दाङ, मङ्सिर १५
साहित्यकार सुरेश कुमार पाण्डेद्वारा लिखित जेईको सम्झना लघुकथा सङ्ग्रहको एक कार्यक्रमका बीच घोराहीको मालाइन होटलमा भव्य रूपमा लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाकी सहसचिव वीणा रोकाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा सचिव घनश्याम केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । संस्थाको तर्फबाट पुस्तकका लेखक साहित्यकार सुरेशकुमार पाण्डेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा शताब्दी महिला क्वारीदेवी भण्डारीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कृति विमोचन गर्दै प्रमुख अतिथि शर्माले पुराना कुरालाई रचनात्मक शैलीमा जीवन्तता दिने कामलाई सर्जकले न्याय गरेको बताए । उनले नेपाली समाजको अवस्थाबारे कृतिका माध्यमबाट उजागर गर्ने काम गरेर पठनीय सामग्री तयार पारेको भन्दै खुसी प्रकट गरे । उक्त कृतिको समीक्षा चन्द्रबहादुर थापा र नारायणप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा कृतिका सर्जक सुरेशकुमार पाण्डेयले कृति रचनाका बारेमा अनुभव सुनाएका थिए । उनले कृति बिक्रीबाट संकलित रकम सामाजिक काममा लगाउने बताए ।
१०८ पृष्ठ रहेको जेईको सम्झना लघुकथा सङ्ग्रहमा ५४ वटा लघुकथा समावेश गरिएको छ । पारिवारिक, सामाजिक, राजनीतिक, मनोविज्ञान, सांस्कृतिक, रोजगारका पक्षलाई लघुकथाले उजागर गरेको समीक्षकको भनाई छ । उनले कथा, कथा विधा, यसका आयामलगायत विषयमा चर्चा गरेका थिए ।
सो कार्यक्रममा वरिष्ठ साहित्यकारहरू सच्युतराज उप्रेती, गणेश विषम, नारायण नेपाल, यज्ञबहादुर डाँगी साहित्यकारहरूमा हरिप्रसाद पौडेल स्वणर्शिखा, दामोदर पौडेल, हरिप्रसाद पाण्डे, सुन्दर गौतम, शरद गौतम, एकराज शर्मा, गोपाल भुसाल, नरेशजंग राणा, महेश कुमार न्यौपाने, खेमराज गाउँले, धनसिंह गिरी, दिलीप डाँगी, शारदा शर्मा, कुलबहादुर ओली, वसन्त अनुभव, रिमा गौतम, देवेन्द्र रिजाल, कृति डिसी, नारद भण्डारी, नवराज देवकोटालगायत साहित्य अनुरागीहरूको मनग्य उपस्थिति थियो ।
....साथ सहयोगको खाँचो

No comments:
Post a Comment