Tuesday, March 31, 2026

म किन लेख्छु ? (अङ्क ३३ मा प्रकाशित)


मान्छे जन्मिदैँ स्वर र सङ्गीत लिएर जन्मेको हुन्छ भन्दारहेछन्, 

च्याँ… च्याँ… गरेर रुँदै जन्मने मान्छेको पहिलो सङ्गीतमय आवाज नै यति मन्त्रमुग्ध हुन्छ कि जन्मेको शिशुको त्यो स्वर सुन्न जो कोही पनि लालयित हुन्छन् । स्वरबाट नै शब्द अनि प्रस्तुत हुने शैली नै सङ्गीत बन्दोरहेछ । उमेर बढ्दै गएपछि मनमा आउने विभिन्न किसिमका भावनाहरू कोही व्यक्त गर्न सक्छन् त कोही सक्दैनन् तर सबैमा भावना र कल्पना प्रशस्त हुने गर्छ भनिन्छ । मनका भावहरू कसैले कापीमा उतार्छन् त कसैले मुखले बोलेर मात्र व्यक्त गर्छन् ।

म पनि सानैदेखि मनका भावहरू अभिव्यक्त गर्न खोज्दथेँ, कहिले बोलेर त कहिले लेखेर । मनमा गुम्सिएका भावहरू व्यक्त गर्दा आनन्दको अनुभूति हुन्थ्यो । भावहरू कुनै न कुनै रूपमा निस्कन खोज्दारहेछन् । कहिले कविताका रूपमा त कहिले कथा वा अन्य कुनै तरिकाले आख्यानका रूपमा । म ज्यादै जिज्ञासु थिएँ रे सानो छँदा । मनभित्रका अनेक प्रश्नहरू तेर्स्याउने गर्थेँ रे मेरा अग्रजहरू अझै भन्ने गर्छन् । कल्पनामा पनि म निकै उड्ने गर्थेँ त्यतिबेला जब मैले भनेजस्तो जवाफ नपाएर आफैँ खोज्ने प्रयास गर्थेँ । समय सँगसँगै म बदलिएँ जीवन र जगत बुझ्न थालेँ । कल्पनाबाट म यथार्थ धरातलमा उत्रिएपछि बल्ल मलाई बोध हुन थाल्यो मेरो कल्पना भनेको मेरो मनभित्रको एउटा सपना रहेछ । सपनाहरू सबै पूरा कहाँ हुन्छन् र तैपनि मान्छेले सपनामा भए पनि बाँच्नु पर्दोरहेछ।

यथार्थ कुराहरू नै सांसारिक कुरा रहेछन् । कल्पनाले यथार्थ भेट्न मद्दत पुग्दोरहेछ । जेष्ठ नागरिक बनिसकेको अवस्थामा हिजोआज केवल आफ्ना आँखाले देखेका कुराहरू, कानले सुनेका कुराहरू, आफूले र अरुले पनि भोगेका कुराहरू जस्ताको त्यस्तै उतार्न थालेको छु । वास्तवमा भन्ने हो भने म नितान्त आफ्नो आत्मसन्तुष्टिका लागि लेख्छु । लेखिएका ती कुराहरू कुनै पत्रपत्रिकामा छापिन्छन् कुनै छापिँदैनन् । जे जस्तो लेख्छु छाप्छु केवल आफ्नो लागि । तर छापिएपछि भने त्यो सबैका लागि हुँदोरहेछ । सार्वजनिक भएपछि सबैको हुने नै भयो । मेरो भावना मेरो विचारले समाजका कसैलाई पनि नराम्रो नहोस् बरु राम्रैका लागि होस् भन्ने मेरो चाहना हुन्छ । बाँचुन्जेल र सकुन्जेल केही लेख्न सकूँ बस् यही मात्र मेरो उद्देश्य रहेको छ । नाम, दाम र सम्मानका लागि नभइ देश र जनताका कुरा, मन र मुटुका कुरा, समाजका यथार्थ कुरा लेख्ने यही मेरो काम बनोस् लेखनीले लेखक र पाठकलाई सन्तुष्टि दिने कुरा ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment