Wednesday, January 21, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


बिहानको हिँडाइको क्रममा मेरो एकजना स्थानीय पाको उमेरकी महिलासँग चिनाजानी भयो । मेरो र उनको संस्कार, संस्कृति, भाषा सबै भिन्न थियो । उनी पाकी र हाईप्रोफाइलकी महिला थिइन् । म पढेर केही जान्नेसुन्ने बन्न र शिक्षा आर्जन गर्न गोराहरूको विकसित देश पुगेको थिएँ । बिहान मलाई  हतार गरेर कतै जान नपर्ने भएकोले स्वास्थ्य तन्दुरुस्त राख्नको लागि हिँड्न थालेको थिएँ । त्यही क्रममा मैले उनलाई भेटेको हुँ । बिहान वाकिङ्ग आउटफिट लगाएर, मगमग अत्तरको वास्ना छर्दै, कुकुर डोर्‍याएर हिँडेको देखेँ । उनीहरू नचिनेका मन्छेहरूसँग हतपती बोल्दैनन् भन्ने मैले सुनेको थिएँ । तिनको सम्भ्रान्तता देख्दा असाध्य बोल्न मन लागेको थियो ।

करिब एकहप्ता जति देखादेखी गरेपछि उनी बोलिन् । आफ्ना धेरै कुराहरू भनिन् । मेरो बारेमा पनि केही कुरा सोधिन् । 

–“हाइ, तिमी त फुर्तिलो केटा देखिन्छौ । स्वास्थ्य तन्दुरुस्त राख्नु पर्छ भन्ने चेतना पनि रहेछ । त्यसैले म तिमीसँग बोलेको । म न्युयोर्कबाट यता मुभ भएको हुँ । मेरो भूतपूर्व पति त्यहाँको असाध्य धनी व्यापारी छ । म भन्दा बढी उस्लाई आफ्नो व्यापारको माया भएकोले मैले मेरो हकको आधा सम्पत्ति लिएर डिभोर्स गरेर बेग्लै स्टेटमा रमाएर एक्लै बसेकी छु । म पचहत्तर बर्षकी मिलेनियर हुँ । फेसन शोहरूमा भाग लिने, बुटिक, पार्लरहरूमा जाने गर्छु । म ब्रान्डेड कम्पनीका सामान मात्र प्रयोग गर्छु । लञ्च, डिनर पनि म बाहिर नाम चलेका रेस्टुरेन्टहरूमा खान्छु । मेरा दुईटा छोराहरू बेग्लै स्टेटतिर छन् । मदर्सडेको दिन फोन गर्छन् बस् । उनीहरू पनि खुसी, म पनि खुसी ! तिमी अर्कै देशका हौ ? यहाँ के गर्दै छौ ?’’ 

–“म तपाईंको विकशित देशमा ज्ञान हासिल गर्न आएको हुँ ।’’

–“शनिवार साँझ खाली छौ ?’’ 

किन सोध्छे यो बुढीले भनेर बिचार गर्दै मैले जवाफ दिएँ ।

–“खाली छु ।’’ 

उनले आफ्नो ब्यागबाट टिकट झिकेर मेरो हातमा राखिदिइन् र भनिन् ।
–“राति आठ बजे फेसन सोको क्याटवाक छ ।मैले पनि भाग लिएको छु । हेर्न आऊ है । डिनर पनि फ्री छ ।’’

- अमेरिका

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment