Wednesday, January 21, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


"बाबा ! उसलाई हेर्नू त !’’ नातिनी तप्तिले के हेर्न भनी भनेर उसले भनेको दिशा तर्फ हेरेँ । अरू विद्यार्थी सँगसँगै सीता पनि विद्यालयको वाहनबाट ओर्लंदै रहिछिन् । 

बिहान मात्र श्रीकृष्णले ती नानीसँग कुरा गरेको सुनेको थिएँ । 

श्रीकृष्ण एक सेवा निवृत्त वरिष्ठ कर्मचारी हुन् । उनी र म हरेक दिन  आ–आफ्नी नातिनीलाई विद्यालयको वाहन रोकिने ठाउँसम्म पुर्‍याउन र लिन जाने गर्दछौँ । अन्दाजी ६, ७ वर्षकी एक बालिका सधैँ त्यहीँ नीर उभेर हेरिरहेकी हुन्छे । श्रीकृष्णलाई मनमा जिज्ञासा भयो र त्यो सानी नानीलाई बोलाएर सोधे “तिमी सधैँ यहाँ उभिएर के हेरिरहन्छौ नानी ?’’

उसले केही जवाफ दिइन र ओैलाको नङ मात्र टोकिरही ।
“के हेर्ने गरेको, भनन् ?’’ श्रीकृष्णले पुनः सोधे ।

दुई चार पटक सोधेपछि ऊ बल्ल बोली, “मलाई पनि स्कूल जान मन छ, सपनामा सधैँ स्कूल गाको देख्छु ।’’ उसको बोली करुणामय थियो ।

“तिम्रो नाम के हो नि?’’ श्रीकृष्णले उसको नाम पनि जान्न खोजे ।
“सीता नेपाली’’ उसले भनी ।
“बुबा आमा के गर्नु हुन्छ ?’’ श्रीकृष्ण ती नानी बारे बुझ्न खोज्दै थिए ।
“बा हुनुहुन्न आमा मजदुरी गर्नु हुन्छ ।’’ उसले बल्ल राम्ररी मुख खोली ।

अपरान्ह वाहनबाट ओर्लेपछि मेरी नातिनीले अरू विद्यार्थी सँगसँगै सीता पनि ओर्लंदै गरेको देखेर मलाई देखाउन खोजेकी हो । 

मलाई जिज्ञासा लागेर सोधेँ “कसले भर्ना गरिदिनु भो विद्यालयमा नानी ?’’ 

“उ ! वहाँ हजुर बाले, आमालाई नि वहाँको छोराको अफिसमा काममा लगाइदिने भन्नु भा छ ।’’ सीता श्रीकृष्णतिर ओैँला देखाउँदै फुरुङ्ङपरि सुनाउँदै थिई ।

म नातिनी डोर्‍याउँदै मनमनै गुन्दै हिँड्दै थिएँ, “मानवता अझै जीवित नै रैछ !’’

- वीरगञ्ज हालः काठमाडौँ – ५

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment