Wednesday, January 21, 2026

अनुवाद लघुकथा (अङ्क ३१ मा प्रकाशित)


पछिल्ला केही महिनादेखि मनमनै उथलपुथल भएर, ऊ हिम्मत बटुलेर बोल्यो, “बुबा ! नचाहँदा नचाहँदै पनि पछिल्ला केही समयदेखि हजुरको स्वास्थ्यलाई लिएर म चिन्तामा छु, किनकि मेरो व्यापार नै यस्तो छ । कतिपय मान्छेले मलाई दिनदिनै भेट्न आउँछन् जसले मास्क पनि लगाएका हुन्नन् । 

न म नै दिनभर मास्क लगाएर बस्न सक्छु । रिना पनि यहाँ–वहाँ बाहिर आउने–जाने गर्छे । यस्तोमा कोरोनाको डर सधैंभरि हुने गर्छ । हजुरको उमेरलाई हेरेर म भित्रभित्रै अत्यन्त भयभित हुन्छु । यदि हजुरलाई कोरोना भयो भने म त कहीँको रहने छैन । म चाहन्छु कि यो कोरोना कालमा हजुर गाउँमा काकाकहाँ जानुस्, कि भने सहरमा बनेको सर्वसुविधायुक्त वृद्धाश्रममा बस्नुस् । बरु म हजुरलाई भेट्न आउँला ।’’

छोराको चिन्ता हटाउँदै मोहनलालजीले निःसङ्कोच जवाफ दिए, “छोरा ! तिमी मेरो स्वास्थ्यप्रति यति सजग छौ, यो त मेरा लागि एकदम खुसीको कुरा हो । यो सजगता सधैँ रहिरहोस् । त्यसैले म चाहन्छु कि तिमी र बुहारी कतै नजिकै, भाडामा कुनै घर खोज । यो उमेरमा म आफ्नो घरबाट बाहिरिन चाहन्नँ ।’’

यो अनपेक्षित जबाफ सुनेर उपेन्द्र अकमकियो र तुरन्त आफूलाई सम्हाल्दै भन्यो, “हैन हैन बुबा ! यो उमेरमा हामी हजुरलाई एक्लै छोडेर कतै पनि जाँदैनौँ ।’’

- छत्तिसगढ, भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment