Monday, March 2, 2026

लघुकथा (अङ्क ३२ मा प्रकाशित)


झमक्क साँझ परेको थियो । पूजाकोठामा दियोबालेर यमुना आस्थामा डुब्दै थिइन् । दुवै हात जोडेर आँखा चिम्म गरेर मनैदेखि प्रार्थना गर्दै थिइन्,  'भगवान्, घरपरिवारमा सुख शान्ति रहोस् ।’

त्यहीबेला छिमेकी अर्पना घरभित्र पसिन् । मिठो मुस्कान ओठमा टाँसेर भनिन्, 'आज मलाई एक हजार रुपैयाँ पैचो देऊ न, यमुना । भोलि दिउँसो बैंकबाट निकालेर तिर्छु ।’

साँझमा बास बसेकी लक्ष्मीलाई बाहिर नदिनु भन्छन् भन्ने कुरा यमुनाको मनमा झल्कियो । मन दोधारमा पर्‍यो । तर उनले छिमेकीलाई नाताभन्दा माथि राख्थिन् । आफन्त जस्तै हुन्, सहयोग गर्नुपर्छ भन्थिन् । त्यसैले बिना हिचकिचाहट पैसा दिइन् ।

दिनहरू बिस्तारै सरिरहे । एक हप्तापछि अर्पनाले मुख देखाइन् । पैसो फिर्ता दिन आइहोलिन् भनेको उल्टै चामल पैचो मागिन्, 'हेर न, खाना बनाउन लागेको चामल सकिएछ । दुई माना पैचो देऊ न, भरे फिर्ता गर्छु ।’

यमुनाले मुसुक्क हाँस्दै भनिन्, 'छिमेकी भनेको यस्तै गाह्रोसाह्रो पर्दा काम लाग्ने त हो नि ! हुँदाखेरि फिर्ता गरे भइहाल्यो नि ।’

केही दिनपछि माघको झरी सुरू भयो । पानीले जमिन भिजाइरहेको बेला यमुना आफैँ अप्ठ्यारोमा परिन् । किनकि भान्सामा नुन सकिएको रहेछ । पसल टाढा, साँझको अँध्यारो अनि बाटो हिलाम्य, चुनौती थपियो ।

यमुनाले अर्पनाको ढोका ढकढक्याइन् । अर्पनासँग आग्रह गरिन्, 'हेर न अर्पना, भान्सामा नुन सकिएछ । अँध्यारो साँझ र झरीमा टाढाको पसल कसरी जाऊँ ? बरू एक पोका पैचो देऊ न, भोलि पसलबाट ल्याएर फिर्ता गर्छु ।’

अर्पनाको अनुहार कठोर भयो । यमुनालाई आँखा तरेर हेरिन् । मुख बङ्ग्याउँदै कटाक्ष गरिन्, 'कस्ता–कस्ता मान्छे हुन्छन् छिमेकमा पनि ! जाबो एक पोका नुन पनि माग्दै हिँड्छन् !’

भुतभुताउँदै ढ्याम्म ढोका बन्द गरिन् ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment