Monday, January 19, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)



बाटो फराकिलो पार्ने कार्यक्रम अनुरुप बाटोको दायाँबायाँ भएका घरहरू डोजरले भत्काउँदै आयो ।
घरका मानिसहरू बाहिर आएर बाटोमा उभिएर कराइरहे/कोही रोइरहे, कोही विवश भएर टोलाएर उभिरहे ।
यो बेलाको भयावह दृष्य, त्रासपूर्ण स्थिति, बाध्य जीवन अंकित भयो – समयको क्यानभासमा ।

मानिसहरू रोएको आवाज, विरोधका शब्दहरूको पनि केही मूल्य छैन, अर्थ छैन — डोजरलाई, डोजर चालक, ज्यामी, कर्मचारी, पुलिसहरूलाई । 

घर भत्काइरह्यो, यो क्रम निरन्तर चलिनै रह्यो ।
यही श्रृङ्खलामा बाटो छेउमा भएको पाटी पनि भत्काउन थाल्यो ।
यही समयमा त्यो पाटीमा धेरै वर्ष अघिदेखि बस्दै आइरहेको एकजना बुढो माग्ने अगाडि आएर विरोध गर्‍यो । 

उसले आफ्नो माग तिनीहरूको अगाडि राखे– “मलाई बाटो होइन, खानेकुरा देउ !” उसको माग, उसको विरोध, उसको आवाजलाई कसैले पनि वास्ता राखेन । 

डोजरले पाटी भत्कायो ।
ऊ टोलाएर बाटोमा उभिरह्यो । 

आज कोठाभित्र बसेर योजना बनाउने योजनाकारहरूको दिमागले जित्यो ।
आज मानिसको होइन, “विकास” भन्ने तीन अक्षरको जित भयो ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment