रमालाई आज मिल्ने साथी सपनाकोमा जान मन लागेछ, ऊ हतार हतार खाना खाइवरी सपनालाई लिन घर जान्छिन् । अति शालिन र रूपमा पनि सुन्दर रमा सपनाभनेपछि हुरुक्कै हुन्थिन् । रमा हतार हतार गरी सपनालाई लिएर साथी प्रविनलाई भेट्न जान्छिन्, शनिबारको दिन प्रविनको छुट्टी थियो । धेरै दिन भइसकेको थियो प्रविनसँग भेट नगरेको त्यसैले पनि उनी आतुर थिइन् ।
उनीहरू सात आठ वर्ष अगाडि चिनजानबाट नजिकिंदै प्रेमी जोडीको रुपमा थिए । एकले अर्कालाई अगाढ प्रेम गर्थे । त्यसैले महिना दिन अघि गरेको वाचा पूरा गर्न उनीहरूको भेट हुँदै थियो । सपनाले पनि प्रविनलाई भेट्ने जिद्दी गरेपछि मिल्ने साथीको नाताले सपनालाई पनि लिएर गएकी थिइन् । रमा र सपना प्रविनको घर पुग्दा प्रविन कौसीमा उनीहरूलाई कुरेर बसेका हुन्छन् । प्रविन तल आएर दुबैलाई लिएर माथि कोठामा जान्छन् ।
प्रविन साह्रै सुन्दर छन्, प्रविनको सुन्दरता देखेर सपना अहिले चलेको गीतजस्तै हेरेको हेरै भइन्, प्रविन र रमा आ–आफ्ना गफमा व्यस्त थिए, तर सपना भने प्रविनलाई एक टक्क हेर्न मै व्यस्त थिइन् ।
रमाले सपनालाई परिचय गराइदिन्छन् प्रविनसँग । परिचय भएपछि सपना भित्रभित्रै खुसीले गद्गद् भइन् । पहिलो पटक भेटेको जस्तो देखिंदैन थिइन् सपना, प्रविनसँग हात मिलाएर हग गरेपछि सपनाको झलकै अर्कै भइसकेको थियो । तीनै जना खाजासँगै गफगाफमा रमाउँदा रमाउँदै समय बितेको पत्तो भएन, झमक्क साँझ परिसकेको थियो । प्रविनको घरबाट निस्कँदा छ बजिसकेको हुन्छ । सपनालाई उसको घर छोडेर रमा आफ्नो घरतिर लाग्छिन् ।
भोलिपल्ट बिहानै रमाले सपनालाई फोन गर्छिन् फोन स्विच अफ रहेछ । प्रविनलाई फोन गर्छिन् प्रविनको फोन उठ्दैन । त्यो दिन बिहानदेखि प्रविनलाई निरन्तर फोन गर्छिन् तर पुरै दिन प्रविनको मोबाइल उठ्दैन । भोलिपल्ट सपना र प्रविन दुवैको मोबाइल स्विच अफ हुन्छ ।
- बौद्ध कुमारीगाल, काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment