शहरको एउटा ठूलो अस्पतालमा एक धनी वृद्ध मृत्युसँग लडिरहेका थिए । उनका तीनैजना छोराहरू बाहिर कुरिरहेका थिए । सबैको अनुहारमा चिन्ता थियो, तर त्यो चिन्ता बुवाको स्वास्थ्यको लागि कम र सम्पत्तिको लागि बढी थियो ।
– जेठो छोराले सुस्केरा हाल्दै भन्यो, “बुवा बितेपछि त्यो शहरको महल मेरो हुनुपर्छ ।’’
– माहिलोले थप्यो, “मलाई त नगद र सुन भए पुग्छ ।’’
– कान्छो अलि चलाख थियो, उसले भन्यो, “मलाई त बुवाको व्यापार नै चाहिन्छ ।’’
– यत्तिकैमा डाक्टर बाहिर निस्किए । सबैजना दौडिएर डाक्टरकहाँ पुगे र सोधे, “डाक्टर साब, बुवालाई कस्तो छ?’’
“बुवा त बाँच्नुभयो, तर उहाँको सबै सम्पत्ति उपचारमै सकियो । अब उहाँसँग एक पैसा पनि छैन । अब उहाँलाई कसले घर लैजाने?’’ डाक्टरले गम्भीर हुँदै भने ।
छिनभरमै अस्पतालको गलियारामा सन्नाटा छायो । तीनैजना छोराहरू एक–अर्काको मुख हेराहेर गर्न थाले । केहीबेरमा काम छ भन्दै एक–एक गर्दै तिनैजना त्यहाँबाट खिसिक्क ओझेल परे ।
अस्पतालको बेडमा रहेका वृद्धले सबै सुनिरहेका थिए । उनले आँखाबाट बलिन्द्रधारा आँसु खसाल्दै छेउमा रहेका डाक्टरलाई बिस्तारै भने, “डाक्टर सा’ब, धन्यवाद ! मेरो सम्पत्ति त सकिएको छैन, तर आज मेरा छोराहरूको असलियत भने सबै देखियो ।’’
–बनेपा –१२, काभ्रे


No comments:
Post a Comment