Saturday, March 1, 2025

लघुकथा (अङ्क २१ मा प्रकाशित)



मधुमासको समय थियो । एक अपरिचित सुन्दर युवतीले हातमा खाम थमाउँदै नमस्कार दाइ भनिन् । म अकमक्क परेँ । खामको  बाहिर निमन्त्रणा–पत्र लेखिएको रहेछ । मेरा नयनले उनका नयनसँग धेरै बेरसम्म कुरा गरिरहे । मेरो सुविधाको रहस्य बुझेर होला उनीले म सृजना हुँ भनिन् र नजिकैको कुर्सीमा बसिन् । म भने निकैबेर दोमनमा परे । लिफाफा नङ्ग्याएर पढेँ । साहित्यका महारथीहरूले स्मरण गरेका रहेछन् । कार्यक्रममा आफू सरिक हुने मत जाहेर गरेँ । सृजनाले मुस्कुराहटका साथ समारोहमा भेट्ने वाचा गर्दै बिदा भइन् । मैले सृजनालाई देखुन्जेल हेरिरहेँ, पर परसम्म …

समय छिपिँदै गयो, महिना हप्ता हुँदै एक दिन कलिला  प्रातःकालमा हामी केही मित्रहरूले कार्यक्रम तर्फको यात्रा तय गर्यौं । बाटामा सृजनाको सम्झनाले खटपट्टी बनाइरह्यो । गोधूलि साँझ नहुँदै साहित्यको मैदान स्थलमा पुग्यौँ । हामी दुई तीन साथीहरूलाई एक गगनचुम्बी होटलको आलीशान महल जस्तै कोठामा रहने बन्दोबस्त गरेको रहेछ । चाँजोपाँजो उधुम देखेर लट्ठ परेँ । सन्ध्याकालीन समय उखेलेर भोजन गरेपछि हर्के, बुद्धे, मोटे, पातले, भुण्टे आदि बालसखाहरूसँग भेट भयो । हर्षले सीमा नाघेको थियो, त्यो क्षण तर मेरो यता पनि सृजनासँग भेट हुनसकेन ।

भोलिपल्ट विशुद्ध साहित्यिक कार्यक्रम स्थलमा पुगियो । मनमोहक दृश्य मान्छे उही हाउभाउ नौलो, धरातल नौलो । यत्तिकैमा आयोजकले कार्यक्रमको श्रीगणेश गरे । भाषा, साहित्य र संगीतका मूर्धन्य हस्तीहरू,  स्वाभिमानी हिमालहरूको भीडले अत्यन्तै शोभायमान देखिन्थे । कोही मुखामुख गर्दै थिए भने कोही कानेखुसी । अतिथिका नजरमा केही न केही अप्राप्य आभास गर्न सकिन्थ्यो । मनमा एक तमासको हावाहुरी चल्यो । यहाँ  पनि सृजनामा धमिरा लागेछ म मन धमिलो बनाउँदै आफ्नो बासस्थान फर्के ।

- हेरिस्वर्ग, पेन्सिलभेनिया, अमेरिका

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment