तुलसीहरिजी, प्रश्नको उठान यसरी गरौँ – तपाईको बाल्यकाल र प्रेरणाको स्रोत बताईदिनु न ?
नमस्कार, मेरो पुर्ख्यौली घर ओखलढुङ्गा हो । मेरो बाल्यकाल ग्रामीण परिवेशमै हुर्कियो । घरमै सावाँ अक्षर पढ्ने लेख्ने भएपछि एकै पटक चार कक्षामा स्कूल भर्ना गरिदिनुभएथ्यो । त्यो पनि बारा जिल्लाको कलैयास्थित सिद्धेश्वर संस्कृत विद्यालयमा । मेरी फुपू दिदीको घर त्यहाँ भएकोले मलाई मधेशमा पढाउने गरी पठाइएको थियो । यसमा अर्को पनि कारण थियो । त्यो के भने, पहाडमा घरबाट धाउन सकिने स्कूलमा तीन कक्षा मात्रै थियो । मलाई चार कक्षामा भर्ना गर्नु थियो । संयोग कस्तो पर्यो भने, नौ महिना कलैया बसेर दशैँमा घर आउँदा स्कूलमा चार कक्षा पढाउन थालिसकिएको रहेछ । तब मैले मधेश जानै परेनथ्यो । सात कक्षासम्म त्यसै स्कूलमा पढेर आठ कक्षा पढ्न चाहिँ दुई घण्टा टाढाको स्कूलमा जान्थ्यौं । एसएलसी उत्तीर्ण गरेपछि काठमाडौँ आएर उच्चशिक्षा अध्ययन गरियो र यतै बस्ने थालियो । पारिवारिक रुपमा पनि हामी २०४८ सालमा सप्तरी जिल्लाको फत्तेपुर बसाइँ आयौँ । तर म उता धेरै बसिनँ । स्नातकपछि म विमर्श पब्लिकेशनमा काम गर्न थालेको थिएँ । त्यही अनुभवले २०५५ सालदेखि गोरखापत्र संस्थानमा आबद्ध भएँ । स्कूले जीवनमै साहित्यिक पत्रपत्रिकाहरू भेटेसम्म पढ्थेँ । मधुपर्कमा काम गर्न थालेपछि लेखनमा थप उत्साह जागृत भयो । मेरो रुचि नै मेरो गुरm हो । सम्पूर्ण साहित्यकारहरू नै प्रेरणाको स्रोत हुनुहुन्छ ।
तपाई पेशाले सम्पादक र रुचिले साहित्यकार हुनुहुन्छ । वास्तवमा तपाईं आफू चाहीँ हो के ?
सम्पादन मेरो जागिर हो । साहित्यिक पत्रिका मधुपर्कसँग विशेष गरी जोडिएँ । गोरखापत्र दैनिकमा पनि काम गरेँ । रुचिले बाटो बिराउन पाएन । विविध विधामा लेख्छु । मान्छेले आइपरेका अनेक भूमिका निभाउनु पर्छ । सबै कर्म आ–आफ्ना हुन्छन् । कर्म गर्दै अघि बढ्ने हो । जागिरे सम्पादक, रुचि अनुसारको लेखक भन्दा हुन्छ ।
तपाईं लघुकथा समाजको स्थापना कालदेखि नै यस संस्थामा आवद्ध भई हाल अध्यक्षको गरिमामय पदमा पुग्नु भएको छ । हामीलाई बताई दिनुहोस्, लघुकथाको विधागत विकासक्रममा देखापरेका अवरोधहरू कस्तो थिए र छन्?
लघुकथा लेखनमा अन्योल भइरहेकै अवस्थामा हामीले लघुकथा समाजको गठन गरेका हौँ । लघुकथालाई स्थापित गराउन निकै मेहनत गर्यौँ । कसैले रेच्की भन्थे, कसैले गल्प भन्थे, कसैले छोटा कथा, कसैले कुथुङ्ग्री, कसैले के । यस्तो अवस्थामा लघुकथा भनेको लघुकथा नै हो भन्ने मान्यता स्थापित गराउनेमा लघुकथा नै अग्रणी संस्था हो । २०५६ मै मधुपर्कमा लघुकथा विशेषाङ्क निकाल्न भूमिका खेलेथ्यौँ । २०६५ मा संस्था बनाइयो । गोष्ठी, अन्तर्क्रिया, वाचन, कार्यपत्रहरू अनेक कार्यक्रम गर्यौँ । अहिले लघुकथा यो स्थितिमा आइपुग्नमा लघुकथा समाजको भूमिकालाई सबैले स्वीकार्नु भएकै छ जस्तो लाग्छ ।
विगतदेखि वर्तमानसम्म अध्ययन गर्दा लघुकथा लेखनको ग्राफ कस्तो देखिन्छ नी?
२००७ सालमा पूर्णप्रसाद ब्राह्मणको पहिलो लघुकथा सङ्ग्रह प्रकाशनमा आएथ्यो । यसपछि फाट्टफुुट्ट गर्दै सङ्ग्रह निस्किए पनि २०५० सम्म औंलामा गनिने मात्रै सङ्ग्रह प्रकाशन हुन सकेका थिए । साठीको दशकमा आएर लघुकथा लेखनमा उल्लेख्य प्रगति भएको हो । पछिल्लो समयमा आएर त एकै दिन दश, बीस लघुकथा सङ्ग्रहको लोकार्पण पनि भएको रेकर्ड छ । कोरोना सङ्क्रमणको समयमा लकडाउनमा बस्दा लघुकथा प्रति आकर्षण ह्वात्तै बढ्यो । सामाजिक सञ्जालले त झनै बाढी ल्याइदिएको छ ।
| तुलसीहरिका प्रकाशित कृतिहरू |
लघुकथा समाजले लघुकथाकारहरूलाई सम्मान/पुरस्कार अर्पण गर्ने, लघुकथाकारहरूको कृति विमोचन गर्ने जस्ता काम मात्रै गर्ने हो कि लघुकथाको बारेमा सोध/अनुसन्धान पनि गर्नुपर्ने हो? यसतर्फ समाजको योजनाहरू कस्ता छन्?
हाम्रा काम पारदर्शी छन् । सम्मान, पुरस्कार स्रष्टाको उत्प्रेरणाको लागि आवश्यक हुन्छन् । समाजले कार्यपत्रहरू पनि लेखाएको छ । प्रा.डा. लक्ष्मणप्रसाद गौतमलाई लेखाएर सैद्धान्तिक पुस्तक पनि प्रकाशित गरेको छ । अब एक किसिमको स्पष्ट बाटो तयार भइसकेको छ । दुई जनाले विद्यावारिधि नै गरिसक्नु भएको छ । क्रमशः थप सोध अनुसन्धानका काम पनि गरिने छन् ।
नेपाली लघुकथामा अनेक सिद्धान्तहरूको चर्चा उठाएर माहोल तताइएको छ । अध्यक्ष भएको नाताले लघुकथा समाजको धारणा बताइदिनुहोस् – एउटा लघुकथाकार सिद्धान्तको बोझले कति थिचिनु पर्छ?
लेखनमा विधागत स्पष्टता र एकरुपताका लागि सिद्धान्त आवश्यक हुन्छ । सबैले आ–आफ्नै डम्फु मात्र बजाउँदा ताल नमिलेर बेताल हुनसक्छ । लघुकथामा मात्रै होइन, यो कुरा अन्य विधामा पनि लागु हुन्छ नै । पछिल्लो समयमा ह्वात्तै आकर्षण बढेकाले र म अरुले भनेको, अरुले देखाएको अरुले गरेको किन गरौँ, बेग्लै गर्ने हो भन्नेहरूले तपाईंले भनेजस्तै माहोल तताएका हुन् । लघुकथाको उन्नयनमा सघाउ पुग्छ भने त ठिकै हो, अन्यथा त्यस्तो तताइको कुनै तुक देखिँदैन ।
नेपाली लघुकथा लेखनमा अबको बाटो कस्तो हुनुपर्ला, अध्यक्षज्यू ?
नेपाली लघुकथाले आफ्नै राजमार्ग तयार पारिसकेको छ । अधिकांशले राजमार्गमा यात्रा तय गरिसक्नुभएको छ । आज आफूले बेग्लै नाम दिएर लेख्दै आएकाहरूले पनि लघुकथा नै भनेर लेख्न थाल्नुभएको छ । सिद्धान्त पनि बनिसकेको छ । लघुकथा मात्रै लेख्नेहरू पनि हुनुहुन्छ । लघुकथा अब ओझेलमा पर्ने छैन तर संस्थागत उन्नयनका लागि सहकार्य अपेक्षित छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।



No comments:
Post a Comment