सिंहदरबारका जागिरे सुन्दरको विवाह एक दशक अघि एक शिक्षिकासँग भएको थियो । सुन्दर नाम जस्तै सुन्दर थिए भने अप्सरा पनि नाम जस्तै सुन्दरी थिइन् । सुन्दर र अप्सराको जोडी देखेर टोलबासीहरूले प्रशंसा गर्दैआएका थिए । छोरी आठ कक्षामा र छोरा छ कक्षामा अध्ययन गर्दैगर्दा सुन्दरलाई उनका बाले अंश दिएर छुट्याइदिएका थिए । सुन्दर दम्पत्ती केहीवर्ष डेरामा बस्नथाले ।
सरकारी जागिरे भएकोले उनीहरू दुवैले कर्मचारी सञ्चय कोषबाट कर्जा सापटी लिएर घर बनाए । सुन्दरले अंश वापत घडेरी पनि पाएकाले घर बनाउन गाह्रो भएन र कर्जाको सहारामा डेढवर्ष लगाएर घर बनाए । सुन्दरले विहेअघि नै स्मार्ट फोन किनेका थिए भने अप्सराले छ वर्ष अघि मात्र स्मार्ट फोन किनेकी थिइन् । सुन्दर कार्यालयबाट फर्किएपछि फेसबुकमै व्यस्त रहन्थे भने अप्सरा चाहिँ युट्यूब र टिकटकमा व्यस्त रहन्थिन् । लाग्थ्यो कि उनीहरूको व्यस्तता प्रतिस्पर्धाको विषय झैँ बनेको थियो ।
अप्सरा भान्सामा खाना बसालेपछि बेडरुममा गएर मोबाइलमा व्यस्त रहँदा भात डढ्ने र दालमा पूरै पानी सुक्ने भैरहन्थ्यो भने सुन्दर पनि रिजर्भ ट्याङ्कीको पानी छतको ट्याङ्कीमा चढाएपछि मोबाइलमा व्यस्त रहँदा मोटर बन्द गर्न बिर्सिँदा पानी छचल्किएर रिजर्भ ट्याङ्की समेत रित्तिने भैरहन्थ्यो । घरीघरी दुवैले एकअर्कालाई मोबाइल धेरै चलाएको आरोप प्रत्यारोप लगाइरहन्थे । बाउ–आमा मोबाइलमा आवश्यकताभन्दा बढी व्यस्त रहँदा छोराछोरीले समयमा खाना खान नपाउने र विद्यालयमा ढिलो पुग्ने गरेका कारण शिक्षकले उनीहरूलाई चेतावनी दिइ नै रहन्थे । फेसबुकमा सुन्दरले केटी साथीलाई “सो व्युटिफुल” भनेर उल्लेख गर्थे भने अप्सरा पनि के कम?
केटा साथीलाई “ह्यान्डसम” शब्दहरू टिप्पणी गर्थिन् । सुन्दर दम्पतीमा एकअर्कामा भन्दा पनि फेसबुक साथीहरूमा प्रेम थियो झैँ लाग्थ्यो । लामो समयसम्म मोबाइलको लतमा फसेका दुवैजना एकदिन जिल्ला प्रशासन कार्यालयमा गएर सम्बन्ध विच्छेदको बाटो रोजे ।
- बुढानिलकण्ठ, काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment