Sunday, June 14, 2026

लघुकथा (अङ्क ३५ मा प्रकाशित)


हामी चढेको बस खाजा ख्वाउन मलेखुमा रोकियो । हामी खाजा खादै गर्दा एकजना सज्जन मोटर साइकलमा  आफ्नी पत्नी र आठ नौ वर्षको बच्चा सहित त्यहीँ आइपुगे । खाजा खाइसकेपछि हाम्रो बस गन्तव्यका लागि प्रस्थान गर्‍यो । 

एकैछिन पछि अघिका सज्जन आफ्नी बच्चा र पत्नीसहित मोटरसाइकल घुइकाउँदै अघि लागे । 

बस केही क्षण गुडेको मात्र के थियो बाटोमा एक हुल मान्छे भिरमुनि केही हेरिरहेका देखिए । हाम्रो बस पनि त्यहीँ गएर टक्क अडियो । 

“के भयो हँ यहाँ ?’’ मेरो आवाज सुनेर अघिको सज्जनले पुलुक्क हेर्दै भने “मेरो बाबू उछिट्टिएर भिरमुनि रुखमा अड्किएको छ, लौन के गरी निकाल्ने हो, केही उपाय गरिदिनु पर्‍यो !’’

यसो भिर तिर हेरेको त बच्चा नजिकै रुखमा टक्क अडेको देखेँ  । अर्को एकजना सज्जन पनि भिरमुनि नियाल्दै थिए ।

उसले आफ्नो कमरपेटी निकाल्यो र अरूलाई पनि निकाल्न आग्रह गर्‍यो । पाएको जति पेटीहरू एउटामा अर्को, अर्कोमा अर्को गर्दै फटाफट अल्झाएर लामो बनायो र खसालेर त्यो बच्चालाई समात्न लगाई तान्न थाल्यो । एकैछिनमा बच्चा माथि सडकमा आइपुग्यो । उसलाई सामान्य चोटपटक मात्र लागेको थियो । त्यो सज्जनका परिवार र त्यहाँ उपस्थित सबै खुशी भए ।

“हजुरलाई मुरी मुरी धन्यवाद !’’ आफ्नो बच्चालाई बचाइदिएकोमा त्यो सज्जनले कृतज्ञ भएर सहयोगी त्यो हात सामु हात जोडेर भन्दै थियो ।

“कसरी खस्यो बच्चा भाइ ?’’ उसले कारण जान्न चाह्यो ।

“ढुङ्गामा चक्का पर्‍यो र मोटरसाइकल उफ्रिएर बाबू उछिट्यो ।’’ उसको कुरा सुनेर सबै अचम्मित भए ।

“कारण ढुङ्गा होइन, तपाईंको हकाई हो महाशय । चेत खुलाउनुस् र अलि सुस्तरी हाँक्ने गर्नुस् अन्यथा अझै ठूलो दुर्घटना होला ।’’ 

सबैले उसको हाँमा हाँ मिलाए ।

–काठमाडौँ– ५

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment