Thursday, February 27, 2025

म किन लेख्छु ? (अङ्क २१ मा प्रकाशित)


क्याम्पसमा प्रवेश गरेदेखि नै कनीकुथी लेख्ने स्वभाव त थियो नै तर काठमाडौँ प्रवेशसँगै (वि.सं. २०४०) पत्रपत्रिकामा छपाउने लहड पनि जाग्यो । कहिले गीत स्वीकृतिकालागि रेडियो नेपाल त कहिले कथा प्रकाशनका लागि ‘मधुपर्क’ ‘गरिमा’ ‘मिर्मिरे’का अफिसतिर धाउन थालेँ । 

“पहिले हेरिने त नाम नै हो नि भाइ, त्यसपछि मेरो अन्तर विषयवस्तु हेरिन्छ ।” कुनै एक प्रसिद्ध साहित्यिक मासिकका प्रधान सम्पादकको भनाइले मेरो मनमा ठूलो चोट पुर्‍याए पनि पार्कर मसीमा निब डोबी कागज रङ्गाउन छोडेको थिइन । यस्तैमा “ए भाइ ! गाउन त गाउँला के, सङ्गीत पनि हालौँला, तर … ।” म अवाक् भएँ । तबदेखि लगभग कनीकुथी गर्न छोडिसकेको थिएँकि यस्तैमा म बालबालिका तथा विद्यार्थीहरूको सङ्गतमा पुगेँ । मेरो मनमा ‘आजका विद्यार्थीहरूलाई नैतिक र सन्देशमूलक खुराक नदिने हो भने भोलिको हाम्रो समाज कसरी सभ्य, नैतिक र मर्यादित हुन्छ’ भन्ने विचार आइरहेकै बेला संयोगले यसै समयमा श्री अञ्जन श्रेष्ठ (एजुकेशन बुक हाउस र एजुकेशन पब्लिकेशन), श्री सुशिल भण्डारी (एभरेष्ट पब्लिकेशन) सँग जोडिन पुगेँ । मेरो आन्तर र अग्रजहरूको अभिप्रेरणाबाट प्ररित भई ‘हितोपदेश’, ‘पञ्चतन्त्र’, ‘अकबर–बीरबल’, ‘ईशपकाकथा’ आदि(भावानुवादित/अनुवादित) लेखनतिरको मेरो नयाँ लेखनयात्रा स–साना विद्यार्थीहरूका लागि बालकविता, बालगीत र बालकथासँगै शैक्षिक सामग्री लेखनतर्फ लम्किँदै गयो । यसबिचमा ‘नुनको सोझो’, ‘मनको लड्डु’, ‘परिचय’ ‘पीडाभित्रका कथा’ (कथासङ्ग्रह) ‘कालोपाटी’ (बालउपन्यास) जन्मिए । यससँगै कथा, लघुकथा, कविता, लेख आदि मेरा सोख त थिए नै । यसैक्रममा ‘श्रीमद्भागवत, चरित्रचित्रण, कथासार र समीक्षा’ र ‘पौराणिक कथाभित्रका कथा २०८०’ धार्मिक कृति पनि जन्मिए ।

यदाकदा दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिकामा प्रकाशित भएपनि छपाउनका लागि दौडधुप गर्न लगभग छोडिसकेको थिएँ । यसैक्रममा ‘लघुकथा संसार’ ‘कविता संसार’ (प्रकाशक तथा सम्पादक श्री त्रिचन्द्र श्रेष्ठ) र ‘सत्यसाची’ (प्रकाशक श्री अनेसास डेनमार्क) बाट मैले आफ्ना लघुकथा र कविता आफैे पढ्न पाउने सरप्राइज उपहार पाएँ । सुषुप्त हुँदै गइरहेको मलाई यसले घचघच्याउन थाल्यो । म म्यासेज र इमेलको सम्पर्कमा जोडिएँ । यसबिचमा द्वैमासिक साहित्यिक ‘हिमाली गुराँस’ (प्रकाशक तथा सम्पादक श्री खिमानन्द पोखरेल) सँग पनि मेरो नाता गाँसिन पुगेको छ ।

म लेख्छु । आफ्नो कलमबाटै समाजमा देखिएका वा देखिने विविध विषयवस्तुमाथिको अनुभूति, सङ्गति, विसङ्गतिप्रति आफ्नो दृष्टिकोण पस्किन्छु, आलोचना, समालोचना र विश्लेषण पनि गर्छु । यसो गर्दा मलाई आनन्द आउँछ । मेरा रुचि कथा, लघुकथा, कविता र लेख हुन् । यत्र–तत्र–सर्वत्र असरल्ल र लथालिङ्ग जुन विषयवस्तुमा मेरो दृष्टि पुग्छ त्यसलाई कथा, कविता, लेख आदि जुन विधामा कलम चोब्न मन लाग्छ चोब्छु । यसमा मेरो कुनै स्वार्थ छैन र यसले मेरो जीविकामा कुनै सहयोग पनि गर्दैन तर आत्मसन्तुष्टि र आत्मसुख भने यसबाट जति अरुबाट पाउँदिन, त्यसैले लेख्छु । मेरो यस साहित्यिक यात्रामा मलाई अभिप्रेरित गर्नुहुने सबैप्रति म सादर नमन गर्दछु ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment