Saturday, March 1, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)


त्यो मटानको पूर्वतिरको कोठा खोलेर हेर्छु, खाट जहाँको त्यहीँ छ । सङगैको खोपा जस्तो ठाउँमा रामायणको किताब अनि सानातिना पाठका किताब जस्ताको तस्तै छ । खाट तल ओछ्याएको त्यो नेपाली गलैंचा र राडी पनि जस्ताको त्यस्तै छ । खाटको छेवैमा राखेको चैनपुरे हुक्का अनि बागलुङ्गे बाँसमा बुट्टा काढेको हुक्काको नली जस्ताको तस्तै ठडिएर बसेको छ। तर त्यो कोठामा बस्ने मेरा “बा” त्यहाँ छैनन् ।

आज “बा” हराएको पन्ध्र वर्ष नाघिसक्यो “बा” फिर्नु भएको छैन । आमा बित्नु भएको म दुई वर्षको दुधे बालक मै हो अरे, आमा कस्ती थिईन् ज्ञान छैन फोटोमा मात्र देखेको छु । बाले नेै आमाको मातृत्व र वात्सल्य दिएर हुर्काउनु भएको हो अरे मलाई फुपूले भन्नुभएको । एकदिन म स्कूल गएको बेला थाहा भएन “बा” कता जानुभो । सुब्बाको जागिरबाट हद पुगेर बिदा हुनुभएको पनि झण्डै पच्चीस वर्ष भैसकेको थियो । स्कूलबाट म फर्कि आउँदा “बा” घरैमा भेटिनथ्यो “बा” आज हुनुहुन्नथ्यो । फुपू एकजना हुनुहुन्छ “बा” को दिदी नब्बे वर्षै नाघिसक्नु भएकी बाल विधुवा, हामी सँगै बस्नु हुन्थ्यो ।

म अहिले पैंतालिस वर्षको भएँ फुपूले कर गरेर दश वर्ष अघि मेरो बिहे गरीदिनु भएको सन्तान भएको छैन । हामी खुसी नै छौं राम्रै गृहस्थी धानेकी छे । म जुन स्कूलमा पढेको थिएँ अहिले त्यही स्कूलमा हेडमास्टर बनेको छु । मासिक सबै मिलाएर सोह्र सत्र सय तलब आउँछ पुगेकै छ । उनीले पनि मेरो भावना बुझेर “बा”को कोठा जस्ताको त्यस्तै राखेकी छे । म सधैँ स्कूल जान बालाई “बा म स्कूल गएँ है” भनेर सोधेर जाने गर्थें त्यो बानी अझै छुटेको छैन बाको कोठा हेर्छु तर त्यहाँ “बा” हुनुहुन्न । झल्याँस्स याद आउँछ त्यो कोठामा साँझ “बा”सँग लाडे भै “बा”को अंगालोमा सुतेको अनि “बा”ले हुक्का गुड्गुड गर्दै तानेर धुवाँ दलिनतिर फ्याँकेको त्यो बादल जस्तो सेतो धुवाँ, अहिले त्यो कोठा रित्तो छ ।

“बा”लाई धेरै खोजियो नातेदार, बावाली, मावाली, “बा”को  साथीभाइ जान सक्ने ठाउँ, बाँकी कतै रहेन घर घर खोजियो ढोका ढोका चहारियो कतै भेटिएन ! हाम्रो संस्कार बमोजिम बेपत्ता भएको मानिस बाह्र वर्षसम्म पनि न आए कुशको आकृति बनाएर अन्तिम संस्कार गर्नु पर्छ रे ! “बा” मरो मन मस्तिष्क र आखाँमा रहँदा रहँदै पनि मनले नमान्दा नमान्दै समाजको लागि मैले “बा” को अन्तिम संस्कार गर्नु पर्‍यो । मलाई “बा” मरेका छैनन् अझै फिर्छन् झैं लाग्छ ! त्यो शून्य कोठामा “बा” अझै सुतेर हुक्का तानिरहे झैं लाग्छ । कोठा पनि छ, त्यो खाट पनि “बा” त्यस्तै छ तर त्यो खाटमा सुत्ने मान्छे हराएको छ ।

- ल.पु.न.पा. –१५ खुमलटार

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment