Pages

Monday, July 7, 2025

लघुकथा (अङ्क २५ मा प्रकाशित)


 
दुई सन्तान दिएर त जानुभयो तर पारिवारिक सुख जति सबै लिएर जानुभयो । एसईई दिँदै गरेकी छोरी र आठ कक्षा पढ्दै गरेको छोराको कपाल खेलाउँदै उनले सोचिन्, “पढाएर असल र सक्षम बनाउने मेरो सपना पनि यत्तिकै रहने भयो ।

“दिदी ! केयर गिभरका लागि इजरायल जाने हो कि ? सबै क्राइटेरिया पुग्छ । पचासजना मागेको रैछ ।” भाइको फोनले उनको अनुहार एकाएक उज्यालो भयो ।

“आमा ! हामीलाई एक्लै छोडेर साँच्चिकै जान सक्नुहुन्छ र ?”

“छोरी ! म मेरालागि हो भने के गर्थेँ, गर्थेँ, भन्न सक्दिन तर तिमीहरूको भविष्यका लागि अवश्य सक्छु ।

सुँक्कसुँक्क गर्दै छोरा–छोरीले गरेको वाईवाईको प्रत्युत्तर उनीसँग थिएन, सलले मुख छोपी रुँदै वोर्डिंगपास लिन दौडिइन् ।

हमासले इजरायलमाथि गरेको पहिलो आक्रमणबाट तर्सिएको छोरा–छोरीको मन त्यसपछि छोडिने र पड्किने प्रत्येक मिसाइलका आवाजले चरक्क–चरक्क हुन्थ्यो, इरानको धम्की र हुतीको आक्रमणका घटनाहरू बढ्दै गएपछि त झन् उनीहरू निदाउनै छोडेका थिए ।

एक्कासी उनीहरूलाई विमानस्थल लगियो । आउने र जानेहरूको भीडमा उनीहरूका आँखाले धेरै कुरा खोजे तर केही भेटेनन् अनि ठाने, “सरप्राइज दिन पो हो कि ? पक्कै आमा आउँदै हुनुहुन्छ होला ?”

तर उनीहरूले सरप्राइजका लागि धेरै कुर्नु परेन । सन्नाटाबीच एउटा काठको बाकसलाई पिकअप भ्यानको पछाडि राखियो, पिकअप गुड्यो,  तल चोकमा आएपछि पश्चिमोत्तर मोडियो । उनीहरू बसेको अर्को गाडी पनि अघिल्लो गाडी पछ्याउँदै गयो ।

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment