जङ्गलमा सिंहको एकछत्र राज्य चलेको थियो । जनावरहरू सन्तुष्ट सुखी नै थिए । त्यसमध्येका केही टाठाबाठाहरू सिंहको दयामा बाँचेकै थिए, अघाएकै थिए । तर केही भने पीडित थिए । सङ्ख्यामा धेरै हुँदाहुँदै पनि केही गर्न नसकी चुपचाप स्थिति सहेरै आधा पेटमैँ वा भोकभोकै भएपनि बाँचेकै थिए । जो सिंहको शिकार हुन्थे ती अज्ञात थिए ।
धेरै समयपछि सिंह बूढो भयो । बाघहरूले जङ्गलको सत्ता सम्हाले । जनावरहरूको हकहित र सुरक्षा बारे ठूलाठूला कुरा गरे । जनावरहरूको जातीय समूह बनाई त्यसको नेतृत्व गरे । स्थिति केही अराजक बन्यो । पहिलेभन्दा धेरैले खान पाए, मस्ती गरे । अरू धेरै आशै आशमा बाँच्न विवश भए । जङ्गल अशान्त बन्दै गयो । ठाउँ ठाउँमा विद्रोहहरू भए । बाघहरूभित्र सत्ता साझेदारी, लुछाचुँडी, झगडा, बाझाबाझ, तँछाडमछाड, पछारापछार आदि थुप्रै (प्रायःसबैखाले) युद्ध तरिकाहरू अपनाइए । स्थिति अनियन्त्रित हुँदै गयो । केही जनावरहरूको जातीय गठबन्धनको प्रयास भयो । आपसी सद्भाव रहेन, आपसी एकता रहेन । ब्वाँसाहरूले मौकाको फाइदा उठाए । स्यालहरू जम्मा भए । सिंह र बाघहरूको अत्याचार असह्य भयो भन्दै विद्रोह शुरु गरे । जनावरहरूका हक, अधिकार र सुरक्षा विषयक थुपै्र मुद्दाहरू उठे । निमुखा तथा कमजोर पशुपक्षीले पनि निर्धक्क बाँच्न पाउनु पर्ने अधिकारको कुरा गरे । ठूलो समूह बन्यो । नेतृत्व गर्ने बाघहरूले स्थिति बुझे, निष्क्रिय बुझेझैँ गरे । जङ्गल राजमा फेरि ज्वारभाटा आयो । शिकारको भागबन्डा कहिले मिल्ने कहिले नमिल्ने भयो । अस्थिरता कायमैँ रह्यो ।
अचेल लुइँचेहरू पनि उठ्तै छन् रे ! स्यालहरूको विश्वास, बाघहरूको विश्वास, सिंहकै विश्वास तथा अन्य स–साना र निमुखा पशुपक्षीको विश्वास जितेर जङ्गलमा आ–आफ्नै शक्ति प्रदर्शन बढ्दै जाँदो छ रे ! र, यो जङ्गललाई नै टुक्राएर आ–आफ्नै छुट्टा छुट्टै अधिकार क्षेत्र बनाउने दाउमा छन् रे ! कोही भने छिमेकी जङ्लका शक्तिशाली जनावरहरूसित मिलेर यो जङ्गललाई नै उतै मिलाउने षडयन्त्रमा पनि लाग्दै छन् रे भन्ने सुनिन थालेको छ ।
- हेटौँडा
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment