यो, लामा जात जातिका कथा हैन । आदर्श सिद्धान्त धर्म अझ बुद्ध अथवा बौद्ध धर्म मान्ने तर बाटो बिराएका पाँडे लामाहरूको कथा हो । मेरो घरको ढोका छेउमै पसल छ । उस्तै परे झ्यालबाटै सामान किन्न मिल्छ । पसल अगाडि तीन मिटरको बाटो छ र देब्रेतिर लामाहरू बस्ने घर छ । म बिहान तरकारी किन्न लागेको बेला लामाहरू स्वयम्भू वा शिवपूरी (?) को नित्य कर्म सकेर आइसकेका हुन्छन् । तरकारी किन्छन् । कोक फ्यान्टा, बदाम, भुजिया, डाइजेष्टिभ बिस्कुट किन्छन् । यो पसलमा मासु पाइँदैन । सायद मासु पनि खान्छन् होला । यी लामाहरू मलाई लाग्छ विनिर्माणको बाटोतिर लागिरहेछन् । महँगा बाइक, कार चढ्छन् । यिनीहरूलाई पोस्ने कुनै संस्था अवश्य होला । सोध्दा भन्दैनन् । अकस्मात कतै जानु परे ट्याक्सी चढ्छन् । बाह्रैमास मुडुले टाउको मुनि रातो बुद्धिष्ट गाउन लाउनु पर्नेहरू कहिलेकाहीँ महँगा जिन्स पाइन्ट र स्पोर्ट्स शुजमा देखिन्छन् ।
यिनीहरूको जमातमा केही युवा लामाहरू छन् जो शारीरिक सुसंगठनको लागि जिम जान्छन्, फुटसल, ब्याडमिन्टन खेल्छन् । भन्नलाई यिनीहरू छ महिना यहाँ बस्ने भन्छन् । यसपछि भारतको बैङ्गलोर जान्छन्, त्यसपछि दिल्ली आउँछन् र हराउँछन् । युवाहरूको मन मस्तिष्कमा बुद्धत्व भन्दा पनि ज्यान कसरी बनाउने उर्जत्व देखिएको छ । एकपटक म तातोपानी जाँदै थिएँ भाडाको जीपमा सँगै एउटी आनी थिइन् । धुलिखेल नाघेपछि ओरालोमा मैले सोधेँ— “तपाईंहरूलाई बाहिर निस्केर यसो रमाइलो मज्जा गरुँ जस्तो लाग्दैन ?” उनले सहज भएर भनिन्— “लाग्छ नि ।” यो बाध्यतामा कति बाँधिने । बाध्यतामा बारिएको धर्मको अर्थ वा उपयोगिता कति हुन्छ ? म सोच्दै थिएँ । उनी कतिबेला ओर्लिछिन् थाहै भएन ।
बिहान ६ बजे पसल खुल्छ । म तरकारी, दुध आफूलाई चाहिएको सामान लिन जान्छु । सेल्फ क्वारेन्टाइन वा आइसोलेसनको अर्थ घरमै बस्नु हो । खाँदै नखानु हैन । नखाएर मर्नु हैन । मैले जीवनमा तीनवटा परिस्थितिलाई दैविक इच्छामा भरपर्ने देखेको छु । जस्तो सुकै ज्योतिषले जे भनोस् । जन्म बिहा र मृत्यु । जन्म सबैलाई थाहै छ यो जबर्जस्ती हुँदैन, त्यस्तै बिहा र मृत्यु पनि । यस्तै कोरोना नआउँदा पनि मान्छे नमरेका हैनन् । सुत्दा सुत्दै मर्छन् । ठेस लागेर पनि मर्छन् । दुर्घटनामा परेर मर्छन् । चाहिने जति सावधानी अपनाउनु राम्रै हो । कोलाहाल गरेर नमर्ने हैन ।
म भन्दै थिएँ । यी लामाहरू देखिन छाडे । यिनीहरू बहिर निस्किएको देखिएन । यिनीहरू घरमा पनि झ्याल ढोकामा पर्दा लगाएर बसेका छन् ।
काम, क्रोध, लोभ, मोह, सबै त्यागेर एक किसिमले सन्यासीको जीवन बिताउने यिनीहरूलाई ज्यानको कति माया ? के यिनीहरू कहिल्यै मर्दैनन् ?
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment