डा. विदुर चालिसेको लघुकथा 'राजनैतिक रक्सी’ पढिसकेपछि मेरो मनमा एक प्रकारको उकुसमुकुस र ऐठन महसुस भयो । यो केवल एउटा लघुकथा मात्र रहेनछ, यो त म जस्ता कयौँ नेपालीका भोगाइहरूको तिखो प्रतिविम्ब रहेछ । एउटा पूर्व शिक्षण पेसाको अनुभव, वर्तमानको अभावग्रस्त जीवन र देशको यो तरल राजनीतिक अवस्था, यी सबैलाई मिसाएर हेर्दा लघुकथाको प्रत्येक हरफले मेरो मर्ममा प्रहार गरेको छ ।
१. अभावको ऐनामा बजार र राजनीति
लघुकथाको सुरुवातमै लेखकले बजारमा आलु, पिँडालु, मुला र सागको भाउको कुरा गरेका छन् । यो मेरा लागि केवल साहित्यिक बिम्ब होइन, मेरो भान्साको दैनिक सङ्घर्ष हो । एउटा पूर्व शिक्षिका, जसले कहिलेकाहीँ ज्ञान बाँडेर समाज बदल्ने सपना देख्थी, आज ऊ आफ्ना तीन सन्तान र अपाङ्ग पतिको स्याहारमा सीमित छ । बजारमा तरकारीको भाउ बढ्दा मेरो ओठमा हाँसो घट्छ ।
लघुकथाले भनेझैँ, “जति दुःख पोखे पनि गरिबको एउटै माग थियो– हे भगवान् ! हुने हार दैव नटार !’’ साँच्चै, मेरो जीवन पनि अहिले यही ‘दैव’ को भरोसामा टिकेको छ । घरमा बिरामी श्रीमानको सेवा र छोराछोरीको भविष्यको चिन्ताले मलाई थिचेको बेला, बाहिर सडकमा चुनावको चहलपहल देख्दा मलाई ती आलु र पिँडालुको भाउले भन्दा बढी राजनीतिले झस्काउँछ ।
२. पात्रहरूको मुखुण्डो र चुनावी प्रहसन
लघुकथामा प्रयोग भएका श्याल बाजे, लोखर्के काइँला र बाँदर भाइ जस्ता पात्रहरू मेरो आँखा अगाडि झल्झल्ती आउँछन् । चुनावको बेला हाम्रै दैलोमा हात जोड्दै आउने ती 'नेता’ हरू ठ्याक्कै यस्तै लाग्छन् । कसैले 'घाँस खाएर जनता रिझाउने’ कुरा गर्छन् त कसैले ’बाँझो खेतमा हलो ठेल्ने’ अभिनय गर्छन् ।
शिक्षण पेसामा रहँदा मैले विद्यार्थीलाई नैतिकता र आदर्शका कुरा सिकाएँ । तर आज राजनीतिमा ती आदर्शहरू कतै देखिँदैनन् । कथाको ’बाँदर भाइ’ झैँ एउटा हाँगाबाट अर्को हाँगामा उफ्रिने (पार्टी बदल्ने) र फल खाएर दुनियाँलाई चकित पार्ने प्रवृत्तिले मेरो जस्तो अभावमा बाँचेको मान्छेलाई केवल गिज्याइरहेको महसुस हुन्छ । यतिबेला राजनीतिमा सिद्धान्तको खडेरी छ र स्वार्थको वर्षा भइरहेको छ ।
३. रानुदेवी र राजनीतिको 'सेलिब्रेटी’ रूप
लघुकथाकी पात्र रानुदेवीको संवादले मलाई निकै घत पार्यो । उनको भनाइ छ– “जिते जोतिन्छु, हारे जोताउँछु ।’’ यो आजको राजनीतिको नग्न सत्य हो । चुनाव जित्नेहरू सत्ताको मोजमज्जामा हराउँछन्, हार्नेहरू अर्को चुनावसम्म देशलाई 'जोताउने’ वा अस्थिर बनाउने खेलमा लाग्छन् ।
जब उनले चुनावलाई “सामाजिक दुर्व्यसनी’’ र “राजनैतिक रक्सी’’ भनिन्, मेरो मनले भन्यो– हो, यो साँच्चै नशा नै हो । चुनावी नशामा मान्छेले आफ्नो घरको चुल्हो बलेको छ कि छैन भन्ने बिर्सिन्छ र कसैको झन्डा बोकेर हिँड्छ । म आफैँले कति चुनावी जालझेल देखेकी छु । चुनावको बेला टोलमा रक्सी र मासुको खोलो बग्छ, तर चुनाव सकिएपछि त्यही टोलका मानिसहरू सिटामोल नपाएर छटपटाउँछन् । मेरो आफ्नै अपाङ्ग पतिलाई उपचार गर्न आर्थिक अभाव हुँदा, चुनावी प्रचारमा उडाइएका करोडौँ रुपैयाँ सम्झँदा मन विरक्तिएर आउँछ ।
४. मेरो वर्तमानः अभाव र अन्योलको सङ्घर्ष
लघुकथाको अन्त्यमा भनिएको छ– “अचेल टोलमा अनेकथरि मान्छेहरूको घुइँचो थियो । तिनीहरूमा न देश थियो न जनता ।’’ यो वाक्यले मेरो मुटुमा चस्स बिझायो । मेरो घरमा बिरामी श्रीमान्को स्याहार गर्ने म एउटी एक्ली महिला, जसले तीन सन्तानको भविष्यको भारी बोकेकी छु, मेरा लागि यो “राजनैतिक रक्सी’’को ह्याङओभर कहिल्यै सकिँदैन ।
एकातिर देश जलिरहेको छ, अर्कोतिर हामीजस्ता सर्वसाधारण मात्र ताली पिट्न वा गाली गर्न विवश छौँ । मेरो शिक्षण पेसा छुटेपछिको यो रिक्तता र पारिवारिक जिम्मेवारीको बोझको बीचमा राजनीतिको यो फोहोरी खेल हेर्नु नियति बनेको छ ।
५. निष्कर्ष : निसमालोचकीय निचोड
प्रा.डा. विदुर चालिसेको ‘राजनैतिक रक्सी’ एउटा तिखो व्यङ्ग्य मात्र होइन, यो समाजको यथार्थ 'एक्स–रे’ हो । कथाले देखाएको जस्तै आजको राजनीतिमा विचार र आदर्शको मृत्यु भइसकेको छ । यो केवल एउटा नशा हो, जसले मान्छेलाई विवेकहीन बनाउँछ ।
मेरो अनुभूतिमा, यो कथाले मलाई मेरा आफ्नै पीडाहरूसँग साक्षात्कार गरायो । अभाव, रोग, र अन्योलको जीवन धानिरहेकी म जस्ती नारीका लागि राजनीति केवल एउटा यस्तो रक्सी भएको छ, जसको गन्धले नै टाउको दुखाउँछ, तर समाज यही पिएर लठ्ठ छ । कथाकारले थोरै शब्दमा आजको नेपालको राजनीतिक र सामाजिक विद्रूपतालाई जसरी उधिन्नुभएको छ, त्यो अत्यन्तै मर्मस्पर्शी छ ।
हामी कहिलेसम्म यो ‘राजनैतिक रक्सी’ पिएर ताली पिटिरहने ? के मेरो अपाङ्ग पतिको स्वास्थ्य र छोराछोरीको शिक्षा यो रक्सीको नशाले सुनिश्चित गर्छ ? पक्कै गर्दैन । यो कथाले मलाई आफ्नै जीवनको कुरुप यथार्थ र देशको विडम्बनालाई एकै ठाउँमा राखेर हेर्न बाध्य बनायो ।
०००
लघुकथा– राजनैतिक रक्सी
– प्रा.डा. विदुर चालिसे
बजारमा आलुको भाउ कहिले घट्थ्यो, कहिले बढ्थ्यो । पिंडालुको भाउ जबरजस्त थियो । मुलाबारीमा मुला थियो । सागबारीमा साग थियो । जति दुख पोखे पनि गरिबको एउटै माग थियो ।
–– “हे भगवान् ! हुने हार दैव नटार !’’
जब द्रोहको मडारिएको तुँवालो आकासमा फैलिरहेको थियो । वर्षा थिएन बर्षादी ओडेका मानिसहरू पनि पहिचानमा थिएनन् । सास पनि अब त फेर्न नसकिने गरी उकुसमुुकुसको हावा कहिले यतिको ठाउँमा त कहिले चिम्पान्जीको गाउँमा चलिरहन्थ्यो । यसै बेलामा नजिकै आएको चुनावमा श्याल बाजेले उठ्ने निर्णय गरेर भने ।
–– “अब म घाँस खाएर जनता रिझाउँछु र चुनाव जित्छु ।’’
अर्को लोखर्के काइँलाले फुटानी छोडेर घमण्ड हम्क्यो अनि सुरिएर बौलाहा पारामा भन्यो ।
––“जनतालाई खेत कसरी खन्ने भनेर नसिकाउने पनि उम्मेद्वार हुन्छ ? लौ अब मैले पनि बाँझो खेतमा हलो ठेलेँ !’’
बाँदर भाइ रूखमा चढेर उफ्रिरहन्थ्यो । कहिले यो हाँगो त कहिले उ हाँगो गरेर जम्प गर्थ्यो अनि जम्पिङ्गमा प्राप्त हावाको मजामा हल्लिएर चुनावमा जाने कुरा रौसिएर भन्थ्यो ।
–– “लोखर्केभन्दा त मै महान छु । जुन हाँगामा जान्छु, त्यही हाँगामा फलेको फल खाएर हावा मै बसेर दुनियाँलाई चकित पार्छु ।’’
रानुदेवीले एकदिन अर्को घोषणा गरिन् । उनको मूल आशय चुनाव जित्नुभन्दा पनि चुनाव हराउनु उनको प्रमुख कर्तव्य थियो । उनले आफ्नो स्वाभिमानी अधिकारको कुरा उठाएर भनिन् ।
–– “जिते जोतिन्छु, हारे जोताउँछु ।’’
पत्रकारले उनलाई स्वाभिमानको अन्तरङ्ग अन्तर्वार्ता लिए । उनले लजाउँदै पत्रकारको मुहारतिर पुलुक्क हेरेर मुसुक्क हाँसिन् । आँखी भूईँ ठाडो पारेर भनिन् ।
–– “म कुनै स्याल, लोखर्के र बाँदर जस्तो चुनावमा उठेर संसदमा पुगेर मोजमज्जाको लोभी उम्मेद्वार होइन । सत्यको लागि लड्छु, हैन भने लडाइदिन्छु ।’’
पत्रकारले यसै बिच सोध्नै नहुने तर नसोधी पनि नहुने अर्को प्रश्न तेर्स्याएर भने ।
–– “तपाईं त अहिलेको चुनावको सेलिब्रेटी उम्मेद्वार हो ! यो चुनावमा तपाईलाई आफ्नो उम्मेद्वारी कस्तो लागिरहेछ ?’’
–– "उम् सर पनि !’’
–– “सरम मान्नु भयो कि कसो ?’’
–– “हैन नि, मौकामा आउने चुनाव, यसलाई त सामाजिक दुर्व्यसनी मान्नु पर्छ ।’’
–– “उसो भए सिद्धान्त, विचार र आदर्श चुनावमा हुँदैन त अचेल ।’’
–– “मान्नुस् न सर, यो त मात्रै राजनैतिक रक्सी हो, पिइरहेछु ।’’
अचेल टोलमा अनेकथरि मान्छेहरूको घुुइँचो थियो । तिनीहरूमा न देश थियो न जनता । मात्रै आरिस, आक्रोस, भड्काव, भ्रष्टता तथा भ्रान्ति थियो । देश जलिरहेको थियो । हामी पनि मात्रै राजनीतिक रक्सी लागेर ताली पिटिरहेका थियौँ ।
****************************
उत्तरकथा : नशाको रङ्ग
– लक्ष्मी रिजाल
“मैले पिइरहेको यो घानमा रक्सी मात्र छैन, अलिकति रगतको स्वाद पनि मिसिएको छ ।’’ रानुदेवीले झ्यालबाट सडकमा उफ्रिरहेका बाँदर, लोखर्के र स्यालहरूको जुलुस हेर्दै भनिन् । उनको कोठामा अँध्यारो र उज्यालोको लुकामारी थियो, ठ्याक्कै बजारको आलु–पिँडालुको भाउजस्तै अस्थिर ।
बाहिर नाराबाजी चर्किएको थियो । श्याल बाजे घाँस चपाउँदै 'पहिचान’ को नयाँ भाष्य कोरिरहेका थिए भने बाँदर भाइ रुखका हाँगाबाट 'आमुल परिवर्तन’ को सुन्तला फ्याँकिरहेका थिए । तर अचम्म ! कसैले पनि ती फल टिपिरहेका थिएनन्, बरु झन् ठूलो स्वरले ताली पिटिरहेका थिए । त्यो तालीमा कुनै लय थिएन, मात्र एक उन्माद थियो ।
पत्रकारले डराई–डराई सोध्यो, “के यो रगतको कुरा तपाईंको नयाँ घोषणापत्रको अंश हो ?’’
रानुदेवीले मुसुक्क हाँसेर एउटा रित्तो सिसी टेबुलमा राखिन्, जसको बिर्कोबाट धुवाँ निस्किरहेको थियो । उनले भनिन्, “भ्रमको खेती गर्नेहरूले जहिले पनि नशा बेच्छन् । कोही विचारको रक्सी पिउँछन्, कोही अहङ्कारको । तर बिर्सन्छन् कि रक्सी जति पुरानो भयो, त्यसले कलेजो त्यति नै छिटो खान्छ ।’’
बस्तीमा एउटा ठूलो आवाज आयो– सायद कसैको घर जलिरहेको थियो वा कसैको सपना । तर मानिसहरू भनिरहेका थिए, 'यो त विजयको पटाका हो !’ उकुसमुकुस हावामा सास फेर्न झन् गाह्रो हुँदै गयो ।
अन्त्यमा, रानुदेवीले रित्तो गिलास पत्रकारतिर सार्दै गम्भीर स्वरमा भनिन्, “जब नशाले मान्छेलाई होइन, मान्छेले नशालाई शासन गर्न खोज्छ, तब सडकमा चल्ने चुनाव हुँदैन, केवल लासहरूको परेड हुन्छ ।“
०००
– कञ्चनरूप–१२, रूपनगर, सप्तरी


No comments:
Post a Comment