Thursday, January 23, 2025

लघुकथा (अङ्क २० मा प्रकाशित)



कुँडेभरि बाक्लो तर लागेको दूध देखेर बिरालाहरूको मुख रसायो । सधैँ दूधचोर ढाडे एक्लैले खाने, हामीले सुँघ्न पनि नपाउने । पख् तँलाई … ! बिरालाहरूमा ईर्ष्या, द्वेष वा प्रतिशोधको भावना जागृत भयो ।

गाउँभरिका बिरालाहरूले मोर्चाबन्दी गरी एक्लो दूधचोर ढाडेसँग सङ्घर्ष गरिरहे । धेरै दिन बिते, महिना बिते तर एक्लै भएपनि ढाडेले टेरपुच्छर लाएन, बरु बिरालाहरूलाई नै गलहत्याएर गाउँबाट निकाल्ने चेतावनी दियो ।

केहीजोर नचलेपछि बिरालाहरूले एक्लो ढाडेलाई चारैतिरबाट घेरेर मुङ्ग्राले चुट्ने योजना बनाए । उसलाई उचालेर पछार्ने रणनीतिमा लागे । तर छट्टु ढाडे तिनीहरूभन्दा पनि ज्याद्रो ठहरियो । अरुले चुटेर पछार्नु पहिले नै ऊ बुरुक्क उफ्रिएर गोठको धुरीमा पुग्यो । 

ढाडे बुरुक्क उफ्री भागेको देखेर बिरालाहरू जिल्ल परे !

ढाडेले ‘बल्ल खायौ’ भन्दै छानाको धुरीमा बसेर मुख मिठ्याउँदै जुँगा चाट्यो ।

बिरालाहरूले आपसमा सल्लाह गरे । “अब यसरी ढाडेलाई तहलगाउन सकिएलाजस्तो छैन । आपसी सल्लाह, सहमति र समझदारीको रणनीति अपनाउनुपर्छ । यसोगर्दा पनि सहमतिमा आएन भने मोर्चाबन्दी गरी चारैतिरबाट घेरेर पासोले कस्नुपर्छ, घिसार्दै डाँडा कटाउनुपर्छ ।” 

मुसा, छुचुन्द्रो आदिबाट लुगाफाटो, अन्नअनाज, धनसम्पत्तिको रक्षा गर्लान् भन्ने विश्वास गरी पालेर राखेका बिराला जातिहरू आफ्नो मुख्यकाम छोडेर दूधकै निमित्त हानथाप गरी आपसमा लड्नाले घरको संरचना पूरै ध्वस्त भयो । मुसा र छुचुन्द्राहरूको रजाईं चल्यो, अन्नअनाज, लुगाफाटो केही रहेन, घरभरि प्वालैप्वाल भयो, घरै लडाउने हुन् कि भन्ने आशङ्का बढ्न थाल्यो । मुसाहरूको चुँचुँ र चिँचिँले सबै हैरान भए ।

यसको मुख्यकारण ढाडे हो, ढाडेमा रहेको घमण्ड र अहङ्कारप्रतिको असन्तुष्टि हो । यही असन्तुष्टिले बिरालाहरूमा विद्रोहको भावना जागृत भयो र उनीहरू आन्दोलन गर्न वाध्य भए । ‘ढाडेको अहङ्कार, बिरालाहरूको आन्दोलन, मुसा–छुचुन्द्राहरूको रजाईं,’ यसलाई रोक्ने एकमात्र उपाय भनेको ढाडेलाई गाउँबाट निकाला । 

व्यापक छलफलपछि ढाडेलाई गाउँबाट निकाला गरियो । एक–दुईदिन शान्त भयो तर के हुन्थ्यो ? एक दिन त पकाएर राखेको खसीको मासु पूरै सखाप, कुँडे पनि रित्तै । यतिमात्र हो र श्राद्धमा पिण्डदान गर्न भनी डल्लो पारी टपरीमा राखेको पिण्ड पनि सखाप । 

“हो त हो, यो सबै ढाडेले नै गरेको हो ।” सबैले ढाडेमाथि नै शङ्का गरे । उनीहरूले चारैतिर खोजेर ढाडेलाई ल्याएअनि डोरीले बाँधेर राखे । बिरालाहरूलाई ‘के खोज्छस्‌…’ भने झैँ भयो । दूध, माछा–मासु, भात केही बाँकी रहेन, कि सबै रित्तिएको हुन्थ्यो, कि जुठ्याएर छोडिन्थ्यो । ‘यो ढाडे त यही छ ?’ 

‘ठूलो–सानो, बलियो–कमजोर जे भएनि जात त एउटै पर्‍यो । जन्मैदेखि आएको स्वभाव, चिन्तन, प्रवृत्ति र व्यवहार कहाँ छुट्थ्यो र ? आखिर सबै बिराला न परे ।’

‘चोर भनेको चोर नै हो । उसलाई विश्वास गरेर ढुकुटीको साँचो दिएपछि कुनै न कुनै दिन त चोर्छ नै ।’ 

अब मानिसहरूमा बिराला जातिप्रति रहेको अलिकति विश्वास पनि हराएर गयो । उनीहरू बिरालादेखि सचेत र सतर्क भएका छन्, निगरानी बढाउन थालेका छन् ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment