Monday, March 2, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


"पाञ्चाली ! के यो रगतको होलीपछि श्रृङ्गार सुहाउने विषय हो ?’’ युधिष्ठिरको स्वरमा विजयको उन्माद होइन, एउटा भारी विस्मात थियो ।

मध्याह्नमा पनि शिविरमा सन्नाटा थियो । वर्षौँपछि तेलले भिजेका र सुगन्धित द्रव्यले बाटिएका द्रौपदीका केशराशि देख्दा कृष्णका आँखामा पनि प्रश्न उदायो । उनले थपे, “सखी, यो विनाशको बिउ तिम्रो जिद्दी र यी खुला केश नै त थिए नि, होइन र ?’’

द्रौपदीका ओठ अलिकति कामे, तर गला अवरुद्ध भएन । उनले कृष्णको आँखामा आँखा जुधाइन् । वरिपरि लासका पहाड थिए, तर शिविरभित्रको मौनता त्योभन्दा भयानक थियो ।

“सखा ! के लाक्षागृह मैले जलाएकी थिएँ ?’’ उनले शान्त भावमा सोधिन्, “पाँच गाउँको याचना अस्वीकार गर्ने वा जुवाको खालमा पत्नीलाई वस्तुझैँ दाउमा राख्ने म थिएँ ? के पाण्डवको पुरुषार्थ र कौरवको अहङ्कारबीच पिल्सिएकी एउटी नारी नै सधैँ विध्वंसको प्रतीक हुन्छ ?’’

कृष्ण निःसहाय बने । पाण्डवहरूका शिर झुके । बाहिर स्यालहरू कराएको आवाज आयो, मानौँ तिनीहरू मानवताको हारमा हाँसिरहेका थिए । द्रौपदीले आफ्नो सुगन्धित केशको एउटा झुप्पा सुमसुम्याउँदै अन्तिम वाण प्रहार गरिन् ।

“सखा, युद्ध मैले होइन, तिम्रो न्याय र उनीहरूको ’अधिकार’ को लडाइँले निम्त्याएको हो । त्यसैले अब दोषको भारी मतिर फ्याँक्न छाड । बरु आफ्नो दृष्टि सफा गर, ताकि भोलिका पुरुषले अपराध लुकाउन नारीको अस्मितालाई ढाल नबनाऊन् ।’’

कृष्ण अवाक भए । त्यही मौकामा द्रौपदीले मुसुक्क हाँस्दै थपिन्, “वासुदेव, पुरुषको अहङ्कारले युद्ध गर्छ र इतिहासले त्यसको मूल्य नारीको आँसुमा खोज्छ, यही त हो तिम्रो संसारको दृष्टिदोष !’’

-नेपालगञ्ज

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment