Monday, January 19, 2026

व्यक्तित्व (अङ्क ३१ मा प्रकाशित)

आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार विजय सागर (सं. २००६) देखा परेका हुन् । उनको पहिलो कथा हो 'सङ्कुचित माया’ (सं. २०२४) जुन 'गुराँस’ पत्रिकाको तेस्रो अङ्गमा छापिएको थियो । इतिहास विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका उनको अभिरुचि साहित्यिक पत्रकारितामा पनि रहेको पाइन्छ । तानसेन, पाल्पामा जन्मेका उनी स्थानीय स्तरका विभिन्न पुरस्कार, सम्मान तथा अभिनन्दनद्वारा सम्मानित भइसकेका छन् । उनी 'गोरखा दक्षिण वाहु’ (सं. २०५० चौथा), 'छविलाल प्रतिभा पुरस्कार’ (सं. २०६३), 'सिर्जनशील साहित्यिक समाज सम्मान’ (सं. २०६३), अली मियाँ लोक वाङ्मय प्रतिष्ठानद्वारा सम्मानित भइसकेका छन् । लामो समयदेखि सरकारी सेवामा कार्यरत उनका कथासङ्ग्रहहरू यस प्रकार छन् :


१. हाम्रा कथाहरू (सं. २०३१ अन्य दुई कथाकार हितान र निर्माया थापाका साथ संयुक्त),
२. सागरका कथाहरू (सं. २०६०),
३. विवसका कथाहरू (सं. २०६६ः अन्य दुई कथाकारहरू वनमाली निराकार र रुद्र ज्ञवालीका साथ संयुक्त) ।

विजय सागर कविता विधाका पनि स्रष्टा हुन् ।

विजय सागर समाजका ठुलाबडा भनाउँदाहरूबाट निमुखा र निर्वलिया मानिसहरूमाथि हुने गरेका अमानवीय र गैरसामाजिक व्यवहारको कडा आलोचना गर्ने चेतनशील कथाकार हुन् । यसको अर्थ उनी समाजमा हुने गरेका आम शोषण तथा अन्याय र अत्याचारको विरोध गर्दछन्, यो कुरा उनका 'कौवा’, 'राना दाइ’, 'पाजीको वक्तव्य’, 'कमिलाहरूको लाम’ 'पल्लेदारको छोरा’ जस्ता लघुकथाहरूबाट पुष्टि हुन्छ । उनले 'कौवा’ कथामा समाजका शोषकहरूको अधिनायकवादी वा निरङ्कुश प्रवृत्तिको पर्दाफास यसरी गरेका छन् :

तर नतिजा उल्टो भयो । ऊ अब कसैको अधीनस्थ भएन त्यसैले झन् बलवान् भयो । अनि त आफ्नो दल, बल र कुटिलताले ऊ पक्षीहरूको अधिनायक भयो । अनि निर्विघ्न अन्याय, अत्याचार गर्न पनि ऊ डराएन । डराउन पनि किन पयो र ? उसले कसैको बचेरा लुटेर खाइदिँदा उसलाई झपेटा हान्ने को ? गुँड नै भत्काएर फुल खाइदिंदा विद्रोह गर्ने को ? उसले कसैका आहार खोसिदिँदा हल्लाखल्ला गर्ने को ? कसैबाट विद्रोह र हल्ला नभएपछि कौवाको वंशमै यही प्रवृत्ति कायम रहन गयो । 

साँच्चै कौवाको अत्याचारीपन के तपाईंं‌ हामीबाट लुकेको छ र ? स–साना भँगेराका बचेराहरूलाई गुँडबाट नै ठुँगेर लगेको के तपाईं हामीले हाम्रो आँखाबाट देखेका छैनौं र ? तर देखे पनि के तपाईं हाम्रो हृदयमा भँगेराप्रति दया र कौवाप्रति विद्रोहको भाव जागेको छ र ? मात्र देख्दासम्म हेछौं र त्यसपछि त्यस घटनालाई त्यसरी नै बिर्सिदिन्छौं जसरी त्यसलाई देखेका थियौ, हैन र ?

कागका अधिनायकवादी प्रवृत्तिलाई अन्योक्ति (Allegory) बनाएर कथाकार सागरले मानव समाजमा हुने गरेका शोषण र अनाचारलाई इङ्गित गराएका छन् । त्यसरी नै यी कथाकारले 'पाजीको वक्तव्य’ कथामा समाजका अल्पसङ्ख्यक शोषित–पीडित र आवाजविहीन जनतामाथि माथिका अधिकारवालाहरूले गर्ने गरेका दमनको कथालाई यसरी भनेका छन् :

वक्तव्यको दिन आयो । खरायोहरू उत्सुकताका साथ उफ्रिरहेका थिए । पाजीले देशको नीति एवं व्यवस्थाबारे वक्तव्य दिए । तर बिचरा खरायोहरू विचल्ली परे । नयाँ नीति र व्यवस्थाभित्र उनीहरूको मागको कुनै वास्ता राखिएको थिएन । मत्ता र ढोईहरूले खुसीले गद्गद भै कर्ण भेदी हुँकार गरे। आक्रोशमा मैदानमा प्रत्येक भयाडहरू कुल्ची–कुल्ची किचीमिची पारे । बिचरा खरायोहरू आफ्नो दुर्दशा आँसु चुहाउँदै हेरिरहे ।

खरायोहरूका मागलाई राष्ट्रले पनि वेवास्ता गर्ने र उल्टै मत्ता र ढोई (शोषकवर्ग) का निरङ्कुश प्रवृत्तिलाई पृष्ठपोषण गरेको यथार्थको अङ्कन माथिको कथांशमा गरिएको छ । वास्तवमा समाजमा शोषित–पीडित आम मानिसहरूको दुरवस्था कतिसम्म हृदयविदारक हुन्छ भन्ने कुरा कथाकार विजय सागरले ’पल्लेदारको छोरो’ कथामा स्पष्ट पारेका छन् । भोको पेट बाँच्न विवश गरिबहरूको दुर्नियतिको कथा कथाकारले भनेका छन् । 'राना दाइ’ कथामा पनि उनले गरिबहरूकै जीवन–सङ्घर्षको यथार्थलाई यसरी प्रस्तुत गरेका छन् :

केही दिनअघि मलाई भैरहवा जानु थियो । सुटकेस उनैलाई बोकाएर बस स्टप झर्दै उनीसँग मैले सोधें हैन राना दाइ तपाईंको खास घर कहाँ हो ? मैले तपाईंलाई जानेदेखि यही पौवामा बसेको देखिरहेको छु ।

खिस्स दाँत देखाएर हाँस्दै उनले भने बाबूले अनौठो सोध्नुभयो त । अनि नरोकिएर फेरि भने बाबूहरू नजन्मिदै म यहाँ आएको हुँ। घरमा बसेर के गर्ने ? वर्षा लाग्यो पहिरोले बगाइदेला भन्ने डर, गर्मी लाग्यो फुसको घर डढ्ला भन्ने डर; बतास लाग्यो उडाइदेला भन्ने डर, अनि सबभन्दा त तल्सिङले नालिस देला भन्ने डर, अनि कसरी त्यो घरमा बस्ने ? जबसम्म यी दुई पाखुराहरू बलिया होलान् तवसम्म आफू कमाउँला खाउँला । यी पाखुरा निर्बलिया भएको बखत सन्तानले ख्वाए ख्वाउलान् नख्वाए मुसाको दबाई त छदै छ । अनि उनी चुप लागे ।

निम्नवर्गका मानिसहरूको श्रमको शोषण गरेर आफू मोटाउने वा अघाउने समाजको अभिजातवर्गको दुष्ट मनोवृत्तिको रहस्योद्घाटन 'कमलाहरूको लाम’ कथामा गरिएको छ । समग्रमा कथाकार विजय सागरले हाम्रा समाज व्यवस्थाभित्रका विषमता तथा विसङ्गतिहरूलाई लघु आख्यानको रूप दिएका छन् । उनले सामन्ततन्त्रको खिल्ली उडाएका छन् ('नयाँ कोट’ र ’गधाकाजीको गुरुकुल आश्रम’ कथाहरू) र शोषणमा आधारित समाजको यथार्थ चित्रण गरेका छन् ।

कथाकार विजय सागर मानवीय मनोवृत्ति एवम् संस्कारका परिणतिहरूलाई सूक्ष्म रूपमा हेर्ने स्रष्टा पनि हुन् । उनको विचारमा मानिसभित्र जुन संस्कारले जरो गाडेको हुन्छ अथवा मान्छेमा जुन जन्मजात वा प्रकृतितः मनोवृत्ति रहेको हुन्छ, त्यो मेटेर मेटिन्न । 'छेपारोको रङ्ग’ कथामा सेठका पुत्रहरू पहिले पनि उदार नै रहेको, कालान्तरमा पनि उदार रहेको तथ्यलाई देखाइएको छ । तिनीहरूले त्यो राम्रो संस्कारलाई कस्तै विषम परिस्थितिमा पनि छाउन नसकेको कुरो यस कथामा देखाइएको छ । त्यस्तै मान्छेभित्र जुन निच वा निकृष्ट मनोवृत्ति हुन्छ, त्यो पनि परिवर्तन नहुने कुरोलाई ’राक्षस’ कथामा यसरी प्रस्तुत गरिएको छ :

वृद्धाले चारैतिर हेरी अनि औषधि किन्न गएको कलकत्ते छोरालाई नपर्खीकनै सधैंका लागि आँखा चिम्लिदिई । रुवाबासी चल्यो । थामियो । काजकिरिया सकियो । बल्ल गाउँ नै थर्काउने गरी कलकत्ते रुँदै आइपुग्यो । कलकत्ते आएको खबरले साहुहरू बौरिए । आमा र बाबुको सेवा टहलमा त्यस सानो फुसको घर र पाखो बारीले नधान्ने ऋण लिइसकिएको रहेछ । उपाय केही निक्लेन । भाइहरूलाई साक्षी राखी कलकत्तेले साहुहरूलाई तमसुक गरिदियो । लोकाचार भ्याएर कलकत्ते फेरि उड्यो । घरमा आमा बाबु बित्दा भन्दा पनि बेगले रुवाबासी बल्यो । तर त्यो रुवाबासी मात्र रित्तो आकाशमा बिलायो ।

मान्छेभित्रका बर्बर र पाशविक संस्कार तथा मनोवृत्तिको ज्वलन्त उदाहरण बनेको छ ’राक्षस’ कथाको कलकत्ते पुत्र । ’नेत्रदान’ कथामा पनि कथाकार विजय सागरले मान्छेको राक्षसी रूपको चिरफार यसरी गरेका छन् :

तालीको गडगडाहटबिच माइक समातेर ऊ बोल्यो –आँखा पाएर संसार देखेको उल्लासमा मैले ३ वर्षअघि यस्तै आमसभामा बोलेको थिएँ संसारको सबभन्दा सुखी मान्छे म हूँ तर आज आएर म ती शब्द फिर्ता लिन्छु ।

सभामा एक्कासि स्तब्धता छायो ।

ऊ बोल्दै गयो – मैले मान्छेलाई चिनेको रहेनछु । मान्छे मान्छेको भेषमा मान्छे नभएर राक्षस रहेछ । ऊ भन्दै गयो –आँखादान पाएपछि मैले के… के देखें के… के देखें। लोग्नेले स्वास्नीलाई, स्वास्नीले लोग्नेलाई सजिलै विश्वासघात गरेको देखें। जन्म दिने आमाले सालनालसहितको बच्चाको घाँटी च्यापेको देखें। सन्तानहरूले वृद्ध बाबुआमाहरूलाई लत्याएका देखें खै । मैले के… के देखें। आँखा भएर नीचता र अन्धता बोकेको मान्छेहरू देखेर म वाक्कदिक्क भएँ। बरु आँखा दान पाउनुअघि म शान्त र खुसी थिएँ । त्यसैले यो आमसभामा म आफूले मान्छेहरूको दया र स्नेहसाथ पाएका यी आँखा पुनः मान्छेहरूलाई फर्काउने घोषणा गर्दछु ।

उपर्युक्त कथांशमा कथाकार विजय सागरले मान्छेको नीच मनोवृत्तिप्रति व्यङ्ग्य गरेका छन् । उनको विचारमा मान्छे सुन्दर अनुहार भएको मकुन्डो लगायर समाजको अगाडि देखा पर्ने गर्दछ, तर वास्तवमा उसको नीचता झल्किरहेको हुन्छ भन्ने कुरालाई उनले ॅयथार्थ’ कथामा देखाएका छन् । समाजमा आदर्श गुरm भनेर सबैद्वारा पूज्य व्यक्ति भित्री रूपमा कस्ता हुँदा रहेछन् त ? यस कथाको निम्न अंश पढौं :

केही वर्षपछि म प्रहरी निरीक्षक भएर पुनः त्यही ठाउँमा खटिएं ।   गुरुज्यूको रोबदार चेहेरा अझै त्यस्तै थियो । भेट हुनासाथ मैले झुकेर अभिवादन गरें । मेरो प्रगतिमा वहाँले प्रफुल्ल हृदयले बधाई दिनुभयो ।

केही दिनपछि त्यहाँ जुवाले हल्लाखल्ला मच्चायो अनि एक रात जुवाको अखाडामा घेरा हालें र दुवै हातमा रिभल्भर लिएर जब म जुवाको कोठामा पुगें दृश्य अनौठो देखें – मेरा पूज्य गुरुज्यू कौडा भएको हात हल्लाउँदै भन्दै हुनुहुन्थ्यो – भारभुरे वाद ।

मोहभङ्गको स्थितिमा पुग्न बाध्य मान्छेको नियतिलाई यस कथांशमा प्रस्तुत गरिएको छ । कथाकार विजय सागरको विश्वास के पनि रहेको पाइन्छ भने मान्छे जतिसुकै बर्बर र स्वार्थी भए पनि अन्ततः मानवीय संवेदनायुक्त भने हुन छाड्दैन । यो कुरो उनले 'सन्धि’ कथामा व्यक्त गरेका छन् । यसको अर्थ उनले समग्रमा भित्री मान्छेको सच्चा अनुहारलाई चिनाउने काम आफ्ना कथाहरूमा गरेका छन् । विजय सागर समसामयिक राष्ट्रिय परिवेशप्रति संवेदनशील कथास्रष्टा पनि हुन् । 'गधाकाजीको गुरुकुल आश्रम’ कथामा उनले देश चलाउने व्यक्तिहरूको मूर्खताको पर्दाफास गरिदिएका छन् भने ’वाम पुडकेहरूको देशमा’ र ’मुर्दाहरूको वस्ती’ कथाहरूमा देशकै अत्यन्त गए गुज्रेको अवस्थाको रहस्योद्घाटन गरिदिएका छन् । ॅसाना उद्योग’ भन्ने कथामा चाहिँ उनले देशमा माविका मान्छेहरूको भित्री मिलेमतोमा हुने गरेको भ्रष्टाचारको खुलासा गरिदिएका छन् । कथामा भनिएको छ :

टेवुलभरि 'ट्वाइट हर्स’ नचाउँदै वहाँले भन्नुभयो –भतिजाहरूले ऋण लिइहाले । कच्चा पदार्थ पाइएन । त्यसैले जङ्गलमा नयाँ विरmवा हुर्काउन लगाएको छु । कच्चा पदार्थ तयार नहुँदासम्म पुँजी किन निष्कृय राख्ने ? त्यसैले केटाहरूले बस किनेका छन् । धेरथोर आम्दानी पनि छ । किस्ता पनि नियमित तिरिएकै छ । तर अलिअलि फरक परेछ । प्रगति प्रतिवेदन यताको उता र उताको यता पो परेछ ।

अनि रित्तिन लागेका गिलासहरूमा “ह्विस्की’ खन्याउँदै वहाँले हाँस्दै अगाडि भन्नुभयो– यता किस्ता पनि सकिन्छ, उता जङ्गलबाट कच्चा पदार्थ पनि तयार हुन थाल्ने छ – त्यो बेला उद्योग पनि आफ्नै, बस पनि आफ्नै कसो ? आयोगतर्फ फर्केर वहाँले हाँस्दै सोध्नुभयो ।

निहरिँदै उठ्दै, हात जोर्दै, हाँस्दै आयोगका अध्यक्षले भन्नु भयो – हो हजुर ।

राष्ट्रको ढुकुटीमा मनोमानी गर्ने भ्रष्ट ठुलाबडाका धज्जी उडाउने काम कथाकार सागरले गरेका छन् । यसै क्रममा उनले राष्ट्रिय समस्याका रूपमा रहेको गरिबीको मुद्दालाई उठाएर यसको दुष्परिणाम भोग्न बाध्य नेपाली पुत्रहरूको पीडालाई 'हाम्रो अनुहार’ कथामा देखाएका छन् । शरीर बेचेर जीविका चलाउन वाध्य नारीले आफूबाट गैरकानुनी रूपमा जायजन्म भएको छोरालाई आफ्नो सक्कली वुवा चिनाउन नसक्नु साँच्चै नै दुर्भाग्यको कुरो हो । यस्तै दुर्भाग्यको कथा ’बुबाको नाम’ कथामा पनि छ । वदिनी पुत्रले आफ्नो बाबुको नाम भन्न नसक्नुको बाध्यता के देशकै लागि सरमको कुरा होइन ? यसरी कथाकार सागरले राष्ट्रिय सरोकारका प्रश्नहरू उठाएर आफूभित्रको युगीन चेतनालाई कथाहरूमा व्यक्त गरेका छन् ।

कथाशिल्पी विजय सागर व्यङ्ग्यकार पनि भएको कुरोलाई ’नयाँ कोट’, 'गधाकाजीको गुरुकुल आश्रम’, 'नेत्रदान’, 'मुर्दाहरूको बस्ती’, 'बाम पुड्केहरूको देशमा’, 'साना उद्योग’ जस्ता कथाहरूले पुष्टि गर्दछन् । उनका कथाहरूमा राजनीतिक व्यङग्य छँदै छ, मान्छेभित्रका आडम्बरी र निच प्रवृत्तिप्रति पनि कडा व्यङ्ग्य छ । उनले व्यङ्ग्यलाई कतै अन्योक्तिका माध्यमबाट प्रकट गरेका छन् भने कतैचाहिँ परोक्ष तरिकाबाट प्रकट गरेका छन् । उनको आख्यान शैली निकै प्रभावकारी हुँदाहुँदै पनि 'स्वर्गमा पुगेका बालकहरू’, 'नयाँ कोट’, ’हाम्रा अनुहार’, 'नेत्रदान’ जस्ता कथाहरूमा बालकथाको संस्पर्श र आस्वाद पाइन्छ । 'छेपारोको रङ्ग’ कथामा चाहिँ नीतिकथाको आभास भेट्टिन्छ । तर यति भएर पनि उनका अधिकांश लघुकथाहरूमा विशुद्धताको निर्वाह भने गरिएको नै पाइन्छ ।

निष्कर्षमा के भन्न सकिन्छ भने कथाकार विजय सागर असन्तुलित सामाजिक व्यवस्थाप्रति असन्तुष्ट स्रष्टा हुन् । उनी मान्छेभित्रको वास्तविक मनोवृत्तिमा गहिरो अभिरुचि राख्दछन् । उनी युगीन चेतनाभिमुख संवेदनशील कथा सर्जक हुन् ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment