मुक्तक प्रतियोगितामा उनी प्रथम भए । बधाई दिनेको आइरो नै लाग्यो । लेख्न लागेको करिब दुई वर्ष जति मात्र भएको थियो । उनलाई जितेपछि आफूले संसार जितेकै अनुभव भइरहेको थियो । यसैबिच एउटा पत्रिकाले उनको केही मुक्तकसहित परिचयको विवरण माग्यो । उनले मुहारमा फूल फुलाउँदै मुक्तक पठाए । छोटो समयमा नै साहित्यकारको रुपमा नाम कमाइरहेको कुराले उनको मन मस्तिष्कमा खुशीका रङ्गहरू सल्बलाइरहेका थिए ।
पत्रिकाका सम्पादकले मुक्तक प्राप्त गरेपछि तीन छक परे । प्रतियोगितामा प्रथम भएको व्यक्तिको मुक्तक भन्दै एक पछि अर्को खुब चाख मान्दै पढे । जति जति पढ्दै गयो, उति नै उनी अचम्मित हुँदै गए । मुक्तक पढिसक्ने बित्तिकै उनले फोन लगाए, “प्रथम हुनुभएकोमा पुनः एकपटक बधाई छ तर आज तपाईंले पठाउनु भएको मुक्तकमा तुक र अनुप्रास केही मिलेको देखिएन त सर ?“
उनले हतारिएर जवाफ फर्काए, “तुक र अनुप्रास भनेको के हो र सर ? इन्टरनेटमा त यस्तै यस्तै मात्र छन् त मुक्तक ।”
---------------------------------------
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment