Tuesday, January 20, 2026

लघुकथा (अङ्क ३१ मा प्रकाशित)


अदिती, मेरो प्यारी छोरी ! माया असीमित, रिस पनि उत्तिकै तिखो । कक्षा पाँचमा पढ्ने भए पनि उनको शरीरको विकास पूर्णरुपमा भई आठ–नौ कक्षाकी जस्तो तर बुद्धि भने उमेर अनुसार नै थियो । पढ्नुभन्दा बढी उनलाई टिभी र मोबाइलमा कथा सुन्न मन पर्थ्यो । गृहकार्य आजको भोलि बिहान गर्ने, अनि पढ्ने समय नपाउने ।

अचेल त एकोहोरो मोबाइलमा डुब्छिन्, घरमा को आयो गयो वास्ता नगर्ने ! हाम्रो कुरा नसुन्ने बानीले हामी बाबु आमाको चिन्ता बढाएको थियो । उनको पढाइ र व्यवहार बिग्रने डर थियो ।

एक दिन मैले भनेँ, “अब म तिमीसँग बोल्दिन । तिमीले भनेको मान्दिनँ । आफैँ विचार गर, के तिम्रो बानी राम्रो छ? स्कुलमा टिचरले भन्नुभएको र घरमा बाबा–मामूको कुरा सुनेकी छौ मानेकी छौं ?’’

“लौ मानेकी छौ भने ठीक छ । नत्र, तिमीले आफ्नो बानी सुधार्नुपर्‍यो । आजको गृहकार्य आजै गर, बिहान सरस्वती माताको आराधना गरेर पढ्नुपर्‍यो । नत्र अबदेखि टिभी–मोबाइल पनि देखाउँदिनँ ।’’

मेरी छोरी अदितीले आफैले मनन गरिन् । अनुहारमा पछुतो बोकेर उनले भनिन्, “बाबा, मैले अबदेखि मेरो बानी सुधार गर्छु । तपाईँले भनेको मान्छु । गृहकार्य समयमै गर्छु र सधैँ बिहान पढ्छु, तपाईँहरूलाई खुसी पार्छु ।’’

आज म धेरै खुसी छु । मेरी छोरीले आफैले सोचेर परिवर्तनको लागि वाचा गरेकी छिन् । भोलिदेखि अदितीले कसरी आफूलाई सुधार्छिन् ? 

जब म बिहान उठेर झ्याल खोलेर उषाको किरणलाई नमन गर्दै भूइँतर्फ हेरे त्यहाँ छोरी अदिती थिइन् । उनी टेबुलमाथि किताब राख्दै खुरूखुरू पढिरहेको देखेँ । यतिखेर अदितीको वाचा सत्य लाग्यो । बालकको बचन ईश्वरको बचन झैँ लाग्यो । म ढुक्क भएँ । अदितीको व्यवहारमा सुधार आएको देखेर मेरो मन हर्षले पुलकित भयो ।

- काभ्रे, पनौती । हालः कपन, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment