Saturday, March 1, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)


'ओहो ! बुहारी तिमी त नहुने भइछौ ।’ सासूको एक्कासिको बोलीले झस्किएँ । आफू बसेको ठाउँबाट उठेर पछाडि फर्केर हेरेँ । नभन्दै भुइँ भिजेको रहेछ । धुलौटे भुइँ राताम्य भइसकेछ । हत्तपत्त घरभित्र पस्न खोजेँ तर …

‘नाइँ नाइँ बुहारी, घरभित्र नपस । यस्तो बेला छुट्टै बस्नुपर्छ । कसैलाई छुनुहुन्न । अलग्गै खानुपर्छ । यसो गरिएन भने देउता रिसाउँछन् ।’ उनै सासूको आवाज गुन्जियो । घरभित्र जान उचालिएका पाइला जहाँको त्यहीँ रोकिए । बिहेपछि आमाबाबुको आशीर्वादका लागि आउनुभएका उहाँको अनुहारतिर हेरेँ । रुन्चे अनुहार देखेँ । के गर्ने के नगर्नेको दोधारमा अलमलिए । पश्चिमतिर हेरेँ । आकाश डढेको घुर्मैलो रापताप छरिएको देखेँ ।

‘पख पख, तिमीहरू पढेलेखेकाले परम्परा मान्दैनौँ । यो थाहा छ । हामी पनि सप्पै त मान्दैनौँ तर गाउँसमाजको मुख टाल्न भए पनि क्यै क्यै त मान्नै पर्छ । यसैले सानो घर बनाएका छौँ । सफा छ । ओछ्यान धोएको सफा र चिटिक्क छ । धुपबत्ती बालिदिन्छु । क्यै चिन्ता मान्न पर्दैन । तिमीले भनेका भनेका कुरा त्यहीँ पुर्‍याइदिन्छम् ।’ यति भन्नुसँगै सासूले तदारुकतासाथ सानो घरतिर डोर्‍याइन् । म डोरिँदै पुगेँ । नभन्दै उनले भनेजस्तै थियो सानो घर । भित्र पसेर बाहिर हेरेँ । उहाँको नजर झुकेको थियो । 

रात गहिरिँदै जाँदा डर होइन मन छिप्पिन सुरु गर्‍यो । कुखुराको भाले बासेको आवाजले बाहिर हेरेँ । भुकभुक उज्यालो हुन लागेको रहेछ । निद्र्वन्द्व निस्के । पाइला अघि बढ्दै गए । देउराली पुगेर पूर्व हेरेँ । निलो आकाशमा छरिँदै गरेको सुनौलो रङ क्रमशः रातिँदै थियो ।     

- गैंडाकोट ४, नवलपुर

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment