आखिर भिडमा पनि एक्लोपनको जित भएरै छाड्यो ।
त्यो सुन्दर परिवार सदस्यहरूको गन्तीले मात्र परिवार बनेको थिएन् । एकअर्का बिचको माया प्रेम सद्भभाव र सहयोगको गतिलो गठबन्धनले बनेको थियो ।
घरको हरेक व्यवस्थापन र निर्णय राधिका र उनका लोग्नेको हातमा हुन्थ्यो । बाआमाको निर्णयमा छोराछोरी बुहारीले पनि आफ्नु धारणा व्यक्त गर्दै सहमति दिन्थ्ये ।
पारिवारीक सरसल्लाह र रमाइलो ख्यालठट्टा उनीहरूको घरमा बेलुकाको खाना खाएपछि हुन्थ्यो । एक टुक्रा भोक र मिठो निन्द्रा नै त्यो परिवारको सम्पत्ति थियो ।
प्रविधिको नङ्ग्राले कोपरेर अघोषित युगको जन्म भयो । युगसँगै हरेक कुराहरू बदलिए । छोरीबुहारीले भान्साका कुरा आमासँग सोध्न छाडे । छोराले कर्तव्य र जिम्मेवारी बासँग सिक्न छाड्यो । नातिनातिना हजुरबा हजुरआमासँग खेल्न छाडे । परिवारका सदस्यहरूबिच भेटघाट र कुराकानी पातलो बन्दै गयो ।
घरका एक सदस्य बिरामी हुँदा घरकै अर्को सदस्यलाई थाहा हुनसम्म छाड्यो ।
”हे भगवान ! यो कस्तो घोप्टे युग आयो ।’’ राधिकाले पुर्पुरोमा हत्केला बजार्दै भनिन् । पत्रिका पन्छाएर फेसबुकमा धत् मारिरहेका लोग्ने, टिकटकमा मस्किरहेकी बुहारी, ट्वीटरमा बात मारिरहेकी छोरी, पब्जीमा हराएका छोरा, मोटुपत्लुमा रमाइरहेका नातिनातिना सबले मुन्टो ठडाएर राधिकातिर हेरे ।
राधिकाले लामो सुस्केरा हाल्दै भनिन्, ”नयाँ प्रविधि आवश्यक छ । तर नपाउनेले के पायो बोक्रैसँग चपायो भने झैँ गर्नु हुन्न । हरेक कुरा गुगलमा भेटिँदैन् बाबू ।
प्रविधिको कहाँ कति र कसरी प्रयोग गर्ने भन्ने कुरा हामीहरूले जान्नु जरुरी छ । यसको सहि प्रयोगले धेरै कुरा पाउन सकिन्छ, गलत प्रयोगले धेरै कुरा गुमाउन पनि । जसरी हाम्रो परिवारले परिवार गुमाएको छ ।’’
राधिकाको कुरामा यथार्थ थियो । आजकाल हरकोही मोबाइल ट्याब र ल्यापटपमा घोप्टिरहन्छन । जसका कारण सम्बन्धका धागोहरू खुकुलिँदै गएका छन् । प्रविधिको अनुचित प्रयोगले हाम्रा सम्बन्धहरू, आपसी सद्भाव मेलमिलाप सब लत्याएको हामीहरूले पत्तै पाएका छैनौँ ।
- कमलविनायक, भक्तपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment