परिवेश रहेका छन् । 

नाटक शीर्षकको लघुकथाभित्र म एउटा साहित्यिक कार्यक्रममा जाँदै थिएँ । ऊ मसँग खासै बोल्न खोजेको थिएन । उसँगै आएका एकजना मेरो पछिल्लो सिटमा बसेका थिए भनिएको छ । प्रस्तुत लघुकथासङ्ग्रहका देश, काल र परिस्थितिहरु समसामयिक दैनन्दिन जीवनको समाजमैत्री परिवेशमा आधारित रहेका छन् । सामाजिक आदर्श चेतको स्थापनाका लागि यथार्थ जीवनको घटना र पात्रीय सन्दर्भको आदर्श कथनलाई लघुकथाहरुले यथार्थको झल्को दिनेछन् । 

यस सङ्ग्रहभित्रको मैलो मन शीर्षकको लघुकथामा आमा पल्लो घरकी बुढीले मलाई लुकेर हेरिरहन्छिन् । डल्लीले छिमेककी वृद्धा महिलाले आफूलाई पटकपटक यिनयालेको देखेर आफ्नो सासू झग्गीसँग भनेकी छिन् । प्रस्तुत लघुकथासङ्ग्रहमा देश, काल र परिस्थितिहरु समसामयिक एवं दैनन्दिन जीवनसँग सापेक्षित हुनुका साथै समाज मैत्री परिवेशमा आधारित रहेका छन् । मानिसका जीवनका कतिपय सपनाहरु विलय हुन्छन् भने कतिपय विपनाहरु जागृत हुन्छन् । तथापि यस लघुकथा सङ्ग्रहमा सामाजिक, आदर्श स्थापनाका लागि यथार्थ जीवनको घटना र पात्रीय सन्दर्भको आदर्श कथनलाई लघुकथाहरुले यथार्थको झल्को प्रशस्त दिएको पाइन्छ । 

– बूढानिलकण्ठ, माथिल्लो पासिकोट, काठमाडौँ

---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment