सुशीला एक कुशल गृहिणी थिइन् । उनी घरव्यबहार चलाउन देखि लिएर आफ्नो श्रीमानलाई रिझाउन सिपालु थिइन । आफूलाई आवश्यक पर्ने सम्पूर्ण घरायसी सामानहरूको किनमेल आफैं गर्थिन् ।
उनीहरूलाई बिहेको निम्तो आएकोले भोजमा जानुपर्ने चटारो थियो । बिहेको निम्तोमा जाने दिन बिहानै सुशीलाले श्रीमानलाई भनिन्, “भरे बिहेको भोजमा जानुपर्छ । अफिसबाट बेलैमा आउनुस् है ।’’
श्रीमतीको कुरा सुनेर श्रीमानले, “हुन्छ, भइहाल्छ नि’’ भनी छोटो जवाफ दिए ।
बिहेको भोजमा जानकालागि उनी चिटिक्क परेर बसिन । श्रीमान् अफिसबाट अलि ढिलो आएकोले सुशीलाले भनिन, “कति अबेला आउनु भएको …! अब लुगा लगाएर तयारी हुनुहोस् । जान ढिला भइसक्यो ।’’
बिहेको भोजमा सबैजना एक अपसमा गफगाफ गर्दै थिए । खानपिन, नाचगान देखि अन्य कुरामा रमझम चलिरहेको थियो । सबैजना आफ्नै धुनमा मस्त र व्यस्त देखिन्थे ।
अचानक त्यहाँ कसैले गहना लुटेर लगेको हल्ला मच्चियो । सबैले आफूले लगाएको गहना छ कि, छैन भनी हातले छामी चनाखो रहन थाले । सुशीलाले पनि आफ्नो घाँटी कान छाम्न थाली । आखिर उनकै घाँटी र कानबाट पत्तै नदिइ कसैले गहना थुतेर लगिसकेको रहेछ ।
उनी अक्क न बक्क परिन । सबैले उनलाई “के भयो, के भयो… भनेर घेर्न थाले । त्यहाँ ठूलो खैलाबैला मच्चियो । आफ्नो गहना लुटेर लग्दा पनि उनी केही नबोली मौन भएर बसेकी थिइन् ।
घर आएपछि श्रीमान्ले गाली गर्दै भने, “तिमीले आफ्नो सामानको ख्याल राख्नु पर्दैन । तेत्रो महंगो पर्ने गहना लगाएर किन हिड्नु पर्यो ?’’ सुशीलाले संयमित हुँदै नम्र भएर जवाफ दिइन्, “नआत्तिनुस श्रीमान्ज्यू ! ती गहनाहरू नक्कली थिए । हराए पनि डर थिएन । मैले यस्तै हुनसक्छ होला भनेर खुसुक्क किनेर राखेको थिएँ । श्रीमतीको यस्तो चलाखी र बुद्धिमतापूर्ण कार्य देखेर श्रीमान नाजवाफ भए …।
- चाबहिल– ७, काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment