Monday, January 19, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


बिहान पूजा गर्नको लागि आरती ढकिया लिएर बगैंचामा फूल टिप्न गई । गमला र भुइँमा सयपत्री, गुलाफ, लाहुरे फूलहरू लटरम्म फुलेका थिए । उसले गमलाको फूल र भुइँमा फुलेका सुन्दर फूलहरू हातले स्पर्श गरी तर टिप्न सकिन फूलबारीको सौन्दर्य नष्ट होला भनेर । आफूले रोपेका फूलहरू टिप्न उसलाई माया पनि लाग्यो । उसले कुहेका, ओइलिसकेका फूलहरू टिपेर ढकियामा राखी तर ती फूलहरूले भगवान्‌लाई पूजा गर्न उसलाई इच्छा भएन । टिपेको ओइलिएको फूलले पनि पूजा गर्न नचाहने, फक्रक्क फुलेको फूल टिप्न पनि नसक्ने अब कुन फूलले पूजा गर्ने ?

आफ्नो घरसँगैको छिमेकीको फूलबारीमा अनेकौं फूलहरू ढकमक्क फुलेका थिए । ती फूलहरूप्रति उसको मनमा लोभ जाग्यो । ढोका हेरी – साँचो लगाएको रहेछ । सोची– कमला त श्रीमानसँग मन्दिर गई होली बिहानै । आज एकादशी । उसले आफ्नो लोभ थाम्नै सकिन । हत्तपत्त भित्रबाट कुर्सी ल्याई र पर्खालबाट हामफाली । फुलेका राम्रा फूलहरू छिट्छिटो भसक्कै टिपेर झोला भरी– चार पाँच दिनलाई पुग्ने गरेर । 

एकैक्षणमा फूलबारीको सौन्दर्यमा फिक्कापन देखियो । फूलहरूले उनलाई उदास स्वरमा भनेझंै लाग्यो– धेरै दिनसम्म सौन्दर्यमै बाँच्ने हाम्रो आयुलाई किन अल्प समयमै चुँडायौ ? तिम्रो बारीको फूल र यो बारीको हामी फूल एउटै जातका त हौं नि ! तिमीले किन यस्तो विभेद गर्‍यौ ?

- काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment