सम्भ्रमी बच्चो
- विश्वजित गुप्ता (विशाल)
रामग्राम–३, घोडपाली, नवलपरासी
लौरो टेक्दै हजुरबा कार्यक्रम हलमा पस्नुभयो । उहाँसँगै चनमते नातिपनि आएका थिए । कार्यक्रम सञ्चालन भएको ५ मिनेटपनि बितेको थिएन । नाति चर्को स्वरमा बा भोक लाग्यो भने । वास्तवमा त्यो आवाज सञ्चालकको माइकभन्दा तीव्र थियो । एकैछिन सबैको नजर त्यो बच्चोमा पर्यो । हजुरबा आफ्नो बगलीबाट १०० रुपैयाँको नोट निकाल्नुभयो र त्यो बाबुलाई बिस्तारै बोल्न सङ्केत गर्दै दिनुभयो । लौ, बाबु बाहिरपट्टि हेर त कतै नास्तापसल छ कि छैन । भनिन्छ, मनिसलाई उमेर गुज्रनासाथ आफ्ना छोराछोरीभन्दा धेरै नातिनातिनाको माया लाग्छ रे ! त्यो कुरा, त्यहाँ सत्य साबित भयो ।
उनी हेरेर आए । पसल नजिकै थियो । हजुरबा उनलाई नास्ता ख्वाउन हलबाट बाहिर जानुभयो । उनी नास्तामा पेटभरि पकाएको मीठो चाउचाउ खाए । त्यसपछि, हजुरबा फेरि भित्र लग्नुभयो । करिब १५ मिनेट बितेको थियो । मुख्य कार्यक्रम सुरु हुनै लागेको थियो । नाति फेरि कडा स्वरमा बा भोक लाग्यो भने ।
यसपालि सबैको ध्यान उनीप्रति अकृष्ट भयो । कतिपय रिसाए भने केही हाँसेर शान्त भए ।
हजुरबा र नाति बसेका कुर्सी नजिकै अर्को कुर्सीमा एउटो अर्को बाबुपनि आफ्नी आमासँग बसेका थिए । यी दुबैजनाका उमेर करिब मिल्दोजुल्दो थियो भने अर्को बाबु शान्तियुक्त थिए । सायद त्यहीकारण होला, उनलाई सुरुवातमा सबैले मन पराएका थिए । पछि, कार्यक्रमको समापन हुन्छ । त्यसपश्चात, सो कार्यक्रमको सभापति लगायत केही अतिथिगण ती हजुरबा अनि आमा भएको ठाउँमा पुगे । नाति वसन्तभन्दा सबैले छोरो बिक्रमको तारिफ गरे । कुरा गर्दैगर्दा एकछिनमा प्रमुख अतिथिज्यूलाई तिर्खा लाग्यो । कार्यक्रम हलको पछाडिपट्टि दायाँ र बायाँतर्फ जारमा पानी राखिएको थियो । त्यहीँ जग र प्लाष्टिकका गिलासहरू पनि थिए ।
उहाँले पहिला बिक्रमलाई एक गिलास पानी ल्याउन अह्राउनुभयो तर उनी टेरेनन् । त्यसपछि, सोही कार्य वसन्तलाई भन्नुभयो । उनी अह्राए मुताबिक जुरुक्क उठे र खुरुक्क पानी ल्याए । त्यति दिएपछि, थप पानी ल्याउन पर्छ कि पर्दैन भन्ने कुरा पनि सोधे । सबै चकित भए । उनको यो काम देखेर सबैले उनको राम्रो बखान गरे । उनी पनि आनन्दित भए । हजुरबालाई त आफ्नो आज्ञाकारी नातिप्रति झनै गौरव लाग्यो । उता बिक्रमकी आमा अलि खिस्स पर्नुभयो ।
---------------------------------------
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment