'म किन लेख्छु ?’ यस प्रश्नको ठ्याक्कै उत्तर छैन मसँग । त्यसैले होला, यस प्रश्नको जवाफ दिँदा सधैँ अलमलिन्छु।
साँच्चै, “म किन लेख्छु” होला ? कतै, आफूलाई नबुझी संसारलाई कसरी बुझ्ने भनेर आफैँलाई बुझ्न लेख्छु कि ? या, आफ्नै अनुभूति, प्रश्न र पीडासँग साक्षात्कार र आत्मसंवाद गर्न पो लेख्छु ! अथवा, देखेका, भोगेका अनुभव र भेटिएका पात्रहरू, यी सबै आफ्नै स्मृतिमा मात्र सीमित नरहुन् भन्ने चाहनाले पो भावनाहरूलाई शब्दाकार दिन्छु कि?
लेखन, मानिस र समाजसँग सम्बन्ध गाँस्ने प्रभावकारी मौन शब्दसम्वाद हो । लेखाइ, निजी अनुभूति भए पनि सार्वजनिक अभिव्यक्ति हो । लेख्नु भनेको उत्तर दिनु मात्र होइन, प्रश्न जन्माउनु पनि हो । शब्दहरू सशक्त भए तिनले समाजमा चेतना जगाउन र परिवर्तनको बीउ रोप्न सक्छन् भन्ने मेरो धारणा छ । जब लेखक लेख्छ, ऊ समाज र समयसँग बहस गरिरहेको हुन्छ ।
जीवनको भीडभाडमा देखिने हर्ष, विषाद, अन्याय, करुणा, आशा र निराशाका अनगिन्ती दृश्यहरू लगायतका सबै क्षणहरू क्षणिक हुन्छन; तर शब्दले तिनलाई दीर्घायू बनाउँछ । लघुकथामा म समाजको सानो घटना भित्र लुकेको ठूलो सङ्केत खोज्छु । मुक्तकमा थोरै हरफभित्र गहिरो अनुभूतिको तरङ्ग समेट्ने प्रयत्न गर्छु । नियात्रामा बाहिरी यात्रासँगै भित्री यात्राको पदचाप सुन्न चाहन्छु । त्यसैले देखिएको मात्र होइन, महसुस गरिएको सत्य पनि लेख्छु । किनभने, साहित्य भनेको जीवनलाई शब्दमा पुनर्जन्म दिनु हो ।
लेखन मेरा लागि आत्मसंवाद पनि हो । जब मनमा प्रश्नहरूको भीड लाग्छ, जब समयका विसंगतिहरूले चित्त अशान्त बनाउँछन्, तब कलम समात्छु । मानिस बोल्छ, तर सबै कुरा बोल्न सक्दैन । केही अनुभूति यस्ता हुन्छन्, जो ओठसम्म आइपुगेर पनि उपयुक्त शब्द पाउँदैनन् । ती अव्यक्त कम्पनहरूलाई आकार दिन म लेख्छु ।
शब्दभित्र जीवन अटाउन सक्छ भन्नेमा विश्वास गर्छु म । साहित्यले मनोरञ्जन मात्र होइन, चेतनाको झिल्का बाल्नुपर्छ । लेखाइले, पाठकलाई पढ्दापढ्दै रोकिएर सोच्न बाध्य बनाउनुपर्छ । शब्दहरू कम भए पनि तिनमा संवेदना गहिरो हुनुपर्छ र कथ्य सानो भए पनि त्यसको सङ्केत विशाल हुनुपर्छ । लेखनको सम्बन्धमा यही मेरो चाहना र प्रयास हो ।
त्यसैले म कहिलेकाहीँ आफैँलाई बुझ्न लेख्छु त कहिले समाजलाई ऐना देखाउन लेख्छु । यति पढिसकेपछि तपाईंले बुझिसक्नुभयो कि, म थोरबहुत त लेख्छु तर जानिनजानि लेख्छु ।
– उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौँ –७
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment