Wednesday, January 21, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


कवि महोदयले आफू घरबाट निस्कनु अघि परिवारलाई जानकारी दिनु भयो, आज म घरमा खाजा खान्न है, एउटा कार्यक्रममा जानु छ, खाजा उतै खान्छु । त्यस दिन दिउँसो दुई बजे क्रान्तिकारी कवि ज्वालामुखीको कविता कृति “अग्निज्वाला”को लोकार्पण कार्यक्रम थियो ।

कार्यक्रम स्थलमा आमन्त्रित कवि र विद्वानहरू खचाखच भरिएका थिए । प्रारम्भमा आसन ग्रहणको कार्यक्रम थियो । सभापतिको आसन ग्रहण पछि विशेष अतिथिहरूको आसन ग्रहणको कार्यक्रम शुरु भयो । प्रारम्भमै कवि महोदयलाई आमन्त्रण गरियो । कवि महोदयले विशेष अतिथिको आसन ग्रहण गर्नु भयो । पानसमा बत्ती बाली सभापतिज्यूबाट कार्यक्रमको समुद्घाटन सम्पन्न भयो । ताली पिटिए, थुप्रै क्यामेराहरू स्टेजतर्फ तेर्सिए, फोटाहरू खिचिए ।

कार्यक्रममा पुस्तकको लोकार्पण मात्र होइन, विभिन्न वक्ताहरूले त्यसको चर्चा पनि गर्नु भयो । कार्यक्रम तीन घण्टासम्म चल्यो । कवि ज्वलामुखीका कविता कृति ”अग्निज्वाला”का अनेकौँ प्रसंशाका पुलहरू बाँधिए । अन्त्यमा कार्यक्रमको समापन भयो । अब फोटो सेसन प्रारम्भ भयो । यतिबेलासम्म दर्शकदीर्घा खालि भैसकेको थियो । 

फोटो सेसन समाप्त भएपछि आयोजक महोदयले विशेष अतिथिहरूलाई खाजा खान बाहिरतर्फ निस्कन निर्देश गर्नु भयो । खाजा खान बाँकी दस–बाह्रजना अतिथिहरू खाजा राखिएको ठाउँमा पुगे । त्यहाँ त केराका बोक्रा, तरकारीका छोक्रा, दही र लालमोहनका जुठा कपहरू र तरकारी लतपत भएका कागजका खालि प्लेटहरू मात्र थिए । खाजा त अघिनै सकिएको थियो ।

साँझमा उनी घर फर्के, खाजा खान नपाएका कविजी धेरै भोकाएका थिए । बेलुकाको भात खान कविजीले घरमा पनि निकै वेर कुर्नुपर्‍यो । पेटभर दालभात खाएर राति अबेर उनी सुते, तर कसैलाई पनि कार्यक्रममा खाजा खान पाइएन भनेनन् । कसो उनले लोकार्पण कार्यक्रम र सबै कविहरूको एकमुष्ट हुर्मत लिने काम गरेनन् ! जय कवि, जय लोकार्पण !

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment