लेखन सृजनात्मक कर्मसँग सम्बन्धित विषय हो । यो एक प्रकारले सामाजिक सरोकारको विषय पनि हो । लेखनका विभिन्न प्रयोजन हुन्छन् । प्रायः मानिस प्रतिष्ठाका लागि लेखन क्षेत्रमा लाग्छन् । आर्थिक रूपमा सम्पन्न भइसकेपछि, व्यवहारिक जीवनबाट मुक्त भइसकेपछि, रोजगारमूलक कर्मबाट निवृत भइसकेपछि छिटो नाम र प्रतिष्ठा कमाउने लोभमा सृजनात्मक क्षेत्र लेखनमा पाइला टेक्ने पनि बढिरहेका छन् । वर्तमानमा लेखन क्षेत्रमा सबैभन्दा बढी सजिलो मानिएको क्षेत्र साहित्य लेखन पनि हो । लेखन क्षेत्र हरेक उमेर, वर्ग एवं पेशाका मानिसको आकर्षणको केन्द्र बन्न पुगेको छ ।
मैले लेखनलाई सृजनात्मक कर्म मानेको छु । जतिखेर मैले लेखन प्रारम्भ गरेँ, त्यतिखेर मेरा लागि यो एउटा शौकको विषय थियो । विद्यालय स्तरमा पढ्दा मलाई अन्य साथीभाइ भन्दा भिन्न हुने रहर थियो । यही रहरले मलाई सृजनात्मक कर्ममा डोर्यायो । म विद्यालयमा हुने गरेका निबन्ध, हाजिरीजवाफ प्रतियोगितामा भाग लिन्थेँ । यसै क्रममा मैले जिल्ला स्तरीय माध्यमिक विद्यालय कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेँ । यो मेरो लेखनको प्रारम्भबिन्दु थियो । लेखन अघि बढाउँदै जाने क्रममा साहित्यिक वृत्तमा परिचय स्थापित हुँदै गयो । मैले लेखनको प्रारम्भ चालिसको दशकको मध्यतिर गरेँ । मेरो साहित्य लेखनको निरन्तरता भने पचासको दशकको मध्यदेखि प्रारम्भ भयो । सुदूरपश्चिमको बैतडीमा जन्म, कैलालीमा प्रारम्भिक जीवन हुँदै अहिले राजधानी काठमाडौँमा बसेर विश्व नियालिरहेको छु, सृजनात्मक कर्म गरिरहेछु ।
प्रारम्भमा लेखन मेरा लागि रहर थियो । रहरमा लेखिएका रचना रहरमै सीमित भए । प्रारम्भिक कालमा लेखिएका कतिपय रचना अझै डायरीभित्र कैद छन् । ती मध्ये धेरै कम रचनाले मात्र प्रकाशित हुने मौका पाए । क्याम्पसमा आइसकेपछि म विद्यार्थी राजनीतिमा जोडिएँ । अनेरास्ववियूको राजनीतिमा संलग्न हुने क्रमसँगै म मा राजनीति, समाज एवं संस्कृतिलाई चिन्ने बुझ्ने मौका मिल्यो । अध्ययनकै क्रममा पहिले व्यवस्थापनको विद्यार्थी पछि गएर नेपाली साहित्यको विद्यार्थीका रूपमा यात्रा अघि बढ्यो । प्रारम्भमा धनगढी, कैलालीमा रहेर सृजनात्मक कर्म गरिरहेको मेरो सृजनाले नेपालको राजधानी काठमाडौँका साथै बनेपा, काभ्रेको जनमत साहित्यिक पत्रिका आदिमा छापिँदै आए । यसै क्रममा मेरो लेखनले साहित्यका विभिन्न विधामा विस्तारित हुँदै आयो ।
अहिले मेरो लेखन सृजनात्मक रूपमा साहित्यका विभिन्न विधामा अघि बढेको छ भने त्यस बाहेक भाषिक अध्ययन, लोकसाहित्यको अन्वेषण, साहित्यिक इतिहास लेखन, समालोचनाका साथसाथै अनुवादतर्फ पनि अघि बढेको छ । प्रारम्भमा मेरो लेखन भावुकताजन्य मानवीय संवेदनामा आधारित थियो । त्यसपछि लेखनमा सामाजिक सरोकारका विषयले प्रधानता पाउन थाले । समाजप्रतिको दायित्वबोधबाट प्रेरित भएर सामाजिक रूपान्तरणको भावलाई केन्द्रित गरेर लेख्न थालेँ । सर्वसाधारण मानिस, जसको आवाज कसैले सुन्दैन, त्यस्ता मानिसको जीवनका पीडाको अनुभूति मात्र नभएर पीडाबाट मुक्तिका लागि संघर्ष गर्नुपर्ने भाव प्रस्तुत गर्न थालेँ । म यस्तो परिवेशबाट लेखन प्रारम्भ गरेँ, जहाँ आध्यात्मिक नैतिक आदर्शका कविता अनि प्रणयपरक कविता, गजल लेख्ने मानिसको बोलबाला थियो । म मेरो वरिपरिको लेखन र लेखनकर्मीबाट भिन्न हुन चाहन्थेँ । यही भिन्नताको चाहनाले मलाई आख्यान, निबन्ध लेखनमा डोर्यायो । प्रारम्भका कविता लेखन बाक्लै भएपनि पछि कविता लेखन मन्द भयो । मैले आफ्ना कथामा स्थानिय रङ खोज्न थालेँ । स्थानिय समाजका कथा लेख्न थालेँ । सुदूरपश्चिमेली समाजका पीडा, कष्ट र जीवनको परिवर्तनको चाहनालाई स्वर दिन थालेँ । राजनीति, समाज, संस्कृति, परम्पराले थिचिएका आम मान्छेका कथालाई स्वर दिने क्रममा मेरो लेखन सुदूरपश्चिमको भूमि हुँदै नेपाल भएर विश्व जगतमा पुगिसकेको छ । सृजनात्मक लेखन अब समालोचना एवं अनुवादमा विस्तार हुँदै आएको छ ।
मैले सधैँ एक प्रमुख विषयलाई उठाउन खोजेँ, त्यो हो, म कुनै मनोरञ्जन, आमोदप्रमोदका लागि लेख्दैन । मेरो लेखनमा समाजका यस्ता पात्र आउन्, जहाँसम्म कोही नपुगेको होस् । म यस्तो परिवेश सृजना गर्न चाहन्थेँ, जहाँ सीमान्तकृत जनता आफ्ना जीवनका अनुभूतिलाई बोध गर्न सकून् । मेरा सृजनाको संसारले जीवनको जे जति अंश प्रस्तुत गर्न सक्यो, जे जति कलात्मक चेतनालाई बोध गर्न सक्यो । यो त आम सचेत नागरिकको मूल्याङ्कनको विषय बन्ला । जहाँसम्म मलाई विश्वास छ, आमा मान्छे, भूइँमान्छेका आवाजलाई स्वर दिन लेख्छु । पछाडि परेको, हेपिएको समाज, संस्कृति र जीवनलाई मूलधारमा ल्याउने हिसाबले लेख्छु । म लेखनलाई सामाजिक लडाईँ मान्छु । जतिखेर लघुकथा लेखन अत्यन्त पातलो थियो, त्यही समयदेखि लघुकथा लेख्न थालेँ । एम.ए. तहमा संघर्षमय जीवन बाँच्ने स्रष्टा पारिजातलाई अनुसन्धानको विषय बनाएँ । नेपाली साहित्यमा हेला गरिएको विधा लघुकथामा विश्वविद्यालय स्तरमा पहिलो पटक एमफिल, विद्यावारिधि गरेँ । नेपाली लघुकथालाई अनुवादका माध्यमबाट देशविदेश पुर्याउने कर्ममा लागेँ । पश्चिम नेपालको भाषा, लोकसाहित्यमा कृति प्रकाशित गरेँ । मलाई लाग्छ, म वञ्चित गरिएको क्षेत्र, वर्ग, जाति, लिङ्गका पीडालाई स्वर दिन कमल चलाउने कर्म गरिरहेको हुन्छ यसर्थमा म नेपाली माटो र धरतीका लुप्त आवाजलाई स्वर दिने प्रयासमा लागिरहन्छु । यही नै मेरो लेखनको उद्देश्य हो । म यस्तैयस्तै उद्देश्यले लेख्छु । सृजनात्मक यात्रामा लागिरहन्छु ।
– वर्तमानको डेराः कोटेश्वर, काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment