अमृतपान गरेर अमर भएको कागलाई पानीको तिर्खा लाग्यो, उसले पोखरी खोज्न गयो । पोखरी भएको ठाउँ सबै चहार्यो,
– कुनै गगनचुम्बी महल ठडिएको देख्यो
– कुनै महानगरिय अफिस
उसले फेरि ढुंगेधारा खोज्न गयो,
– पानी नआएर घाँसपात उम्रेको अवस्था उसले देख्यो ।
इनार खोज्न गयो,
– इनार कुनै भत्केको देख्यो, कुनै फोहोर फाल्ने कन्टेनर ।
उसले बागमती र विष्णुमती हेर्न गयो,
– सुकेर मसिनो बगेको बागमती र विष्णुमती ढल सिवाय केही देखेन ।
उसले माटोको गाग्रोमा ढुंगाहरू खसालेर आफूले पानीको प्यास मेटाएको सम्झियो,
उसले कहीँकतै माटोको गाग्रीमा पानी छ कि भनी खोज्न गयो ।
उसले त्यस्ता गाग्री पनि भेट्टाउन सकेन ।
काकाकुल हुँदै उड्दै गर्दा, उसले एउटा अखबार भेट्टायो, ‘मेलम्ची परियोजनाबाट बाटो पखाल्न सकिने गरी पानीको छेलोखेलो हुने ।’
उसले मेलम्ची कुर्ने बाहेकको विकल्प देखेन, कुरि बस्यो ! आज आउला, भोलि आउला, दशैंमा आउला, अर्को दशैंमा आउला भन्दाभन्दै धेरै मान्छेलाई कालले खायो, दुई तीन पुस्ता सकियो, तर त्यो अजम्वरी काग अझै काकाकुल हुँदै पानी आउने आशमा मेलम्ची पर्खी बसिरहेको छ ।
–महापाल, ललितपुर


No comments:
Post a Comment