"बाबा ! भगवान्को पालादेखि चलेको चलन । सधैँ एकै ठाउँमा बसेर हुँदैन । अब हामी छुट्टिएर बस्छौँ । हाम्रो भागमा केकति आउँछ, भाग लगाइदिनुहोस्," भरतको जेठो छोराले भन्यो ।
एकैछिनमा जेठी बुहारी बोली, “बुबा ! म त बालककालमा बुहारी बनेर यस घरमा भित्र पसेकी । अरूले भन्दा अलि बढी दुःख गरेकी छु । हाम्रो भागमा त केही न केही बढी नै पर्छ होला नि !’’
“बुबा ! मलाई त तपाईंको छोराले भगाएर ल्याउनुभएकोले मेरो बिहेमा त फुटेको कौडी नि लागेको छैन । हामीलाई त झन् बिहे भाग समेत हिसाब गरेर दिनुपर्छ”, माइली बुहारी डिठ्ठा बिचार्नी भएर बोली ।
भरत केही बोल्न सकेनन् । ओछ्यानमा अक्सिजन लाएर लडिरहेकी उनकी श्रीमतीले स्याँस्याँ गर्दै भनिन्, “पख न त, भाइ आइपुग्ने बेला भयो । अंशवण्डा रोज्ने अधिकार कान्छोको हुन्छ भन्छन् । पहिला उसले रोज्छ अनि तिमीहरू रोजौला ।’’
सबैजना कान्छोको प्रतीक्षा गरेर बसे । केही क्षणमा कान्छो आइपुग्यो र सबै माहोल बुझिसकेपछि भन्यो, “मलाई जेठो र माइलो दाइको जस्तो केही रोज्नु छैन बुबा । तपाईंहरूले दिनुभएको संस्कार र शिक्षादीक्षा नै मेरो लागि सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसैले म बूढा अवस्थाका हजुरहरूको पालनपोषण गर्ने काम रोज्छु ।’’

No comments:
Post a Comment