Wednesday, January 21, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


हाम्रो क्षेत्रका प्रजातन्त्र सेनानी विष्णु दाइ । हाम्रा हजुरबा पुस्ताका हुन्‌– उनी । हामीले उमेरसूचक सम्बोधनलाई विशेष बनाउन खोज्दा विष्णु दाइ भन्थे– “मान्छे कि दाइ हुन्छ, कि दौतरी हुन्छ कि भाइ हुन्छ । यसबाहेक अन्य साइनोमा मेरो रूचि छैन ।’’

र, विष्णु दाइ गर्थे– विकासका कुरा । भन्थे– “भ्रष्टाचार, असमानता, गरिबी, छुवाछुत, अन्धविश्वास, भेदभाव, अशिक्षा आदि हाम्रा समाजका मुख्य रोग हुन् । प्रजातन्त्र आएपछि त्यसलाई संस्थागत हुन केही समय लाग्ला; त्यसपछि कुनै पार्टीको पूर्ण बहुमतको सरकार बन्छ । त्यो सरकारले योजनाबद्ध विकास अभियानसहित पूर्ण अवधि शासन गर्छ । अनि, यस्ता नाथे रोग चारवटाजति संसदीय निर्वाचनमै छुमन्तर हुन्छ ।’’

पछि हाम्रो क्षेत्रमा अर्को पनि देखियो– प्रजातन्त्रवादी विष्णु । अनि कतिपयले विष्णु दाइलाई 'छुमन्तर विष्णु’ भनेर चिन्न थाले ।

प्रत्येकपल्ट सरकार ढल्दा र मध्यावधि चुनाव हुँदा 'छुमन्तर विष्णु दाइ’मा उनले चाहेको विकास गर्ने सरकार बन्ने भयो भन्ने उत्साह देखिन्थ्यो तर त्यस्तो सरकार उनले आफ्नो जीवनकालमा देख्न पाएनन् ।

धेरैपछि 'छुमन्तर विष्णु दाइ’लाई अस्ति सपनामा देखेँ । सोध्दै थिए– “पूर्ण बहुमतको सरकार बन्यो ? कुनै सरकार पूरा अवधिसम्म टिक्यो ? विकास योजनाले हावादारी नेताको सनकभन्दा उपल्लो दर्जा पायो ?’’

विषमताका बीच आशावादी जीवन बाँचेका ॅछुमन्तर विष्णु दाइ’लाई निराश कसरी पारौँ ?
मैले ब्युझिने निर्णय गरेँ ।

- बोझेपोखरी, ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment