Saturday, March 23, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

खेल

-कोषवल्लभ रेग्मी
देउमाई न पा ७ इलाम  


स्वतन्त्रताले अनुसासन, प्रशासन फितलो बन्छ र शिक्षाको गुणस्तर घट्छ भन्ने मेरो ठम्याई थियो । प्र.अ. बनेपछि मैले यो विषयलाई जोड दिएँ । तर मेरो यो कार्यले गर्दा स्टाफ र विद्यार्थीहरु सन्तुष्ट थिएनन् । उनीहरू मेरो विरुद्धमा प्रत्यक्ष वा परोक्ष रुपमा विरोध जनाउने गर्थे भने केही अभिभावकहरु- "बल्ल यो स्कुलले हेडसर पायो !" भन्दै मेरो तारिफ गर्ने गर्थे ।

शिक्षकले आफ्ना बच्चालाई सरकारी स्कुलमा नै पढाउनु पर्छ भन्ने मेरो मान्यता भएकाले छ वर्षे छोरालाई आफ्नै स्कुलमा भर्ना गराएँ ।

छोरोले कसैलाई टेरेन । उदण्ड भयो । कक्षामा बस्न मान्दैन्थ्यो । छ महिनामा पनि 'क' चिनेन । लौराको सुम्ला कति पायो पायो । स्कुल आउन छाडेर लुक्दै जङ्गल पस्थ्यो ।

आठ फेल भएको एक युवक घरमा कामदार थियो । यो सब देखेर उसले मलाई भन्यो -"म तपाईंको छोरालाई पढाउन सक्छु । पत्याउनु हुन्छ?"
"कस्ता कस्ताले नसकेको तिमी जस्ताले... !"  मैले छेड हाने ।

"एकचोटी प्रयास गर्न दिनु त !" -उसले आङ् कन्याउँदै भन्यो ।

"बाबुु यता आउ त खेल्न !" -ऊ खेल्न भन्नासाथ रमाउँदै युवकको पछि लाग्यो ।

त्यो कामदारले धुलोमा धर्सा तान्ने र गोला पार्ने खेल सिकायो ।
"यो के भयो काका ?" -छोरोले सोध्यो ।

ढाप मार्दै त्यो कामदारले भन्यो - "स्यावास बाबुले आज 'क' बनायौ । भोलि 'ख' बनाउने खेल खेल्ने है ।"

यो देखेर मलाई लाग्यो -  "म कोक्रोमै रहेछु ।"


No comments:

Post a Comment