Sunday, March 2, 2025

अनुवाद लघुकथा (अङ्क २१ मा प्रकाशित)


उमेश बाबुको बैठक कोठामा प्रवेश गर्दै दिनानाथले भने, “उमेश बाबु ! हजुरको बैठक कोठा त यति सुन्दर, सुसज्जित र सामान मिलाएको छ कि एकएक खेलौनाहरु अहिल्यै बोल्लान् जस्तो छ ।”

निराशाले भरिएको, मधुरो आवाज उमेश बाबुको मुखबाट निस्कियो, “बोल्थे, तर बोलेका छैनन् । अब बोल्दैनन् यी खेलौना ! छ महिना पहिले मेरो घरमा पनि एउटा खेलौना थियो जुन बोल्दथ्यो । त्यतिबेला यी सारा खेलौनाहरू पनि बोल्दथे । मेरो बैठक कोठा पनि अरुको जस्तै थियो । मेरी श्रीमती पनि व्यस्त थिइन्, बस्, त्यो खेलौनाले संसार छोडेसँगै सारा खेलौनाहरू शान्त भए ।” 

त्यतिबेला उमेश बाबुकी श्रीमती बैठक कक्षमा आइन् । उनको काखमा सेतो  झबरा (जर्मनी टाइपको) कुकुर थियो।

“हेर्नुस् त ! गर्मीले बिचराको के हाल भएको छ ? कसरी सास फुलेको छ यसको ।” अनि उनले त्यसलाई चुमिन् । दिनानाथलाई कोठामा चहलपहल बढेकोले खेलौनामा पनि ज्यान आएको जस्तो लाग्यो । 

“भाउजु नमस्कार !” दीनानाथको आवाजसँगै उमेश बाबुकी श्रीमती आश्चर्यचकित भइन् अनि आँखामा एक प्रकारको निराशा देखियो । शायद बच्चाको याद आएर होला !

“हजुर बस्नुस्, चिया लिएर आउँछु” भनेर उनी भान्सामा गइन् । दिनानाथले देखे, बैठक कोठामा सजिएका तमाम खेलौना फेरि पहिले जस्तै शान्त र स्तब्ध थिए ।

अनुः  डा. पुष्करराज भट्ट

---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment