राहुल र विश्वासको कार्यक्षेत्र एकै हो । अलगअलग समूहमा भएकाले पनि एक अर्काको विस्तृत जानकारी हुन मुस्किल भएको हो । कालखण्ड पनि त्यस्तै छ । विश्वास पनि आँखा चिम्लेर गर्न नहुने परिवेश सृजना भएको छ । अखण्डले दिएको धोकाबाट सबै सशंङ्कित बनेका हुन् ।
राहुल जनताका गीत गाएर हिँड्छ । विश्वास अधिकारका कुरा गर्न सिपालु छ । उसको नाम जस्तै उसले कर्ममा विश्वास गर्छ । दुबैजना एक अर्कालाई उत्तिकै सम्मान गर्छन् । जनता जगाउनु र उनीहरूलाई आफ्नो अधिकार प्रति सुसूचित गराएर मात्र उनीहरूको महासमरको यात्रामा सहयात्रीहरू थपिने र मजबुत बन्ने विश्वास दुबैलाई छ ।
पार्टीले विशाल आमसभाको आयोजना गर्यो । राहुल आफ्नो समूहसहित सांस्कृतिक प्रस्तुतिका लागि जुट्यो । विश्वास असल वक्ता भएकाले उसले कार्यक्रममा मन्तव्य राख्ने भयो । कार्यक्रम सफलिभूत बनाउन विश्वास जनपरिचालनमा सहभागी भयो । गाउँघर, हरेक आँगनहरू टेकेर शोषित, पीडित, निमुखा, गरिब, सर्वहारा सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्यो ।
कार्यक्रममा विश्वासले दलित मुक्तिमोर्चाको तर्फबाट मन्तव्य राख्यो । 'हामी ज्यालामा काम गर्छौ, हामीलाई बालीघरे प्रथामा बाँधी नराख, हाम्रो सीप बेच्छौं, श्रम बेच्छौं तर तिमीहरूको दानमा बस्दैनौं, हामी स्वाभिमानी कर्मबीर भएर जिउँछौं ।’
यस्तै यस्तै धेरै कुरा राखेर विश्वासले धेरै जनताको ताली जित्न सफल भएको थियो । उसैले आग्रह गरेर राहुलले 'मान्छे मान्छे एउटै हो नि…..’ बोलको गीत गाएको थियो । विश्वासले केन्द्रिय कमाण्डको पनि मन जित्न सफल भएको थियो ।
सफल आमसभाको समापन पश्चात् उसले एकपटक घरमा बाआमालाई भेटेर आउने विचार गर्यो । मनसायले मात्र भएन अनुमति पाउनु पर्यो । ठूलो चुनौती त जीवित फर्किनुमा हुन्थ्यो । यस पटक घर जाँदा राहुललाई पनि साथै लैजाने अनुमति पायो । दुबै जना तयार भए । बन्दोबस्तीको समानसहित लागे विश्वासको घरतिर ।
फागुनको महिना सुरु भइसकेको रहेछ । न्यानो हुन लागिसकेको थियो । दुश्मनबाट जोगिंदै बिदा लिएको पाँचौं दिनमा पुगे विश्वासको घरमा । बा घरमा थिएनन् सायद । आमाले छोराको सन्चो बिसन्चोको खबर सोधिनन् । एक मुठी चिउरा र कसार ल्याएर छोराको हातमा थमाउँदै भनिन् 'यो तेरा बाले डोला बोक्न गएका बेला भाग ल्याएको सगुन हो खा !’
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment