Sunday, December 29, 2024

लघुकथा (अङ्क १९ मा प्रकाशित)

प्रोत्साहन !

- मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं –७  



पुस्तक छापिदिएर सहयोग गरेका छापाखाना प्रमुखलाई त धन्यवाद ! दिनै भुलेछु मैले । कस्तो हुस्सु भएको म पनि !’’ श्यामले आफैसँग भन्यो ।

छापिएको आफ्नो पुस्तकहरु छापाखानाबाट ट्याक्सीमा राखेर हिँड्नै लागेको ऊ, चालकलाई एकैछिन कुर्न लगाएर कार्यालयतर्फ लाग्यो । 

आर्थिक अभावका कारण पुस्तक छाप्न नसकेको उसलाई, छापाखाना प्रमुखले बोलाएर “नयाँ लेखकलाई प्रोत्साहन दिने आफ्नो नीति अनुसार छापाखानाकै खर्चमा तपाईंको पुस्तक छापिदिने भएका छौं ।’’ भनेर अचम्ममा पारेको सुखद् क्षण झल्झली सम्झँदै श्याम भित्र पस्यो । ऊ पस्दा कोठामा प्रमुख थिएनन् । उसले सहयोगीलाई सोध्यो । 

“उहाँ पाँच मिनेटमा आइहाल्छु भनेर कम्प्युटर कक्षमा जानुभएको छ, तपाईं  भित्र बस्दै गर्नुस् न ।’’ सहयोगीबाट जवाफ आयो ।

श्याम कोठाभित्र पस्यो । बस्दै गर्दा प्रमुखको टेबुल माथि, आफ्नो पुस्तकको कवर र कागजपत्र भएको एउटा फाइल खुल्लै रहेको देख्यो । उत्सुकतावश पल्टाएर हेर्‍यो । फाइलमा पुस्तक छपाईको रसिद, रकम ट्रान्सफर भएको बैंक भौचर र ईमेल प्रिन्ट भएको पाना संलग्न थियोे ।

उसले ईमेल हेर्‍यो – लेखिएको थियोे “लागेको रकम म पठाउँछु, यसबारेमा उहाँलाई थाहै नदिइ पुस्तक छाप्ने व्यवस्था मिलाइदिनु होला ।’’ सो ईमेल श्यामको छोराले पठाएको रहेछ ।


---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment