Tuesday, July 14, 2026

विश्लेषण


 

१. लघुकथा सौन्दर्यका दृष्टिले 'इमान' लघुकथाको शल्यक्रिया

नेपाली लघुकथा क्षेत्रका सशक्त हस्ताक्षर महेन्द्र नेउपानेद्वारा सिर्जित 'इमान' एक सुगठित, मर्मस्पर्शी र शिल्पगत रुपमा उत्कृष्ट लघुकथा हो । यस लघुकथाले बालमनोविज्ञानको गहिरो चिरफार गर्दै मानवीय मूल्य र नैतिक चेतको सुन्दर उद्घाटन गरेको छ । लघुकथा विधाका स्थापित शास्त्रीय एवं आधुनिक मानदण्ड र सौन्दर्यशास्त्रीय कसोटिहरूका आधारमा यस लघुकथाको विमर्श तलका उपशीर्षकहरूमा गरिएको छ–


१. शीर्षकको सार्थकता र प्रतीकात्मकता– 

'इमान' शीर्षक आफैँमा सङ्क्षिप्त, अर्थपूर्ण र कसिलो छ । सामान्यतया 'इमान' शब्दले इमानदारिता, नैतिकता र निष्ठालाई बुझाउँछ । लघुकथाको केन्द्रमा एउटा बालकको बालसुलभ चुलबुले प्रवृत्ति (आमाको थैलीबाट पैसा चोर्नु) र अन्ततः उसको अन्तस्करणमा जागृत भएको 'इमान' (पछुतोसहित पैसा फिर्ता गर्नु) लाई देखाइएको छ । बालहठ र नैतिक चेतबीचको द्वन्द्वलाई यो शीर्षकले पूर्ण रुपमा प्रतिनिधित्व गर्दछ । तसर्थ, लघुकथाको उद्देश्य र कथ्यलाई बोक्न यो शीर्षक पूर्णतः सफल र सार्थक छ ।

२. कथानक विन्यास र तीव्र गतिशीलता–

लघुकथा विधाको पहिलो सर्त नै यसको सङ्क्षिप्तता र तीव्र गतिशीलता हो । 'इमान' मा अनावश्यक विवरणात्मकता कतै छैन । लघुकथाको सुरुवात नै उत्कण्ठा पैदा गर्ने गरी 'द्रुत सुरुवात'बाट हुन्छः

– “उसले दायाँबायाँ नजर घुमाउँदै आमाको थैलीबाट एउटा सिक्का खुसुक्क निकाल्यो ।”

यो सुरुआती वाक्यले पाठकको ध्यान तुरुन्तै तान्छ । त्यसपछि लघुकथा बजारको यात्रा हुँदै अगाडि बढ्छ र अन्त्यमा आकस्मिक मोड सहित टुङ्गिन्छ । घटनाहरूको शृङ्खला निकै कसिलो छ र यसमा कुनै पनि भद्रगोल वा फितलोपन छैन ।

३. बालमनोविज्ञानको जीवन्त चित्रण– 

लेखकले यस लघुकथामा बालमनोविज्ञानको असाध्यै सूक्ष्म र यथार्थपरक चित्रण गरेका छन् । बालकले पैसा चोरेपछि बुनेका सपनाहरू– गुलगुलिया र बरफ खाने, अनि बाँकी चार आनाले पेन्सिल किन्ने, त्यस समयको बालसुलभ आवश्यकता र चाहनाका जीवन्त उदाहरण हुन् । पैसा चोरेपछि उत्पन्न हुने खुसी, तर आमाको अगाडि पर्दा हुने डर र छटपटीलाई लघुकथाले सुन्दर ढङ्गले प्रस्तुत गरेको छ ।

४. चरित्र चित्रण र आमाको अनुकरणीय भूमिका–

लघुकथामा दुईवटा पात्र छन्‌ः एउटा नाम नखुलेको बालक र उसकी आमा । थोरै शब्दमा पनि दुवै पात्रको चरित्र प्रस्ट रुपमा खुलेको छः

क) बालक– ऊ स्वभावैले चञ्चल, लोभी तर भित्रैदेखि निष्पाप र कमलो मनको छ ।

ख) आमा– आमाको चरित्र यस कथाको सबैभन्दा बलियो पक्ष हो । उनी आफ्ना सन्तानको हरेक गतिविधिप्रति सचेत छिन् । उनले छोराको गल्ती थाहा पाएर पनि उसलाई हप्काउँदिनन् वा सजाय दिँदिनन् । बरु, ममता र स्नेहका माध्यमबाट उसलाई गल्तीको महसुस गराउँछिन् । आमाको यो व्यवहारले आदर्श मातृत्व र बालमनोविज्ञान बुझेकी एक कुशल अभिभावकको रुप झल्काउँछ ।

५. परिवेश र स्थानीय रङ–

लघुकथाको परिवेश ग्रामीण वा अर्ध–शहरी नेपाली समाजको पृष्ठभूमिमा आधारित छ । कथामा प्रयोग भएका शब्दहरू जस्तैः 'थैली', 'गुलगुलिया', 'बरफ', 'चार आना' आदिले कथालाई माटोको सुगन्ध अर्थात् स्थानीय रङ प्रदान गरेका छन् । यसले पाठकलाई आफ्‌नै बाल्यकाल वा परिचित परिवेशको स्मरण गराउँछ, जसका कारण कथा निकै विश्वसनीय र आत्मिय लाग्दछ ।

६. भाषाशैली र विम्बात्मक लालित्य–

महेन्द्र नेउपानेको भाषाशैली सरल, सरस र लालित्यपूर्ण छ । वाक्यहरू छोटाछरिता र नाटकीय छन् । कथामा 'खुसुक्क', 'कनीकनी', 'फुत्रुक्क' जस्ता अनुकरणात्मक शब्दहरूको प्रयोगले भाषामा गति र जीवन्तता थपेको छ । संवादहरू सङ्क्षिप्त तर अर्थपूर्ण छन् । विशेष गरी, भौतिक क्रियाकलापलाई मानसिक अवस्थासँग जोडिएको विम्ब निकै शक्तिशाली छ–

– “मुठी एकाएक लुलो भयो र सिक्का फुत्रुक्क भुइँमा खस्यो ।”

यो वाक्यले बालकभित्र उब्जिएको डर र आत्मग्लानिलाई भौतिक रुपमै दुरुस्तै उतारेको छ ।

७. प्रभावान्विति र चमत्कारिक अन्त्य–

कुनै पनि उत्कृष्ट लघुकथाको अन्त्य 'चट्याङ' जस्तो हुनुपर्छ, जसले पाठकको मनमस्तिष्कमा गहिरो धक्का दियोस् । 'इमान'को अन्त्य पनि त्यस्तै चमत्कारिक र सन्देशमूलक छ । आमाले “मलाई थाहा छ…’’ भन्दै छोराको चाहना पूरा गरिदिने वाचा गर्दा बालकको अहम् र लोभ पग्लिन्छ । उसले “केही नभनी भुइँबाट सिक्का टिपेर आमाको हातमा राखिदियो ।” यो मौन समर्पण र प्रायश्चित्त नै कथाको चरमोत्कर्ष हो, जसले पाठकलाई एक किसिमको आल्हाद र नैतिक सन्देश दिएर टुङ्गिन्छ ।

निष्कर्ष

सौन्दर्यशास्त्रीय दृष्टिले हेर्दा महेन्द्र नेउपानेको ’इमान’ नेपाली लघुकथा जगत्को एक उत्कृष्ट नमुना हो । आकारमा सानो भए तापनि यसले बोकेको वैचारिक क्षितिज अत्यन्तै फराकिलो छ । लघुकथाले बालकलाई दण्ड दिएर होइन, प्रेम र विश्वास दिएर मात्र सच्च्याउन सकिन्छ भन्ने शाश्वत सत्यलाई स्थापित गरेको छ । विधागत चुस्तता, सूत्रात्मकता, तीव्र प्रभावान्विति र कलात्मक बुईँगलका कारण यो लघुकथा शिल्प र कथ्य दुवै दृष्टिले पूर्ण रुपमा सफल र लालित्यपूर्ण छ ।


स्रोत–लघुकथा– इमान

– महेन्द्र नेउपाने

उसले दायाँबायाँ नजर घुमाउँदै आमाको थैलीबाट एउटा सिक्का खुसुक्क निकाल्यो । मुठीमा कसेर राख्यो अनि कल्पनामा हरायो, “बजार जान्छु र गुलगुलिया खान्छु । उब्रेको पैसाले बरफ पनि खानुपर्ला ।”

उसले कनीकनी हिसाब गर्‍यो, “बाँकी चार आनाले एउटा पेन्सिल किन्नुपर्ला”, ऊ त्यसैत्यसै खुसी भयो ।

आमा थैली खोज्दै आइपुगिन् र थैली समातिन् । थैलीको मुख खोलिन् । हेरिन् र बन्द गर्दै भनिन्, “बजार जानु छ, तँ पनि हिँड् ।”

एउटा कपडाको झोला बोकेर आमाछोरा बजारतिर लागे । आमाले नुन, चिनी, चियापत्ति र मरमसला किनिन् । ऊ पनि सिक्काको उपयोग गर्ने अवसर हेर्दै सोचिरहेको थियो ।

“तँलाई केही चाहिएको छ ?” आमाको अनायासको प्रश्नले ऊ झस्कियो । मुठी एकाएक लुलो भयो र सिक्का फुत्रुक्क भुइँमा खस्यो । उसले टाउको निहुरायो र छैन भन्ने भावमा दायाँबायाँ हल्लायो ।

 आमाले उसको टाउको उचालेर ठाडो पारिन् र मुस्कुराउँदै भनिन्, “मलाई थाहा छ, तँलाई गुलगुलिया र बरफ खान मन छ । तेरो पेन्सिल पनि छोटो भएको छ, म किनिदिन्छु ।” उसले केही नभनी भुइँबाट सिक्का टिपेर आमाको हातमा राखिदियो ।

****************** 

उत्तरकथा– दर्पण

टेबलमा अलपत्र छोडिएको आकर्षक थैलीभित्रका सुनौला सिक्काहरू अचानक सलबलाएझैं देखिए, जसले उसको शान्त मनमा ठूलै आँधीहुरी सिर्जना गर्‍यो । बाहिर सन्ध्याकालीन लालिमा पोखिँदै थियो, तर कोठाको एकान्त कुनामा लोभको एउटा रहस्यमय कालो छाया बिस्तारै सल्किँदै गयो ।

उसले र्‍याल काढ्दै दायाँबायाँ नजर कुदायो; कोठा निष्पट्ट शान्त थियो । बिस्तारै उसको दाहिने हात थैलीतिर सर्पझैं घिस्रियो, मानौँ औंलाहरूले कुनै अमूल्य खजाना छुन खोज्दै थिए ।

“ओहो बाबु, मेरो सर्वस्व !” अचानक एउटा थकित र मलिन वृद्ध हस्याङफस्याङ गर्दै ढोकामा झुल्कियो ।

उसको हात फनक्क फर्कियो, मुठी कसिँदा बाल्यकालको त्यो फुत्रुक्क खसेको सिक्का र आमाको दिव्य मुस्कान मस्तिष्कको पर्दामा झल्झली नाच्यो ।

“मैले त सोचेको थिएँ, जमाना खराब छ ।” वृद्धले लामो सास फेर्‍यो ।

उसले निधारको पसिना पुछ्दै, मधुर मुस्कानका साथ थैली वृद्धको हातमा सुम्पियो र भन्यो, “हजुरकै नासो जोगाएर राखेको थिएँ बुबा ।”

वृद्धको आँखाबाट खसेका हर्षका आँसुले उसको मनको सारा द्वन्द्व पखालिदियो । 

वृद्धले भन्यो, “संसारमा सुनको चमक क्षणिक हुन्छ, तर इमानको उज्यालोले आत्मालाई पुस्तौँसम्म जीवित राख्छ ।”

*******************

२. लघुकथा सौन्दर्यका दृष्टिले 'संस्कृतिको सुस्केरा' लघुकथाको शल्यक्रिया

संजिता भट्टराईकृत ‘संस्कृतिको सुस्केरा’ समसामयिक नेपाली समाजको एउटा तीतो यथार्थलाई उजागर गर्ने एक सबल र सुगठित लघुकथा हो । प्रस्तुत लघुकथाको लघुकथा सौन्दर्य, यसको संरचना, शिल्प र वैचारिक धरातलका आधारमा गरिएको समीक्षात्मक विमर्श यस प्रकार छ–


१. शीर्षकको सार्थकता र सांकेतिकता–

शीर्षक आफैँमा अत्यन्त काव्यात्मक र अर्थपूर्ण छ । 'संस्कृति’ र 'सुस्केरा’ को संयोजनले नै कथाको केन्द्रीय संवेदनालाई प्रस्ट पार्छ । आधुनिकताको तीव्र आँधीमा आफ्नो मौलिकता, रैथाने पहिचान र संस्कृति हराउँदै जाँदा उत्पन्न भएको एउटा मूक वेदना वा सुस्केरा नै यस कथाको मूल मर्म हो । शीर्षकले पाठकलाई सुरुमै एउटा गम्भीर सांस्कृतिक विमर्शतिर आकर्षित गर्छ ।

२. वस्तुविधान र कथानकीय विन्यास–

लघुकथाको कथानक सङ्क्षिप्त, कसिलो र तीव्र प्रभावकारी छ । गाउँबाट छोरी भेट्न र पशुपतिनाथ दर्शन गर्न काठमाडौँ छिरेकी आमाले छोरीको कोठामा भोगेको एउटा क्षणिक तर गहिरो घटनामा कथा केन्द्रित छ ।

क) सुरुवात– “झ्याप्प ढोका उघारियो…” बाट सुरु हुने कथाले प्रारम्भमै उत्सुकता जगाउँछ र एउटा चिसो वातावरणको सङ्केत गर्छ ।

ख) द्वन्द्व र विकास– गाउँको चिनो 'फर्सी’ र आधुनिक 'पिज्जा–बर्गर’ बीचको टकराव, अङ्ग्रेजी भाषा र नेपाली पटुकीको तुलनात्मक प्रस्तुतिले कथामा सांस्कृतिक र पुस्तान्तरको द्वन्द्वलाई प्रस्ट्याउँछ ।

ग) चरमोत्कर्ष– छोरीले सुरुमा आमाको संस्कारको वकालत गरेको नाटक गर्नु तर साथीहरूको अगाडि आफ्नो साख जोगाउन अन्ततः अङ्ग्रेजीमा कुरा गर्दै आमालाई “स्टप योर लेक्चर” भन्नु र त्यो अर्गानिक फर्सीलाई डस्टबिनमा फाल्नु कथाको चरम उत्कर्ष हो ।

३. चरित्र चित्रण र पुस्तान्तर–

लघुकथामा मुख्यतः दुईवटा प्रवृत्ति वा पुस्ताको प्रतिनिधित्व छ–

क) आमा– गाउँको सुवास, रैथानेपन, मातृस्नेह, र धार्मिक–सांस्कृतिक आस्था (पशुपतिनाथ दर्शन, फर्सी, पटुकी) की प्रतीक हुन् । उनी सरल, निष्कपट र आफ्नोपनले भरिएकी छिन् ।

ख) छोरी र साथीहरू– यिनीहरू 'सहरिया आधुनिकता’ का नाममा आफ्नोपन भुल्दै गएका, देखावटी र कृत्रिम जीवनशैली बाँचेका प्रतिनिधि पात्र हुन् । छोरीको चरित्रमा देखा परेको 'दोहोरोपन’ (आमासँग एउटा र साथीहरूसँग अर्को व्यवहार)ले आजको युवा पुस्ताको ढोंग र पहिचानको सङ्कटलाई मार्मिक रुपमा देखाएको छ ।

४. प्रतीक र बिम्बको लालित्यपूर्ण प्रयोग–

लघुकथामा प्रतीकात्मकताको सुन्दर संयोजन छ–

क) पहेंलपुर पाकेको फर्सी र पटुकी– यी केवल वस्तु मात्र होइनन्, बरु नेपाली माटोको सुगन्ध, अर्गानिक जीवनशैली र मौलिक सांस्कृतिक पहिचानका सशक्त बिम्ब हुन् ।

ख) पिज्जा, बर्गर र डस्टबिन– यिनीहरू आयातित पश्चिमी उपभोक्तावादी संस्कृति र रैथाने मूल्यको अवमूल्यनका प्रतीक हुन् । फर्सीलाई डस्टबिनमा मिल्काइनु वास्तवमा आमाको भावना, गाउँको सुवास र नेपाली संस्कृतिलाई नै डस्टबिनमा मिल्काइनु बराबर हो ।

५. भाषाशैली र शिल्पगत विशिष्टता–

कथाकार भट्टराईको भाषाशैली सरल भएर पनि गम्भीर, मनमोहकपूर्ण र सूत्रात्मक छ । “अपरिचित चिसो मौनता”, “गाउँको सुवास“, “कृत्रिम रुपमा मुस्कुराए” जस्ता पदावलीले कथाको भाव गम्भीरतालाई बढाएका छन् । कथोपकथन (संवाद) छोटा र अर्थपूर्ण छन् । 'ह्वाट इज दिस’ र 'स्टप योर लेक्चर’ जस्ता अङ्ग्रेजी वाक्यांशको प्रयोगले आधुनिक पुस्ताको भाषिक र मानसिक दासतामाथि गतिलो व्यङ्ग्य गरेको छ ।

६. विचार, सन्देश र झट्का

लघुकथाको प्राण नै यसको अन्त्यमा आउने 'झट्का’ हो । सुरुमा आमाको पटुकीको महिमा गाउने छोरीले अन्त्यमा साथीहरूकै अगाडि आधुनिक बन्ने होडमा आमालाई चुप लाग्न भन्नु र फर्सी फ्याँक्नुले पाठकको मनमा चसक्क शूल रोप्छ । यसले 'हामी कता जाँदै छौँ ?’ भन्ने गम्भीर बौद्धिक र सांस्कृतिक प्रश्न खडा गरिदिन्छ ।

७. निष्कर्ष

'संस्कृतिको सुस्केरा’ आकारमा सानो भएर पनि प्रभावमा निकै विराट् लघुकथा हो । यसले सहर पसेपछि मान्छे कसरी आफ्नो फेद र जरै भुलेर उपभोक्तावादको चक्रव्यूहमा फस्छ भन्ने तीतो यथार्थलाई उजागर गरेको छ । लघुकथाका आवश्यक तङ्खवहरू– सङ्क्षिप्तता, तीव्रता, प्रतीकात्मकता र तीक्ष्ण प्रहारका दृष्टिले यो एउटा कलात्मक, लालित्यपूर्ण र उत्कृष्ट लघुकृति हो ।


स्रोत–लघुकथा– संस्कृतिको सुस्केरा

– संजिता भट्टराई 

झ्याप्प ढोका उघारियो तर भित्र न्यानो स्वागत होइन, एउटा अपरिचित चिसो मौनता उभिएको थियो । छोरीलाई गाउँको सुवास गराउन अनि पशुपतिनाथ दर्शनको उत्कट अभिलाषा बोकेर काठमाडौँ छिरेकी आमा छोरीको कोठामा पुग्नासाथ एउटा नितान्त नौलो संसारसँग ठोक्किन पुगिन् । क्याम्पस पढ्ने छोरीका आधुनिक सहरिया साथीहरू पिज्जा र बर्गरको सुगन्धमा रमाइरहेका थिए । जब आमाले झोलाबाट गाउँको चिनो स्वरुप पहेंलपुर पाकेको फर्सी निकालिन्, एकजना साथीले नाक खुम्च्याउँदै भनी– “वाट् इज दिस ?’’

 आमा अक्क न बक्क परिन् । छोरीले अनुवाद गरिदिएपछि उनले लामो सास फेरिन्, “हरे शिव ! यी आजकालका केटाकेटीले त फर्सी पनि चिन्दा रहेनछन् !’’

 अर्की केटीले आमाको कम्मरको पटुकीलाई अनौठो मानी औंल्याउँदा छोरीले गर्वका साथ त्यसको नेपाली मौलिकता बुझाई । आफ्‌नै सन्तान झैं ठानेर आमाले स्नेहपूर्वक भनिन्, “नानीहरू, आफ्‌नो भेषभूषा र नेपालीपनको पनि त जानकारी हुनुपर्छ नि !“

 ती साथीहरू “हुन्छ ममी’’ भन्दै कृत्रिम रुपमा मुस्कुराए । आमा भने दङ्ग परिन्, छोरीले त संस्कार जोगाउन कति राम्रो वकालत गरेकी !

तत्कालै छोरीको साथीहरूसँग छलफल भयो । अङ्ग्रेजी भाषामा भएको छलफल आमाले रत्तिभर बुझिनन् ।

त्यसपछि त “ममी, प्लिज स्टप योर लेक्चर !’’ भन्दै छोरीले त्यो अर्गानिक फर्सी डस्टबिनमा मिल्काइदिई ।

************

लघुकथा– पश्चात्ताप

डस्टबिनको पिँधमा बज्रिएको फर्सीको आवाज आमाको छातीमा बन्दुकको गोली बनेर पस्यो ।

कोठाको हावा एकाएक हिउँजस्तै चिसो र निसासलाग्दो बन्यो । साथीहरू एकापसमा कानाखुसी गर्दै जुरुक्क उठे र बिदाइको कृत्रिम मुस्कान छर्दै ढोकाबाहिर ओझेल परे । आमाका आँखाबाट खसेका आँसुका दुई थोपा भुइँमा खस्नुअघि नै छोरीले खुट्टाको बुटले कुल्चिदिई । आधुनिकताको मातले रन्थनिएकी छोरीले आमाको अनुहारमा हेर्दै उपहासको हाँसो हाँसेर मोबाइल स्क्रिनमा औंला कुदाउन थाली ।

पशुपतिनाथको आरतीमा उभिँदा पनि आमाको मन जलिरहेको थियो, तर छोरी भने भीडमा टिकटक बनाउन व्यस्त थिई । अचानक एउटा तीव्र गतिको मोटरसाइकलले छोरीलाई ठक्कर दियो; ऊ सडकको हिलोमा पछारिई । उसको महँगो ब्रान्डेड कपडा च्यातियो र आधुनिकताको दम्भ हिलोमा मिसियो । अस्पतालको बेडमा छटपटाइरहेकी छोरीको ओठ सुकेर मरूभूमि भएको थियो ।

त्यही बेला आमाले हस्पिटलको क्यान्टिनबाट तातो फर्सीको सुप कचौरामा लिएर आउनुभयो र आफ्नो कम्मरको पटुकी फुकालेर छोरीको घाउ सफा गरिदिनुभयो ।

“ममी, मलाई माफ गरिदिनुस् !” आमाको हात समातेर छोरी भक्कानिई, “फेसनले शरीर त ढाक्ने रहेछ आमा, तर संकटमा जीवन धान्न त गाउँकै अर्गानिक फर्सीको सुप र पटुकीकै न्यानोपन चाहिने रहेछ ।”

*******************


३. लघुकथा सौन्दर्यका दृष्टिले 'जरा' लघुकथाको शल्यक्रिया

रामेश्वर साहद्वारा रचित लघुकथा 'जरा’ समसामयिक नेपाली लघुकथा क्षेत्रमा एउटा विशिष्ट र अर्थपूर्ण दृष्टान्तका रुपमा देखापर्छ । मधेशी जनजीवनको पृष्ठभूमिमा बुनिएको यो कथाले मानिसको उपयोगितावादी दृष्टिकोण र प्रकृतिको उदार जीवनदायिनी चरित्रबीचको द्वन्द्वलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ । लघुकथा सौन्दर्यका दृष्टिले प्रस्तुत रचनाको विमर्श तलका बुँदाहरूमा गरिएको छ–


१. शीर्षक विधान र सांकेतिक अर्थवत्ता–

लघु कथाको शीर्षक ‘जरा’ अत्यन्त छोटो, सूत्रात्मक र गम्भीर छ । सामान्य अर्थमा जरा रुखको त्यो अदृश्य भाग हो जसले रुखलाई माटोमा दह्रोसँग ठड्याउँछ र जीवन दिन्छ । तर, कथामा ‘जरा’ केवल वनस्पति शास्त्रको हिस्सा मात्र होइन; यो जीवनको आधार, मातृत्व, संरक्षण र अस्तित्वको प्रतीक बनेर आएको छ । बाहिरी रुपमा फल नदेखेर रुखलाई निरर्थक सम्झने मानवीय भूल र आन्तरिक रुपमा त्यसले धानेको 'जीवनको जरा’ लाई चिन्न सक्नु नै कथाको मूल मर्म हो । शीर्षकले कथाको अन्तिम दार्शनिक निष्कर्षलाई पूर्ण रुपमा न्याय गरेको छ।

२. सूत्रात्मकता र सङ्क्षिप्तता–

लघुकथाको मुख्य धर्म भनेकै थोरै शब्दमा धेरै कुरा भन्नु हो । ‘जरा’ कथा निकै छोटो र कसिलो छ । यसमा अनावश्यक भूमिका वा लामा–लामा प्रकृतिका वर्णनहरू छैनन् । सुरुआतमै “आज साँझ मुनिलालको आँपको रुख ढल्ने रे !” भन्ने वाक्यले पाठकको कौतुहलता जगाउँछ । पन्ध्र वर्षदेखि नफुलेको रुख काट्न उद्यत पात्रको मानसिकता र त्यसपछि घटेको एउटा सानो घटना (चराको बचेरो बचाउने सन्दर्भ) लाई लेखकले निकै सङ्क्षिप्त रुपमा समेटेका छन् । थोरै घटना र सीमित परिवेशभित्रै एउटा ठूलो वैचारिक प्रभाव छोड्न कथा सफल छ ।

३. चरित्र चित्रण र नाटकीय रुपान्तरण

कथाको केन्द्रीय पात्र मुनिलाल हुन् । उनी एक प्रतिनिधि किसान हुन्, जो श्रमको प्रतिफल (फल) खोज्छन् । १५ वर्षसम्म फल नदिँदा उनीभित्र उब्जिएको ‘निराशा’ र ‘रिस’ स्वाभाविक लाग्छ । कथामा नाटकीयता तब आउँछ जब चराको गुँड र बचेराको पखेटा फटफटाहटले मुनिलालको कठोर मनलाई पग्ल्याइदिन्छ । बञ्चरो लिएर रुख काट्न तम्सिएको मानिस क्षणभरमै बचेरो बचाउन रुख चढ्छ । यो चरित्रको आकस्मिक तर स्वभाविक ह्रदय–परिवर्तन हो । गाउँका बूढा पात्रको संवादले मुनिलालको चेतनालाई थप उजिल्याउने काम गरेको छ ।

४. परिवेश र स्थानीय रङ –

कथाले 'मधेसी गाउँको चौतारो' र 'सिरहाको गोलबजार' को सुवास बोकेको छ । मुनिलाल नाम आफैँमा स्थानीय परिवेश अनुकूल छ । चौतारीमा हुने हल्ला, खेतीपाती, आँपको बोट, बञ्चरो र डोरी जस्ता विम्बहरूले ग्रामीण तराईको जीवन्त तस्विर खडा गर्छन् । यसले कथालाई काल्पनिक गफ मात्र नबनाएर यथार्थको धरातलमा उभ्याएको छ ।

५. विचार, दर्शन र व्यङ्ग्य चेत–

 आजको मानव समाज चरम उपयोगितावादी बन्दै गएको छ । जसबाट फाइदा हुन्छ, त्यसलाई मात्र राखिराख्ने र फाइदा नहुनेलाई मिल्काइदिने पूँजीवादी वा स्वार्थी सोचमाथि कथाले दह्रो व्यङ्ग्य गरेको छ ।

क)  भौतिक फल भर्सेज आत्मिक जीवन– रुखले मानिसलाई खान मिल्ने 'आँप' दिएन होला, तर उसले चराचुरुङ्गीलाई ओत दिएर संसारमा ’भविष्य’ फलाइरहेको थियो ।

ख) पर्यावरण चेत– लघु कथाले पर्यावरण चेतलाई पनि प्रस्ट्याउँछ । प्रकृतिले कसैलाई भेदभाव गर्दैन; फल नदिने रुखले पनि जीवनको रक्षा गरिरहेको हुन्छ भन्ने गहन दार्शनिक सन्देश कथाले बोकेको छ ।

६. भाषाशैली र शिल्पगत लालित्य–

लघु कथाको भाषा सरल, सरस र लालित्यपूर्ण छ । वाक्यहरू छोटा र प्रवाहात्मक छन् । शब्द चयनमा कृत्रिमता छैन । “हातमा डोरी, काँधमा बञ्चरो र आँखाभरि निराशा”, “संसारमा भविष्य फलाइरहेको जरा चिन्न सबैभन्दा गाह्रो रहेछ” जस्ता पदावलीहरू काव्यिक र मनछुने छन् । 'बञ्चरो चिप्लेर भुइँमा खस्नु' मुनिलालको अहङ्कार र स्वार्थ खस्नुको प्रतीक हो, जुन शिल्पका दृष्टिले उच्च स्तरको मानिन्छ ।

७. सचेतताका क्षेत्रहरू–

कथा समग्रमा सुन्दर हुँदाहुँदै पनि केही ठाउँमा सुधारको गुन्जायस देखिन्छः

गाउँका बूढा पात्रको अचानक प्रवेश र “फल नदिएको रुखले पनि जीवन फलाइरहेको रहेछ, होइन र ?” भन्ने संवाद अलि बढी उपदेशात्मक लाग्छ । यदि यो संवाद बिना नै मुनिलाल आफैँ पग्लिएको र बञ्चरो खसेको देखाइएको भए कथा अझ बढी कलात्मक र व्यञ्जनापूर्ण हुनेथियो ।

अन्तिम वाक्य “भविष्य फलाइरहेको जरा चिन्न सबैभन्दा गाह्रो रहेछ” ले कथाको मर्मलाई सिधै छताछुल्ल पारिदिएको छ । लघुकथामा अर्थ पाठक आफैँले बुझ्नका लागि छोडिदिनु बढी श्रेयस्कर मानिन्छ ।


८.  निष्कर्ष

रामेश्वर साहको 'जरा' लघुकथा क्षेत्रकै एउटा पठनीय र मननीय सिर्जना हो । यसले जीवनको मूल्य भौतिक उपलब्धिमा मात्र होइन, अरुप्रतिको सेवा र संरक्षणमा पनि हुन्छ भन्ने शाश्वत सत्यलाई उजागर गरेको छ । लघुकथाका संरचनात्मक अवयवहरू, विम्ब विधान, संक्षिप्तता र झट्का दिने क्षमताका हिसाबले यो कथा शिल्प र चेतना दुवै दृष्टिले सुन्दर, ओजपूर्ण र मनमोहक छ ।


स्रोत–लघुकथा– जरा

–रामेश्वर साह

“आज साँझ मुनिलालको आँपको रुख ढल्ने रे !” मधेसी गाउँको चौतारोभरि यही हल्ला सल्किएको थियो ।

हातमा डोरी, काँधमा बञ्चरो र आँखाभरि निराशा बोकेर मुनिलाल आफ्‌नै खेतको बीचमा उभिए । पन्ध्र वर्षअघि रोपेको आँपको रुख अग्लो त थियो, तर कहिल्यै फुलेको थिएन । छेउछाउका बोटहरू लटरम्म फलले झुकेका थिए ।

“अब के काम ? जग्गा मात्रै खायो ।” उनले बञ्चरो समात्दै भने ।

पहिलो चोट हान्न खोज्दा माथिबाट केही खस्यो । निधारमा टप्प पर्‍यो । उनी झस्किए । रिसले वरिपरि हेरे ।

हाँगाको टुप्पोमा एउटा चरो गुँडमा ओहोरदोहोर गरिरहेको थियो । चराले दाना ल्याएर बचेराहरूलाई खुवाउँदै थियो । त्यही बेला अर्को बचेरोले पखेटा फट्फटायो, खस्न लाग्यो ।

मुनिलाल हतारिँदै रुखमा चढे । बचेरालाई समाते र गुँडमै राखिदिए ।

तल झर्दा गाउँका बूढा मुनिलाल मुस्कुराए, “फल नदिएको रुखले पनि जीवन फलाइरहेको रहेछ, होइन र ?”

मुनिलालको हातबाट बञ्चरो चिप्लेर भुइँमा खस्यो ।

फल नलागेको रुख काट्न सजिलो रहेछ, तर भविष्य फलाइरहेको जरा चिन्न सबैभन्दा गाह्रो रहेछ ।

**************

उत्तरकथा– छहारी

गड्याङगुडुङ आवाजसँगै आकाशबाट चट्याङ खस्यो । गाउँका मानिसहरू मुनिलालको खेततिर दौडिए ।

अघि भर्खर बञ्चरो बिसाएको त्यो फलहीन रुखमाथि ठुलो चट्याङ परेको थियो । धुवाँको मुस्लो निक्लियो । हाँगैपिच्छे आगोका ज्वालाहरू लपलपाउन थाले ।

“सियो हराएजस्तो भयो, सबै खरानी भयो !” छिमेकी रामुले चिच्याउँदै भन्यो । मुनिलालको सातो उड्यो । उनको आँखा सिधै त्यही गुँडमा पुग्यो, जहाँ साना बचेराहरू थिए । आगोको रापमा चराका बचेराहरू चिच्याइरहेका थिए ।

मुनिलालले नजिकैको इनारबाट पानीको बाल्टिन समाते । जीउभरि भिजेको बोरा ओढेर उनी जुरुक्क रुखमा चढे । आगोको राँकोले उनको हात पोल्यो, तर उनले हरेश खाएनन् । चराका बचेराहरूलाई कमिजको फेरमा पोको पारेर उनी भुइँमा हामफाले ।

रुख जली सक्यो, तर ती साना जीवहरू जीवितै थिए । अचम्म ! डढेको जराको चेपबाट भर्खरै एउटा नयाँ पालुवा अङ्कुुरित हुँदै गरेको देखियो ।

रामुले टाउको कन्याउँदै भन्यो, “सबै सखाप भयो मुनिलाल, अब के हेर्छौ ?”

बचेराहरूलाई भुइँमा छाड्दै मुनिलाल मुस्कुराए, “आँधीले हाँगा भाँच्न सक्छ, तर जीवित जराले सधैं नयाँ बिहानी जन्माउँछ ।”

सिद्धार्थटोल, उदयपुर
२०८३ असार १४ गते ।

No comments:

Post a Comment