Monday, January 19, 2026

लेख (अङ्क ३१ मा प्रकाशित)


विषय परिचय

वर्तमानमा नेपाली लघुकथा लोकप्रिय बन्दै आएको छ । नयाँ पुस्ताका लेखक मात्र नभएर पूराना पुस्ताका अन्य विधामा स्थापित लेखक पनि यस विधामा रुचि देखाएर कलम चलाइरहेका छन् । लघुकथा लेखन अब रहर मात्र नभएर प्रतिबद्धताको स्तरमा विकास भइसकेको छ । नेपाली लघुकथा विषयवस्तुका साथसाथै कलात्मक शिल्यका दृष्टिले पनि समृद्ध बन्दै आएको छ । समसामयिक युगजीवनका विभिन्न पक्षको प्रस्तुतिका कारण यस विधाले आम पाठकको माया पाउँदै आएको छ । नेपाली लघुकथामा नेपाली समाजमा उज्याला पक्षका साथै विकृति–विसङ्गति विरोधी चेतना अभिव्यक्त हुँदै आएको छ । नेपाली लघुकथा लेखनको छ दशक भन्दा लामो यात्रामा विभिन्न लेखकले आफ्ना सिर्जना मार्फत विभिन्न विषयवस्तुलाई अभिव्यक्त गरेको पाइन्छ । यस अध्यायमा नेपाली लघुकथामा अभिव्यक्त भएका विषयवस्तुगत प्रवृत्तिलाई अध्ययनको सामग्री बनाइएको छ । नेपाली लघुकथाका मूल प्रवृत्तिहरू अध्ययनका लागि राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, भाषा तथा साहित्य, शिक्षा, स्वास्थ्य, प्रशासन, विज्ञान, आधुनिक सभ्यता एबम् जीवनशैली, न्याय कानुन, पत्रकारिता, मिथक, डायस्पोरा एवम् नारीवादी चेतनाजस्ता सोह्र विषयलाई मूल आधार मानिएको छ । यी विषयलाई पनि आवश्यकता अनुसार उपविभाजन गरिएको छ ।


नेपाली लघुकथाका विषयवस्तुगत प्रवृत्ति

नेपाली लघुकथामा विभिन्न विषयसन्दर्भको प्रस्तुति पाइन्छ । नेपाली जनजीवनका कथाव्यथालाई आख्यानात्मक रूपमा प्रस्तुत गरेर सर्जकहरूले आफूलाई जीवन्त तुल्याएका छन् । नेपाली लघुकथामा मानिसको जीवनका व्यक्तिगत अनुभूति मात्र नभएर समाज, राष्ट्र एवम् अन्तर्राष्ट्रिय सन्दर्भ पनि व्यक्त हुँदै आएका छन् । समकालीन नेपाली जीवनका विषयसन्दर्भलाई टिपेर लघुकथाको माध्यमवाट प्रस्तुत गर्ने क्रममा लेखक गतिशील यथार्थको नजिक हुने भएकोले लेखकले समकालीन जीवनको स्पर्ग कारण लघुकथामा सामाजिक जीवनका विभिन्न पक्षको गहन विश्लेषण गरेको हुन्छ । जीवन र जगतप्रतिको यथार्थ एवम् आलोचनात्मक दृष्टिका पाइन्छ ।

नेपाली लघुकथाका मूल प्रवत्ति अन्तर्गत के कस्ता विषयवस्तुलाई के कति साक्षात्कार गरेको छ भन्ने कुरा स्पष्ट हुन्छ । नेपाली समाजको कृत स्थान दिइएको छ भन्ने विषयले नेपाली लघुकथाकारले सामाजिक जीवनसँग कालखण्डमा के कस्ता प्रवृत्तिहरू देखापरे, ती प्रवृत्तिले नेपाली समाजमा के कस्तो प्रभाव पार्‍यो र त्यस प्रभावलाई लेखकले के कसरी प्रस्तुत गर्न सक्यो भन्ने विषयले नेपाली लघुकथा लेखनको सफलताको निर्धारण गर्दछ । नेपाली लघुकथा लेखकले नेपाली समाजिक जीवनका समाज, राजनीति, प्रशासन, अर्थव्यस्था, संस्कृति, शिक्षा, स्वास्थ्य, प्रवासी जीवन, मानिसका वैयक्तिक भोगाइजन्य अनुभूति आदि अनेक विषयलाई आफ्नो लेखनको विषयसन्दर्भको रूपमा चयन गरेका छन् । यसका साथसाथै पूराना लोककथा, किंवदन्ती, धार्मिक कथा, इतिहासप्रसिद्ध व्यक्ति एवम् घटनासँग सम्बन्धित विषयवस्तु पनि नेपाली लघुकथा लेखनमा समावेश हुँदै आएका छन् । नेपाली जनजीवन नेपालको भूगोल बाहिर संसारभर फिँजिएको छ । नेपाल बाहिर रहेका नेपाली एवम् तिनको जीवन अनुभूति समेत व्यक्त हुँदै आएको सन्दर्भमा अब नेपाली लघुकथा लेखन नेपालमा मात्र नभएर नेपाल बाहिर पनि विस्तारित हुँदै आएको छ ।

नेपाली लघुकथामा राजनीतिक प्रवृत्ति

राजनीति राज्य सञ्चालनको मुख्य आधार हो । नेपाली समाजमा राजनीतिको प्रभावबाट सामाजिक जीवनका हरेक क्षेत्र प्रभावित हुँदै आएका छन् । नेपाली समाजका हरेक क्षेत्रमा हुने गरेको अति राजनीतिकरणका कारण समाजमा यसले पारेका सकारात्मक, नकारात्मक प्रभावका विषयमा चर्चापरिचर्चा हुँदै आएको छ । साहित्यकार अति चेतनशील, बौद्धिक प्राणी भएकोले ऊ स्वयं राजनीतिक चेतनाले युक्त हुन्छ । एक लेखक राजनीतिले पारेका सकारात्मक एवम् नकारात्मक पाटोको विश्लेषण गर्न सक्षम हुन्छ । नेपाली लघुकथा लेखनमा सर्वाधिक रूपमा अभिव्यक्त गरिएको विषयका रूपमा राजनीति रहेको छ । साहित्य लेखन मूलतः देशका शिक्षित एवम् बौद्धिक वर्गसँग सम्बन्धित हुने भएकाले यो बौद्धिक कर्म हो । लघुकथा लेखकले जीवन र जगतलाई के कसरी अभिव्यक्त गर्न सक्यो, त्यसैमा नै उसको लेखनगत सफलता मानिन्छ । नेपाली राजनीतिको मूल्यहीनताको आलोचना अध्ययनका लागि नैतिक आदर्शमा स्खलनका घटनाको प्रस्तुति, वैचारिक प्रतिबद्धतामा देखिएको अभावको चित्रण, पदमोह/पदीय मर्यादा कायम गर्न नसकेका घटनाको प्रस्तुति, जनता र कार्यकर्ताप्रति अपहेलनाका घटनाको अभिव्यक्ति, देश र जनताप्रति बेइमानीका घटनाको चित्रण र आश्वासनमुखी–अवसरवादी चरित्रको उद्घाटनजस्ता उपशीर्षक निर्धारण गरिएको छ । त्यसरी नै राजनीतिक अव्यवस्थाको चित्रण अध्ययनका लागि शासनशैलीप्रति जनताको असन्तुष्टिको अभिव्यक्ति, राजनैतिक व्यवस्थाका विकृति–विसङ्गति एवम् भाँडभैलोको चित्रण, प्रजातान्त्रिक मूल्यबोधको अभावको प्रस्तुति, नेताहरूको दुश्चरित्रताको प्रस्तुति, सत्ता दुरूपयोग र राजनीतिकरणका घटनाको अभिव्यक्ति, सहिद र सहिद परिवारको अपमानका घटनाको चित्रण, राजनीतिक ठगी एवम् भ्रष्टाचारजन्य क्रियाकलापको वर्णन, राजनीतिक नेतृत्वको विदेशमुखी चरित्र एवम् क्रियाकलापको अभिव्यक्ति एवम् विदेशीको हेपाहा प्रवृत्ति एवम् असमान व्यवहारको चित्रणलाई उपशीर्षकका रूपमा चयन गरिएको छ । सशस्त्र द्वन्द्वजन्य परिस्थितिको चित्रणको अध्ययनका लागि भय एवम् सन्त्रासमय परिस्थितिको चित्रण, द्वन्द्वबाट आक्रान्त मानसिकता, पीडाबोध र असुरक्षाका घटनाको प्रस्तुति, शान्तिको कामना र युद्धविरामको चाहनाको अभिव्यक्ति, द्वन्द्वकालका गलत कार्यप्रति असहमति एवम् विरोधको भावनाको अभिव्यक्ति एवम् द्वन्द्वको परिणामबाट उत्पन्न अन्योलग्रस्त भविष्यको चित्रणलाई उपशीर्षकका रूपमा चयन गरिएको छ । त्यस्तै अग्रगमनको अपेक्षा एवम् परिवर्तनमुखी चेतनाको अभिव्यक्तिलाई पनि शीर्षकको रूपमा चयन गरिएको छ । यहाँ माथि उल्लिखित शीर्षक एवम् उपशीर्षकलाई राजनीतिक प्रवृत्तिका सन्दर्भमा अध्ययनको विषय बनाएर विश्लेषण गरिएको छ ।


राजनीतिक मूल्यहीनताको आलोचना

कुनै पनि क्षेत्रका आआफ्नै मूल्य हुन्छन् । हरेक क्षेत्रमा सहभागी हुने व्यक्तिका लागि निश्चित आचारसंहिता एवम् अनुशासन हुन्छन् । कतिपय संहिता त्यस क्षेत्रमा कार्यरत समूहले निर्धारण गरेका हुन्छन् भने कतिपय सामाजिक उत्तरदायित्वको कारण पनि मानिस स्वयंले अनुशासन पालना गरेको पाइन्छ । नेपाली लघुकथामा राजनीतिको मूल आधार जनता भएकोले राजनीतिक क्षेत्रका मानिस देश र जनताप्रति इमानदार बन्नुपर्ने विचार व्यक्त भएको छ । नेपाली लघुकथामा जनताप्रतिको प्रतिवद्धताभन्दा व्यक्तिगत लोभलाभमा लाग्ने प्रवृत्तिका कारण देशको विकास हुन नसकेको

सन्दर्भ आएको छ । राजनीतिक मूल्यहीनताका कारण निरंकुशता, भीडतन्त्र अनि अराजकता मच्चिने भएकोले राजनीतिक मुल्यको स्थापनाको चाहना आलोचना अन्तर्गत नैतिक आदर्शमा स्खलनका घटनाको प्रस्तुति, वैचारिक प्रमुख रूपमा व्यक्त भएको छ । यस अध्ययनमा राजनीतिक मूल्यहीनताको प्रतिवद्धतामा देखिएको अभावको चित्रण, पदमोह/पदीय मर्यादा कायम गर्न अभिव्यक्ति, देश र जनताप्रति बेइमानीका घटनाको चित्रण एवम् नसकेका घटनाको प्रस्तुत्ति, जनता र कार्यकर्ताप्रति अपहेलनाका घटनाको आश्वासनमुखी–अवसरवादी चरित्रको उद्घाटनलाई विश्लेषणका आधारका रूपमा चयन गरिएको छ ।


नैतिक आदर्शमा स्खलनको अभिव्यक्ति

राजनीतिको माथिल्लो तहमा रहेका व्यक्तिमा उच्च नैतिक आदर्श हुनुपर्दछ । नेपाली लघुकथामा उच्च राजनीतिक व्यक्तिहरू समाजका अगुवा व्यक्ति भएकोले स्वयंमा उदाहरणीय बन्न सक्नुपर्दछ भन्ने विचार व्यक्त भएको छ। यस क्रममा नेपाली राजनीतिमा देखिएको नैतिक आदर्शको स्खलन, मूल्यहीनता र त्यसको सामाजिक असरको विश्लेषण लघुकथा रचनामा पाइन्छ । यहाँ नैतिक आदर्शमा स्खलनको अभिव्यक्ति अध्ययनका लागि कपिल लामिछानेको गरिबी उन्मुलन, गोरखबहादुर सिंहको मयुरपंखी कलम, कृष्ण बजगाईको मन्त्रीको जुत्ता, हरिहर खनालको ओत, महेश प्रसाईको प्रजातन्त्र एवम् विजयराज आचार्यको सर्वहाराकरण लघुकथालाई साक्ष्यका रूपमा लिइएको छ । नेपाली लघुकथाका यी अंशमा राजनीतिमा आएको नैतिक आदर्शको स्खलनलाई प्रस्तुत गरिएको छ : .

(क) “नेता अलप भए । अझ होहल्ला गर्न खोज्नेलाई गोदगाद–ठोकठाक पारियो । कति रगतपच्छे भए । कतिका हाल र कतिका खुट्टा भाँचिए । कतिका टाउका फुटे। कतिले फुस्रा आँखा पल्टाए । लुसुक्क फर्कनेहरू मात्र सद्दे भए।“ त्यहाँ अहिले कतै गरिबी छ ?” (लामिछाने. २०६८ : ८१) ।

प्रस्तुत अंशमा जनताको गरिबी हटाउने जिम्मा पाएका नेताले गरीब जनताका झुपडी हटाउन लगाएको घटनालाई पस्तुत गरिएको छ । लघुकथामा नेपाली राजनीतिक नेतामा आधारभूत जनताप्रति विश्वास कम हुँदै गएको, नैतिक आदर्श स्खलन भएको अवस्थाबोध भएको छ । यहाँ गरीब एवम् निमुखा जनताको सेवाका नाममा चुनाव जिते पनि जमिन्दार एवम् पुँजीपतिको सेवामा कार्य गरेको कार्यप्रतिको आलोचनाका साथै नैतिक मूल्यको खोजीको विचार व्यक्त भएको छ ।

(ख) “हाम्रो हुकुममा अप्ठेरो ?’’ उनको निधारमा पनि प्रश्न कोरियो । “त्यो केकस्तो अप्ठेरो हो? खुलस्त जाहेर गर ।’’ “सरकार ! ऐनको यो दफाले ….. काखीबाट ऐनको पुस्तक निकाल्दै कारिन्दाले एउटा दफा औंल्यायो । हुकुम बक्सनेले कलमदानीबाट मयुरपंखी कलम निकाले र औंल्याइएको दफामाथि रातो धर्को तान्दै भने– “अब त मिल्यो?’’ (सिंह. २०६१ : १२२) ।

प्रस्तुत लघुकथांशमा नीति, नियम, कानुनभन्दा आफूलाई माथि राख्ने भारदारी शैलीको नेतृत्वको शैलीलाई प्रस्तुत गरिएको छ । हरेक ठाउँमा अनुकूलता मात्र खोज्ने र अनुकूलता नभएको खण्डमा विधिलाई नमान्ने कार्यलाई प्रस्तुत गरिएको छ । यहाँ नेपालमा राजनीतिको आडमा जे पनि गर्ने, समाज र राष्ट्रलाई अहित गर्ने प्रवृत्तिको आलोचना गरिएको छ । लघुकथामा नेपाली राजनीतिको विसङ्गतिलाई कुशलताका साथ प्रस्तुत . गरिएको छ ।

(ग) “जुत्ता त साह्रै सजिलो थियो। कतै खाँदैन थियो । तर केही महिना यता जब–जब जुत्ता लगाएर हिँडनुहुन्थ्यो, तब–तब दुःख, चित्कार र पीडाको आवाज आएको अनुभूति हुनथाल्यो ।“ केही समयपछि त्यस जुत्ताको रङमा पनि परिवर्तन आएको देख्न थाल्नुभयो । मन्त्रीज्यूले त्यसमा पालिस दलेर खुब चम्काउनुभयो । जति जति जुत्ता टल्किँदै जान्थ्यो, दुःखी, पीडित र गरिबको ख्याउटे अनुहार झन्झन् स्पष्ट देखिन थाल्यो जुत्तामा । उहाँले पीडाको आवाज सुनिरहनुभयो, विम्ब देखिरहनुभयो । यस्तो आश्चर्यजनक घटनाका बावजुद पनि मन्त्रीज्यूले त्यो जुत्ता लगाउन छाड्नुभएन (बजगाई. २०६४ : २३–२४) ।

प्रस्तुत अंशमा जनताको पक्षमा काम गर्ने एक राजनीतिकर्मी शासन सत्ता प्राप्त गरेपछि उसमा आउने परिवर्तनलाई देखाइएको छ । सत्ता प्राप्त नहुँदासम्म जनताको आवाज सुनिने र सत्तामा पुग्नेबित्तिकै सुन्न छाड्ने जाने क्रम बढ्दछ । लघुकथामा राजनीतिक नेतामा नैतिक आदर्शको कमीका कारण मूल्यप्रतिको उदासिनता उत्पन्न भएको विषयलाई प्रस्तुत गरिएको छ । लघुकथामा कुनै समय असल मानिएका मानिस पनि व्यवस्थाभित्र पसिसकेपछि क्रमशः बेइमान बन्ने र स्वार्थको घोडामा चढेर जनताप्रतिको उत्तरदायित्वबाट विमुख बन्ने गरेको अवस्थालाई व्यङ्ग्य गरेर प्रस्तुत गरिएको छ ।

(घ) “मलाई पनि अतिथिका रूपमा ड्यासमा बसाउने भए हुन्छ ।’’ उसले लाज पचाएर बोली ओकल्यो । समारोह तोकिएकै समयमा सुरु भयो । दक्षिणपट्टिको भित्तामा…… दिवस लेखिएको झन्डै दुई मिटर लामो रातो तुल

र त्यसको ठिक बिच भागमा टाँगिएको स्वर्गीय नेताको भव्य तस्बिर अघि खचाखच भरिएको सभास्थल । समारोह ओझिलो देखिन्थ्यो । सभापतिको औपचारिक बरणपछि प्रमुख अतिथिले आसन ग्रहण गरे । लगत्तै उद्घोषकले स्थानीय बद्धिजीवीका हैसियतमा सिसापसले साहूजीको नाम उच्चारण गरे । पसले श्रोताहरूको बिचबाट बिस्तारै उठ्यो, मञ्चमा पुग्यो र नरम मुद्रामा दर्शक श्रोतातिर हेरेर हात जोन्यो । प्रमुख अतिथि उठेर न्यानो हात मिलाउँदै कान्तिकारी शैलीमा उसको स्वागत गरे । त्यसपछि दुवै लचकदार सोफामा बसे (खनाल, २०६४ः ९६) ।

प्रस्तुत अंशमा राजनीतिमा साहूमहाजनको हस्तक्षेप कसरी हुन्छ भन्ने सन्दर्भलाई प्रस्तुत गरिएको छ । राजनीतिक नेतृत्वले लाभलाई नै प्रमुख ठानेपछि राम्रानराम्रा सबै किसिमका मानिस समेटने कार्य गर्दछन् जसले गर्दा खराब पक्षले भूमिका बढाउँदै जान्छ । यसै सन्दर्भमा यस लघुकथामा साठीको दशकपछिको नेपाली राजनीतिको चित्र प्रस्तुत गरिएको छ । यस अंशमा आर्थिक रूपमा सहयोग गर्ने मानिसलाई प्राथमिकता दिने, आफ्नो सङ्गठनको मूल्य–मान्यताप्रति लापरवाह बन्ने प्रवृत्तिका कारण राजनीतिमा नैतिक आदर्शको अभाव देखिँदै आएको सन्दर्भ व्यक्त भएको छ । यहाँ एक निश्चित वर्गको लागि स्थापित पार्टीमा अर्कै वर्गका मानिस हावी हुन थालेपछि वर्गपक्षधरता लोप भएर समन्वयवाद हावी भएको सन्दर्भलाई कुशलताका साथ प्रस्तुत गरिएको छ । लघुकथामा व्यङ्ग्यात्मक चेतना आएको छ ।

(ङ) मन्त्रीपुत्रमाथि कारबाही गर्ने कुरा टालटुल गरियो । अर्कातिर छात्राहरूको रोष तीव्र रूपमा बढिरहेको थियो । मन्त्रीपुत्रलाई दण्डित नगरे उनीहरू कक्षा बहिष्कार गर्ने अडानमा थिए । क्याम्पस प्रमुखले स्टाफ मिटिङ बोलाए । मिटिङमा सहभागीहरूले मन्त्रीपुत्रका विरुद्ध हस्ताक्षर गर्न अस्वीकार गरे । त्यहाँ सन्नाटा छायो । त्यस दिनदेखि अपमानित छात्राले क्याम्पसबाट आफ्नी नाम कटाइन् (प्रसाई, २०६८ : २७) ।

यस अंशमा राजनीतिकर्मीका छोराले खराब काम गरेपनि उसलाई कारबाही नगर्ने क्याम्पस प्रमुख एवम् प्राध्यापकहरूको कार्यलाई प्रस्तुत गरिएको छ। लघुकथामा सत्ता एवम् शक्तिका सामु झुकेर आफ्नो कर्तव्यप्रति विमख पात्रको भूमिकालाई असल मान्न सकिन्न । आफू राजनीतिमा भएका कारण आफ्ना सन्तानका क्रियाकलापको ढाकछोप गर्ने बचाउने खोज्ने नेता प्रवृत्तिले उसमा देखिएको मूल्यहीनता कमीलाई प्रस्तुत गरेको छ। लघुक्रयामा गलत पात्र र र राजनीतिक संस्कारको आलोचनात्मक चेत व्यक्त भएको छ ।

(च) एक साता नबित्दै सबै नेताहरू आफ्नो सम्पत्ति पार्टीलाई बुझाउत जग्गाजमिनको लालपुर्जा, गाडीको साँचो आदि लिएर पार्टी कार्यालयमा पुगे, फर्किंदा उनीहरूको झोलामा सुविधासम्पन्न बङ्गलाको चाबी, तयां विलासी गाडीको साँचो, मासिक तलबको मोटो बिटो अनि छोराछोरीलाई सबैभन्दा महँगो स्कुलमा पढाउने कागजपत्र थियो (आचार्य. २०७६ ८८) ।

यस अंशमा पछिल्लो समयमा सर्वहाराका नाममा देखिएको राजनीतिक विकृतिलाई प्रस्तुत गरिएको छ । लघुकथामा सम्पत्ति पार्टीलाई बुझाउने अर्कोतिर राज्यको सम्पत्ति, सुविधा आदि प्राप्त गरेर नवधनिक वर्गका रूपमा उदाएका कम्युनिष्ट नेतावर्गको चरित्रलाई प्रस्तुत गरिएको छ । यहाँ समाज परिवर्तनका नाममा भएका राजनीतिक आन्दोलनबाट उदाएका राजनीतिक नेतृत्वमा देखिएको भोगविलासपूर्ण क्रियाकलापप्रति व्यङ्ग्य गरिएको छ । नेपाली लघुकथामा नेपाली राजनीतिको पछिल्लो चरणको आपराधिक चिन्तन, मनोवृत्ति एवम् कार्यलाई प्रस्तुत गरेको छ । नेपाली राजनीतिमा गिर्दो मूल्य–मान्यता र आदर्शको स्खलनलाई व्यक्त गरिएको छ । राजनीतिका आडमा अपराधमा वृद्धि भएको, राजनीतिकर्मी जनताप्रति इमानदार नभएको र लोभलाभमा भुलेको अवस्थालाई कुशलताका साथ प्रस्तुत गरिएको छ । नेपाली लघुकथामा समकालीन युगका विसङ्गत चित्र व्यक्त हुँदै आएको छ ।

साभारः नेपाली लघुकथाका मूल प्रवृत्तिहरू

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment