Sunday, December 29, 2024

लघुकथा (अङ्क १९ मा प्रकाशित)

मन्त्री

- नवशिला 
बेलबारी –२, नवदेव मार्ग, लालभित्ती, मोरङ   


सार्क देशका अर्थमन्त्रीहरूको भेला थियो । प्रायः सबैजसो देशका मन्त्रीहरूले निक्कै मिठो र अर्थपूर्ण विचारहरू प्रस्तुत गरे, धेरैजसो व्यक्तिहरूले आफ्नै राष्ट्रिय भाषालाई प्राथमिकता दिए र आफ्नै भाषामा बिचार प्रस्तुत गरे ।

हाम्रो अर्थमन्त्रीज्यूले आफ्नो पालो आएपछि सेतापानामा लेखिएका ठूला ठूला अङ्ग्रेजी अक्षर कनिकनि पढ्नु भो ।

'केएनओडब्लु'लाई ’कोनो’ भन्नु भो, 'एफयुटियुआरई’लाई ’फुटुरे’ भन्नु भो ।

घरिघरि अक्कमकिनु भो, बेलाबेला भकभकाउनु भो । कार्यक्रम सकिएपछि खानपिनको माहोल चल्यो ।

एकाआपसमा कुराकानी सुरु भो । हाम्रा अर्थमन्त्रीज्यू ङिच्चङिच्च गर्दै सबैको टेबुलमा पुग्नु भो । टेबुलमा कुराकानी भइरहेको थियो ।

– यी नेपालका मन्त्रीले केमा विज्ञता हासिल गरेर अर्थमन्त्री भएका रहेछन्‌?

– अनि यिनको पढाई चाहिँ कति रहेछ नि अङ्ग्रेजी पनि बोल्दैथे?

– अनि आफ्नै भाषा चाहिँ यिनलाई मन पर्दैन रहेछ कि क्या हो?

– खासै काम गर्ने जस्तो त लागेन कसरी मन्त्री भएछन्‌? …..आदि आदि ।

…………………………………..

यसै बिचमा एकजना नेपाल बसेका सार्क देशका कुटनीतिज्ञ यी सब प्रश्नको जवाफ फर्काउँदै थिए ।

– भ्रष्टाचारमा विज्ञता ।

– आठ कक्षा पास ।

– न आफ्नो भाषाको सम्मान गर्छन् न अर्काको भाषा नै जान्दछन् ।

– अहिलेका प्रधानमन्त्रीका खल्तीका मान्छे । …..आदि आदि ।

---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment