घरमा बाँधेको कुकुर भुक्क ! भुक्क !! गर्दै जोडले भुकिरहेको थियो ।
कुकुरको जोश तेजिलो भएकोले होला, गलामा लगाएको फलामे सिक्री चुडाउला जस्तो गर्थ्यो ।
कुकुर धेरै कराएको सुनेर कुकुरको मालिक बाहिर आए र “कति भुकेको लक्की ? भोक लाग्यो ?“ भन्दै छुर्पी खान दिए ।
हस्याङ् फस्याङ् गर्दै कुकुरले मिलिक्कै छुर्पी खाई सक्यो र फेरी भुक्न थाल्यो ।
कुकुरको मालिकले “ट्वाईलेट लागेर कराएको हो की ?” भन्दै सिक्री समाएर कुकुरलाई आँगनको बगैँचामा घुमाए । एक छेउमा कुकुरले आची गर्यो । कुकुर मालिकले प्लास्टिकको झोलाले फुत्त आका टिपे र गाँठो पारेर कुकुरको दिसा राख्ने टोकरीमा फ्याके । त्यस पछि कुकुर पनि कराउन छोड्यो । उनले पुनः कुकुरलाई पहिला कै ठाउँमा बाँधिदिए ।
मालिकले कुकुरलाई यस्तो हेरचाह गरेको देखेर बिरालोलाई ईर्ष्या लागेछ । “तिमी त कस्तो भाग्यमानी है ? मिठो खान पाएका छौँ । राम्रो ठाउँमा बसेका छौँ । नुहाई धुवाई गरिदिने, पार्कमा घुमाउन लाने, ‘पेट सप’को खानेकुरो किनेर तिमीलाई खुवाउने, कति हो कति !” कुकुरको नजिक गएर बिरालोले कुकुर प्रतिको आफ्नु द्वेष प्रकट गर्यो।
अचानक कुकुरको मालिक रिसाउँदै बाहिर आए “मानिसलाई खान धौ–धौ छ । यो कुकुरलाई खुवाएर कहिलेसम्म पाल्नु ?” भन्दै कुकुरको पट्टा खोली दिए ।
उसलाई लागेको थियो होला, कुकुर जोडले दगुरेर भाग्छ तर कुकुरले के बुझ्यो के बुझेन ऊ त झोक्राउँदै त्यहीँ बसिरहयो ।
बिरालोले कुकुरलाई भन्यो “अर्काले खटाएर दिएको मिठो मसिनु खानुभन्दा आफ्नै बलबुताले एक छाक खाएको बेस होइन र ? भाग तिमी अब स्वतन्त्र भयौ ।”
- ईटहरी–१९, सुनसरी हालः लन्डन
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment