Wednesday, January 21, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


छिमेकीको घरमा काल्लकुल्ल स्वरहरू सुनिन्छन्, के भो भनेर कौसीबाट नै हेरें, आठ वर्ष जति भएको बच्चाले खाना खान नमानेर खाना खुवाउन त्यही बच्चाको पछि पछि सबै घर परिवार दगुर्दै थियो । बच्चा पनि अति नै अटेरी ।

हरे…. यो बेलाँ त म गाग्री बोकेर बाहिरदेखि पानी बोक्न जानुपर्थ्यो । बच्चैदेखि घरको काममा आमालाई सघाउनु पर्थ्यो मैले ।

यता छिमेकीको घरको यो दृश्य देखेर मनमा केके कुराहरू खेल्न थाल्यो । कौसीकै मेचमा बसेँ । हातमा चियाको कप छ ।

अस्ति मात्र एकजना साथीकोमा पसेकी थिएँ । साथीको छोरीले दश हजार रुप्याँ चाहियो भनेर कचकच गरिराख्या बेलां नै पर्यो । साथीले आफ्नी छोरीलाई सम्झाउन नसकेको कारण उनी दिक्क मानिरहेकी थिइन । 

“ए नानु ! तिमीलाई यत्रो दश दश हजार रुप्याँ किन चाहियो?“ मैले सोधें । उनीहरूको स्कुलबाट खोइ कता हो घुमाउन लाने रे । अहो….. आजकालका बच्चाहरूलाई दश दश हजार पैसा माग्न पनि आमाबौ सँग डर भन्ने फित्तिकै रहेनछ । उल्टो आमा चाहिँ सँग झगडा गर्दैथी । 

पहिले पहिले हामीलाई स्कूल जाँदा जम्मा एक रुपेँ दिन्थ्यो । अरु केही परे थप पैसा आमाबाबु सँग माग्न त कताको आँट आउनु ? साँच्चै त्यो बेलाँ आमाबाबुको अलिकता ठुलो स्वर सुने मात्र पनि हामी कति डराउथ्यौं । स्मृतिका पाना ताजा हुँदै आयो ।

विवाह भयो, सासू ससुरादेखि डर, आफ्नै लोग्ने देखेर समेत डर थियो । केही गल्ती होला कि भनी हरेक पाइला होसियार पूर्वक चाल्थेँ । सासु ससुराको अगाडि त आफ्नै लोग्नेसँग कुरा गर्न पनि डर । तर आजकलका बुहारीहरू विवाह हुने बित्तिकै आफ्नो बुढा लिएर बिदेश जान नै हतारिन्छन् ।

सन्तान भएपछि त झन् आफ्ना सन्तानलाई केही होला कि भन्ने डर । अहिले त सन्तानहरू पनि आफ्नै खुट्टामा उभिन सक्ने भैसकेछन् । उल्टो तिनै सन्तानहरूले आमालाई एक्लै छाडेर जाला भन्ने पो पीर । आज आफ्नै सन्तान देखेर डराइ बस्नुपर्ने भएँ म । 

समयले कोल्टे फेरिसकेको छ । आज कोही देखेर कोही डराउँदैनन् । यी सब कुरा सम्झिदै गर्दा मेरो मुखबाट अनायास वाक्यांश निस्कियो– “आजसम्म डराइ डराइ बाँचिरहेकी अन्तिम पुस्ता के म नै हुँ त ?’’ कपमा हेरेँ चिया सिद्धिसकेको रहेछ ।

- ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment